जापानमा ‘हागिबिस’को वितण्डाः मृत्यु हुनेको संख्या ६४ पुग्यो

तस्बिरः एजेन्सी

जापानमा शनिबार आएको ‘हागिबिस’ नामक शक्तिशाली आँधीका कारण मृत्यु हुनेको संख्या ६४ पुगेको छ ।

जापानको राष्ट्रिय प्रसारण संस्था एनएचकेले मङ्गलबार दिएको जानकारीअनुसार मृत्यु हुनेको सङ्ख्या ६४ पुगेको र अझै बढ्न सक्ने आशङ्का गरिएको छ । एनएचकेका अनुसार उक्त आँधीमा परि १७ जना हराइरहेका छन् भने १८९ जना घाइते भएका छन् ।

आँधीपछि सरकारले दशौँ हजार सुरक्षाकर्मी तथा उद्धारकर्ताहरूलाई परिचालन गरेको छ। सरकारले झण्डै सत्ताइस हजार सैनिक तथा अन्य कयौ उद्धारकर्ताहरू पीडितलाई राहत पुर्‍याउन खटाएको जनाएको छ।मानिसले घरका झ्याल र कौसीबाट उद्धारका लागि सेनालाई अनुरोध गरिरहेको देखिएको छ ।

हगिबिस आँधीका कारण राजधानी टोक्योको दक्षिणी भेगमा आएको बाढीका कारण जमीन भासिँदै गएको छ र बाढी समेत आएको बताइएको छ।नगानो प्रान्तस्थित जापानको चर्चित बुलेट रेललाई पानीले घेरेको छ भने अलपत्र परेका स्थानीयलाई हेलिकप्टरको सहायताले घरका छानाबाट उद्धार गरिएको छ।

टोक्योको उत्तरतर्फ पर्ने कावागोयमा आपत्कालिन उद्दारकर्ताहरूले नर्सिङ होममा फसेका मानिसहरूको उद्धारका लागि डुङ्गाको प्रयोग गरेका छन्।करिब चारलाख घरहरूमा विद्युत् आपूर्ति बन्द भएको बताइएको छ। जापानी उद्योग मन्त्री ईशु सुगवाराले ३४ हजार व्यक्ति बिजुलीविना बसिरेहका पुष्टि गरेका छन् । सुगवाराका अनुसार आँधीले कडा प्रभावित चिवा प्रान्तमा १८ हजार घर बिजुलीविहीन छन, नागानो प्रान्तका १२,००० घर बिजुलीविहीन रहेका छन् ।

सबै घरहरु सुरक्षित रूपमा बिजुली फिर्ता हुनको लागि एक हप्तासम्म लाग्न सक्ने बताइएको छ । तेह्र वटा प्रान्तको १ लाख ३३ हजार घरहरुका पानी आपूर्ति बन्द भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

आँधीका कारण जापानमा भइरहेको लोकप्रिय रग्बीको विश्वकप प्रतियोगिता नै ओझेलमा परेको छ । आँधीका कारण तीनवटा खेल रद्द भइसकेका छन् तर जापान र स्कटल्याण्डबीचको खेल भने तोकिएको समयमै हुने आयोजकहरुले बताएका छन् ।

हागिबिस आँधी जापानको होन्सु द्वीपमा शनिबार साँझ ७ बजे प्रवेश गरेको थियो । प्रतिघण्टा २१६ किलोमिटरभन्दा बढीको वेगमा रहेको यो आँधीलाई जापानमा ६० वर्ष यताकै सवैभन्दा शक्तिशाली मानिएको छ ।

प्रकाशित मिति: : 2019-10-15 12:46:51

प्रतिकृया दिनुहोस्