राजनीतिक पार्टीहरूमा मुख्यतः तीन अस्पष्टता छन्। सिद्धान्त, संगठन र कार्यशैलीगत अस्पष्टता छ। यसलाई एउटै शब्दमा पनि भन्न सकिन्छ। सिद्धान्तको अस्पष्टताले संगठनमा अस्पष्टता ल्याउँछ। र त्यसले कार्यशैलीमा अस्पष्टता र विकृति ल्याँउछ। यो एउटै प्रक्रिया हो। त्यही एउटै प्रक्रियाका तीन पक्ष हुन्। मुख्यतः हामीले भनिरहेको के हो ? हामीले कस्तो समाज चाहेका हौं ? कस्तो राजनीति चाहेका हौं ? कस्तो राजनीतिले समाजलाई कतातिर लैजान्छ ? भन्ने कुरामा पार्टीहरूमा छलफल हुँदैन। त्यस्तो बहस गर्ने थलो नै छैन।
तपाईं–हाम्रै पार्टी नेकपामा हेर्नुहुन्छ भने हाम्रो पार्टीका बैठकहरू, संसदीय दलहरूमा नेताहरूले डेढदुई घण्टा भाषण गर्छन्। त्यो पनि विषयमा गर्दैनन्। बोल्दै जाँदा जेजे आउँछ, त्यही बोल्छन्। अर्काे नेताको भन्दा आफू राम्रो देखिनुपर्यो, धेरै लामो बोल्न सक्छ भन्ने देखिनुपर्यो। यस्ता कुण्ठा देखिन्छन् मान्छेहरूमा। राम्रो बोल्ने, लामो बोल्ने दौरानमा सिद्धान्तमै अस्पष्टता भएका नेताहरूले लामो बोल्दा के बोल्छन् ? उनीहरूले फतरफतर मात्र बोलेका हुन्छन्।
धेरैजसो नेताको अवस्था यस्तै छ। लामो बोलेका हुन्छन्, के बोलें भनेर नोट गर्न टिप्ने हो भने चार बुँदा हुँदैनन्। त्यो किन भयो भन्दा उसको गन्तव्य नै छैन। गन्तव्य भनेको सिद्धान्तको गन्तव्य हो। आफ्नो समूहको, पार्टीको सिद्धान्त के हो भन्नेबारे छलफल, बहस भयो भने त्यो सिद्धान्तअनुसार नेताले के बोलेको छ, के बोलेका छैनन् भन्ने कार्यकर्ताले पनि बुझ्न सक्थे। जनताले पनि थाहा पाउन सक्थे। पार्टीभित्र बहस गर्ने त्यस्तो थलो नै नभएपछि हुने यही हो।