प्रवासमा नेता बन्ने कि, समाजसेवी?

तस्बिरः बिएल नेपाली सेवा

भारतका विभिन्न शहरहरू लाखौं नेपालीहरुको बसोबास गर्ने थलो हो।

रोजगारीका शिलशिलामा यहाँ आएका प्रवासी नेपाली जताततै देख्न सकिन्छ। नेपाली जाति र नेपालीभाषीको विशेषता भनेकै एकता, भाईचारा, सद्भाव, समन्वय, सहकार्य र सामिप्यता हो। नेपालीहरु जहाँ पुगेका छन्, त्यहाँ नेपानी पन र नेपाली संस्कार देखिन्छ।

प्रवासी नेपालीले सामाजिक कामका लागि भारतका विभिन्न शहरहरुमा संघ–संस्थाहरुको स्थापना गरेका छन्। अझ् भनौं नेपाली राजनीतिक दल निकट प्रवासी सद्भाव र आस्थावान संगठनहरुको सक्रियता पनि राम्रै छ। प्रवासमा बस्ने कतिपय नेपालीहरु त भारतीय जनता पार्टी, शिव सेना, राष्ट्रवादी कांग्रेस लगायतका पार्टीहरुको स्थानीय तथा जिल्ला स्तरीय राजनीतिमा समेत देखिन्छन्।

प्रवासमा सामाजिक क्षेत्रमा काम गर्ने अभियन्ताहरू नेता होइन समाजसेवी बन्नुपर्छ। नेपाली समाज, नेपाली भाषा र नेपालीको दुःखको सहयात्री बन्न सकियो भने प्रवासबाटै स्थापित सरल र सहयोगी समाजसेवीको उपमा यही नेपाली समाजले दिनेछ।

राजनीति दल वा संघ–संगठनमा लागेर तपाईहरूले गर्नुभएको राम्रो कामको मूल्याङकन पक्कै पनि सही समयले गर्नेछ। भारतमा रोजगारी गर्दै, यहाँका बिभिन्न राजनीतिक दलसँगको मित्रवत सम्बन्धबाट आफ्नो स्वार्थको लागि भन्दा नेपाली समाजको हितका पक्षमा काम गर्नुभयो भने तपाई भन्दा महान र असल समाजसेवी अरु कोहि हुनेछैन।

लाखौं प्रवासी नेपालीको पक्षमा काम गर्नुहोस्ः तपाईको नाम र फोटो आफैं छापिन्छ। मेरो नाम फलानो, मेरो पद यस्तो र ठूलो फोटो अगाडि छापिनुपर्छः भन्नै पर्दैन। नेपाली उखान छ– मान्छेको चेहरा हेर्दा, ब्यहोरा थाहा हुन्छ।

मान्छेको शैलीबाटै उसको परिचय झल्किन्छ। आफूलाई आफै बरिष्ठ समाजसेवी बताउने, आफैं चर्चित राजनीतिज्ञ बनाउने यस्ता कामले मान्छेको स्तर स्वभाब प्रष्ट बुझ्न सकिन्छ। भनिन्छ निः आफैंले आफैंलाई मपाई भनेको सुहाउँदैन, अरूले पो तपाई भन्नुपर्छ।

नेपाली समाज राजनीतिक चेत भएको समाज हो। राजनीति आफैंमा सबै नीतिको उच्च निकाय हो। अहिले पनि नेपाली समाज कतै न कतै राजनीतिक खिचातानीमै खुम्चिएको छ। राजनीति भनेको समाजसेवा हो।

समाजलाई आधुनिकता र समय सान्दर्भिकताको बाटोमा हिँडाउनु, राजनीतिज्ञको कर्तब्य हो। तर, नेपाली राजनीतिमा समाजसेवा भन्दा पनि नेता बन्ने हुटहुटी बढ्दो छ।

भ्रष्टाचार, अत्याचार, हिंसा, आतंकको शिर्जना छोटो समयमै नेता बन्ने चाहानाले स्थापना गर्छ। समाजसेवी बन्नलाई कुनै तडकभड्क चाहिँदैन। निश्चल सोचका साथ स्वार्थ बिना हिड्न सकियो भने असल समाजसेवी बनिन्छ।

प्रकाशित मिति: : 2019-11-17 09:00:57

प्रतिकृया दिनुहोस्