जापानमा महिलाहरूलाई काममा आउँदा चस्मा नलगाउन भनिएका विवरणहरू प्रकाशित भएपछि विरोध उत्पन्न भएको छ। स्थानीय समाचार माध्यममा केही कम्पनीहरूले विभिन्न कारण देखाउँदै महिलाहरूलाई चस्मा लगाउन प्रतिबन्ध लगाएको बताएका छन्।
निप्पन टीभी नेटवर्क र बीजनेश इनसाइडरले यसबारे रिपोर्ट गरेका थिए जसमा कैयौँ कम्पनीहरूमा कसरी महिलाहरूलाई चस्मा लगाउन प्रतिबन्ध लगाइएको छ भन्ने देखाएका थिए। रिपोर्टका अनुसार खुद्रा सामान बेच्ने पसहहरूले चस्मा लगाउने सहयोगीहरूबाट ग्राहकलाई चिसो भाव प्रकट हुने उल्लेख गरिएको थियो।
त्यसमा विमान कम्पनीले सुरक्षाको कारण देखाएको र सौन्दर्य क्षेत्रमा काम गर्नेहरूले सौन्दर्य सामग्री प्रयोग गरेको प्रष्ट देख्न नसकिने कारण रहेको देखाइएको थियो।
उक्त रिपोर्टपछि जापानका सामाजिक सञ्जालहरूमा पोशाक र कार्यक्षेत्रमा महिलाहरूबारे तीव्र विरोध जनाइरहेका छन्। चश्मामा प्रतिबन्ध अर्थात #glassesareforbidden भन्ने ह्याशट्याग सामाजिक सञ्जालमा चलेका छन्।
हालै जापानमा कार्यस्थलमा अग्ला जुत्ता लगाउनेबारे पनि त्यस्तै विरोध भएको थियो।
लेखक तथा नायिका युमी इशिकावाले पोशाक तोक्न जापानले बन्द गर्नुपर्ने भन्दै जापान सरकारमा निवेदन दर्ता गरेकी थिइन्।
त्यो अभियानले निकै समर्थन पाएको थियो र सामाजिक सञ्जालमा पनि यसबारे व्यापक छलफल भएको थियो।
एकजना जापानी मन्त्रीले कम्पनीहरूले पोशाक निर्धारण गर्नु ठीक भनेपछि समर्थकहरू आक्रोशित बनेका थिए।