इराकमा प्रदर्शन,प्रहरीले हस्तक्षेप गर्दा २ जनाको मृत्यु

Photo Credit :AP

इराकको राजधानी बग्दादमा शुक्रबार गरिएको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गर्दा कम्तीमा २ जनाको मृत्यु भएको छ । रोजगार तथा सार्वजनिक सेवा सुधारको माग गर्दै बग्दादमा केही दिन यता नियमित प्रदर्शन गरिँदै आएको छ । प्रदर्शनकारीलाई भगाउन प्रहरीले शुक्रबार अश्रुग्यास तथा रबरका गोली हालेको थियो ।

इराकी मानवअधिकार आयोगका सदस्य अली बयातीले अश्रुग्यासको सेलले लागेर कम्तीमा दुई जनाको ज्यान गएको पुष्टि गरे । इराकका दक्षिणी सहर दिवानिया, नाजाफ र नसिरियामा पनि सयौं प्रदर्शनकारी सरकारको विरोधमा सडकमा उत्रेका बीबीसीले जनाएको छ ।घटनामा केही घाइते छन् ।

बिहीबार इराकी प्रधानमन्त्री अदेल अब्दुल महदीले जनताले शान्तिपूर्वक विरोध तथा प्रदर्शन गर्न पाउने बताएका थिए । यद्यपि, उनले ‘हिंसा अस्वीकार्य भएको’ भन्दै प्रदर्शनकारीलाई चेतावनी दिएका थिए ।

उनले मन्त्रिपरिषद् पुनर्गठन गर्ने तथा सुधारका कार्यक्रम ल्याउने बताए पनि प्रदर्शनकारी आश्वस्त भएका छैनन् ।

अक्टोबर १ देखि सुरु भएको प्रदर्शनका सहभागीमध्ये अधिकांश युवा तथा बेरोजगार छन् । सरकारद्वारा गठित एक अनुसन्धान समितिका अनुसार अक्टोबर १ देखि ६ सम्म भएका प्रदर्शनका क्रममा कम्तीमा १४९ सर्वसाधारण तथा ८ सुरक्षाकर्मी मारिएका जनाएको छ ।

तीमध्ये तीन चौथाइको राजधानी बग्दादका प्रदर्शनका क्रममा मृत्यु भएको हो । समितिले दर्जनौं वरिष्ठ सुरक्षाकर्मीलाई बर्खास्त गर्नुपर्ने तथा घटनामा संलग्नलाई मुद्दा चलाउनुपर्ने सिफारिस गरेको थियो । यद्यपि, प्रधानमन्त्री तथा केही वरिष्ठ अधिकारीलाई दोषी ठहर गर्दै घटना सामसुम पारिएको थियो ।

प्रकाशित मिति: : 2019-10-26 11:09:59

प्रतिकृया दिनुहोस्