दिल्ली बन्यो 'ग्यास च्याम्बर', विद्यालयमा ५० लाख मास्क वितरण

Photo Credit : GETTY IMAGES

वायु प्रदूषणका कारण विषाक्त हावा फैलिएपछि भारतको राजधानीमा सार्वजनिक स्वास्थ्य सङ्कटकालको घोषणा गरिएको छ ।

प्रदूषण गम्भीर रूपमा बढेपछि सर्वोच्च न्यायालयको अनुमतिमा गठित एउटा समितिले दिल्ली र आसपासका अन्य दुई राज्यमा विभिन्न खाले प्रतिबन्धहरू लगाएको छ।

नयाँ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले दिल्ली 'ग्यास च्याम्बर' मा परिणत भएको बताएका छन्। भारतको राजधानीलाई बाक्लो तुँवालोले ढाकेको छ। मानिसहरूले त्यसको तस्बिर खिचेर सामाजिक सञ्जालमा राख्दै आक्रोश व्यक्त गरेका छन्।

बर्सेनि यस्तो अवस्था दोहोरिने गरेको भन्दै उनीहरूले सरकारसँग आक्रोश पोखेका छन्।वायु प्रदूषणका कारण विद्यालयहरूमा ५० लाखवटा मास्क वितरण गर्न लागिएको छ।

दिल्लीमा तीन दिनका लागि सबैखाले निर्माणकार्य बन्द गर्न निर्देशन दिइएको छ भने मङ्गलवारसम्म सबै विद्यालयहरू बन्द रहनेछन्।

प्रत्येक वर्ष नोभेम्बर र डिसेम्बर महिनामा दिल्लीको हावा विषाक्त बन्ने गरेको छ। त्यस्ता साना कणमा रासायनिक पदार्थ पनि रहिरहन सक्ने र मानिसको शरीरभित्र छिर्न सक्ने भएकाले स्वास्थ्यका लागि सबैभन्दा बढी हानिकारक हुने गर्छन्।

जाडो याममा वायुमण्डलमा 'ब्राउन क्लाउड' भनिने प्रदूषणको एउटा तह बनेर त्यसले सूर्यका किरणहरू छेक्ने गरेकाले समस्याहरू थप जटिल बन्ने विज्ञहरूको भनाइ छ।


हावामा विश्व स्वास्थ्य सङ्गठनले तोकेको सुरक्षित अधिकतम तहभन्दा २० गुणा बढी हानिकारक तत्त्वहरू पाइएको छ।

प्रकाशित मिति: : 2019-11-03 07:02:04

प्रतिकृया दिनुहोस्