‘नो ब्रा मुभमेन्ट’ चलाएकी कोरियाली पप गायिका मृत फेला

तस्बिरः एजेन्सी

दक्षिण कोरियाकी प्रसिद्ध के–पप गायिका सुल्ली मृतावस्थामा फेला परेकी छन्।उनले आत्महत्या गरेको हुन सक्ने अनुमान गर्दै प्रहरीले अनुसन्धान अघि बढाएको छ।

प्रहरीले बीबीसीलाई बताएअनुसार उनका प्रबन्धकले सुल्लीलाई राजधानी सोलनजिकै रहेको उनको घरमा मृतावस्थामा भेटेका थिए।उनको वास्तविक नाम चोप जिन–रि हो।

‘नो ब्रा मुभमेन्ट’ अर्थात् ब्रा नलगाउने अभियान चलाएकी पच्चीस वर्षीया सुल्लीका सन् २०१५ सम्म इन्स्टाग्राममा ५० लाखभन्दा बढी फलोअर थिए।मे २०१६ मा पहिलो चोटि त्यस्ता तस्बिर इन्स्टाग्राममा प्रकाशित भएपछि उनको ठूलो आलोचना भएको थियो। गत महिना इन्स्टाग्राममा प्रत्यक्ष प्रसारित भिडिओमा उनका स्तनहरू देखिएपछि रूढीवादी दक्षिण कोरियामा विवाद उत्पन्न भएको थियो। तर पछि व्यावसायिक रूपमा अभिनय गर्न भन्दै उनले इन्स्टाग्राम चलाउन छोडिन्।

उक्त विवादसँगै अन्लाइन माध्यममा दुर्व्यवहार खेप्नुपरेकाले उनले कोरियाली पप सङ्गीत अर्थात् के–पप छोडेको केही मानिसहरूको धारणा छ।

यद्यपि प्रभावशाली नारी स्वरका रूपमा परिचित सुलीका समर्थकहरुको संख्या पनि बढ्दै गएको थियो । उनी महिलाहरू मात्र रहेको साङ्गीतिक समूह एफएक्सकी गायिका रूपमा परिचित थिइन्। सन् २०१५ मा उनी त्यो समूहबाट बाहिरिइन्।विभिन्न विवादमा पनि परेकी उनी पहिलो पटक ११ वर्षको उमेरमा एउटा टेलिभिजन धारावाहिक शृङ्खलामा देखिएकी थिइन्।

पछि उनी एसएम एन्टर्टेन्मन्ट भनिने प्रसिद्ध सङ्गीत उत्पादक कम्पनीमा के–पप प्रशिक्षक बनिन्।

प्रकाशित मिति: : 2019-10-15 10:44:50

प्रतिकृया दिनुहोस्