केपी शर्मा ओली लामो संघर्षबाट तत्कालीन नेकपा एमालेको पार्टी अध्यक्ष बन्नुभयो । तर त्यसअघि उहाँले कुनै पनि कमिटीमा बसेर नेतृत्व गरेको अनुभव थिएन । झापा आन्दोलनमा पनि उहाँले नेतृत्व गर्नु भएन । जेल बस्दा पनि उहाँको व्यक्तित्व नेताको भन्दा बढी कार्यकर्ताको जस्तो थियो ।
झापा आन्दोलनदेखि जेल बस्दासम्म र तत्कालीन नेकपा माले, एमालेमा हुँदासम्म मैले केपी शर्मा ओलीलाई नेताका रुपमा देख्न पाइन । नेता हुनका लागि क्षमता विकास गर्नुपर्छ । पार्टी चलाउन शैली चाहिन्छ ।
पछि माधव नेपालकै सहयोगी हुनुभयो । महाकाली सन्धि पारित गराउन कम्मर कसेर लाग्नुभयो । यसको अर्थ उहाँ ‘सेकेन्ड पोजिसन’को भूमिका खेल्दै आउनुभयो । त्यसपछि उहाँ एकैपटक पार्टी अध्यक्ष बन्नुभयो ।
उहाँ साँच्चिकै नेता त हुनुभयो । तर पार्टी र पार्टीका अरु संगठन चलाउने क्षमता बढाउनुपर्थ्यो । तर त्यो भएन । त्यसकारण उहाँले पार्टी अध्यक्ष भए पनि पार्टी चलाउनुभएन । गुट चलाउनुभयो ।
पहिलेको जुन सानो गुट चलाउँदै आउनुभयो । त्यतिबेला तत्कालीन एमाले पार्टी त्यति ठूलो भए पनि त्यसको अध्यक्ष म हुँ भन्ने कुरा उहाँले बिर्सनुभयो । सानो गुट चलाएरै बस्नुभयो ।
उहाँको वरिपरिको टिम पनि जुनियर नै थियो । उहाँ आफै पनि जुनियर नै हुनुहुन्थ्यो । अहिलेकै सञ्चारमन्त्री गोकुल बाँस्कोटा त्यतिबेलादेखि नै उहाँको नजिकको विद्यार्थी नेता हुनुहुन्थ्यो ।
तर संयोग नै भन्नुपर्छ, भारतीय नाकाबन्दीले उहाँको पोजिसन ह्वात्तै बढ्यो । किनकी भारतीय नाकाबन्दीमा उहाँले आफूलाई ‘राष्ट्रवादी’ नेताका रुपमा उभ्याउनुभयो । त्यो पोजिसनले उहाँलाई कहीँ कतै शंका गर्ने ठाउँमा राखेन ।
त्यसपछि उहाँ पहिलो पटक प्रधानमन्त्री बन्नुभयो । प्रधानमन्त्री बनेपछि पनि भारतीय नाकाबन्दीकै विरोधको बलले उहाँलाई नयाँ उचाइ दियो । तर आन्तरिक रुपमा त्यतिबेला हेर्ने हो भने पनि पार्टी राम्रोसँग चल्न सकेको थिएन ।
पार्टीभित्रको किचलो !
पछि चुनाव भयो । चुनावमा पनि राष्ट्रवादी नेताकै रुपमा विशाल छवि प्रदर्शन गर्न सफल हुनुभयो । तर उहाँले आन्तरिक क्षमता बढाउन र योजना बनाउन सक्नु भएन । नेकपा माओवादी केन्द्रसँग एकता गरेपछि पार्टी एकता कसरी टुंगोमा पुर्याउने ?
नेताहरुलाई कसरी वरीयतामा राख्ने ? कार्यकर्तालाई कुन जिम्मेवारी दिने ? एकताको सन्देश कसरी फैलाउने भन्नेमा ओलीले थोरै पनि ‘वर्कआउट’ गर्नुभएन । परिणाम आज पार्टी र सरकारभित्र बाहिर आलोचना बढेको छ ।
देशको प्रधानमन्त्री भएपछि हावादारी गफ गर्ने कि स्पष्ट कार्ययोजना बनाएर काम गर्ने ? ओलीमा त्यो देखिएन । पार्टीको गुट चलाएर नेता बनेकै कारण उहाँमा राष्ट्र हाँक्ने क्षमता बढ्न नसकेको हो ।
ओलीमा त्यो क्षमता छैन भन्दा फेरि दक्षिण एसियाकै ठूलो कम्युनिष्ट पार्टीको नेतृत्व गरिरहेको, दुई तिहाई सरकार हाँकिरहेको भन्लान् । तर सारमा त्यो देखिँदैन । ओलीकै कारणले अहिले पार्टी मात्रै होइन सरकार पनि संकटमा छ ।
यदि ओलीमा राष्ट्र हाँक्ने क्षमता थियो भने हालै युरोप भ्रमण किन यति खल्लो भयो ? किन विवादित बन्यो युरोप भ्रमण ? बेलायतमा राजीनामा दिएको प्रधानमन्त्रीलाई भेट्नु त भयो । तर संयुक्त वक्तव्यमा त्यसबारे स्पष्ट खुलाइएन ।
एउटा रातो पासपोर्ट बोकेको ‘टुरिस्ट’ बनेर प्रधानमन्त्रीका हैसियतमा ओलीले युरोप भ्रमण गरे पनि देशका लागि के के उपलब्धि भए ? कतै ‘मेन्सन’ भएन । बेलायतपछि फ्रान्स पुग्नुभयो ।
तर त्यहाँका कार्यकारीसँग भेटवार्ता भएन । युरोप भ्रमण जाँदा आफ्ना एजेण्डा नलिने । परराष्ट्र नीतिको ख्यालै नगर्नु भनेको असफलता हो । सरकारको कार्यशैली पनि असफल भयो । परराष्ट्र नीति पनि असफल भयो । कुटनीतिक कार्यशैली झन् कमजोर भयो ।