'सुब्बा दाइ बच्चाकी आमा हराई। खोज्न जानु पर्यो।'
सोमबार राति १० बजेतिर निन्द्राकै सुरमा श्याम तामाङले मोबाइल उठाएपछि सुनिएको आवाज यही थियो। श्यामलाई बोली ठम्याउन मुस्किल पर्यो। नम्बर सेभ रहेनछ।
कुरा गर्दै गएपछिमात्रै आवाज पहिचान भयो। फोन ज्वाइँ बुद्धिराज योञ्जनको पो रहेछ।
‘मैले सुरुमा चिनिन,' श्यामले सुनाए।
फोनमा बोल्ने व्यक्ति चाहिँ थिए, बौद्धस्थित समता अस्पतालमा झुन्डिएको अवस्थामा फेला परेकी रामेछाप दोरम्बाकी २७ वर्षीया बिमला तामाङका श्रीमान्।
आफ्नी बहिनी हराएको भन्दै ज्वाइँले नै फोन गरेपछि श्यामको निन्द्रा एकाएक हरायो। केही समयमा ज्वाइँ नै आइपुगे। ‘उनी मेरी फुपूकी छोरी हुन्। मेरो समता नजिकै घर छ। उनीहरू पहिले भारतमा बस्दै आएका थिए। केही समय मात्र भयो नेपाल आएको,' श्यामले योञ्जन परिवारबारे सुनाए।
करिब दुई महिनादेखि समता अस्पतालमा बहिनीले काम गरे पनि उनलाई त्यसबारे थाहा थिएन। बिमलाका श्रीमान् भने ज्यामी काम गर्दै आएका छन्। सबै बुझेपछि श्याम अरु साथीभाइसमेत लिएर समता अस्पताल पुगे। त्यतिखेर रातको १२ बज्नै लागेको थियो। श्यामले अस्पलाको सीसी क्यामरासमेत चेक गर्न लगाए। ‘क्यामरामा बिहान करिब साढे ८ बजेतिर बहिनी अस्पताल छिरेको देखियो। तर, बेलुका निस्किएको चाहिँ देखिएन,' श्यामले भने।
अस्पतालबाट बाहिरिएको नदेखिनुको मतलब थियो - बिमला भित्र नै हुनुपर्छ। त्यसपछि मध्यरातमै सुरु भयो बिमलाको खोजी। अस्पतालका सबै ठाउँमा खोजी गरे उनीहरु।
‘अस्पतालको पानी ट्याङ्कीदेखि सबै ठाउँमा खोजी गर्यौं। कहीँ भेटिएन,' उनले भने।
श्यामको समूह पुग्नुभन्दा पहिले बिमलाका श्रीमान् साँझतिर अस्पताल पुगेका रहेछन्। उनले श्रीमतीको मोबाइल, बच्चाको कपडा र टिफिन अस्पतालको टेबलमा भेटाए। ‘अस्पतालको टेबलमा राखेको रहेछ र कर्मचारीले लैजानु भनेपछि ल्याएछन्। पछि, मैले किन ल्याएको भनेर पनि कराएको थिएँ,' श्यामले सन्देहपूर्ण मृत्युसँग जोडिएका तथ्य सुनाए।
अस्पतालबाट बाहिर निस्किएको सिसी क्यामरामा कैद नभएपछि भित्रै हुनुपर्ने शङ्काले भने छाडेन। उनीहरूले दोहोर्याएर पनि खोजे। अस्पतालको हातमा दुईवटा रुम थिए जसमा ताल्चा लागेको थियो। खोजीमा उनीहरुसँगै अस्पतालका सुरक्षा गार्डहरु पनि सक्रिय भएका थिए। उनीहरूलाई ताल्चा लागेको कोठा खोल्न भने। ‘उहाँहरूलाई ढोका खोल्नु भनेको त यो म्यामको कोठा हो, नसोधी खोल्न मिल्दैन भनेर खोल्नै मानेनन्,' सुरक्षा गार्डलाई उदृत गर्दै श्यामले सुनाए।
पानीको ट्याङ्कीसम्म हेरेका उनीहरूले दुईवटा कोठामा भने हेर्न पाएनन्। उनीहरुको मनमा शङ्का झनै बढ्यो।