‘कर युद्ध’ चर्कियो : अमेरिकाले चिनियाँ सामानमाथि कर थप्यो, अब १०४ प्रतिशत

अमेरिकाले चीनमाथि थप कर लगाउने घोषणा गरेको छ। अब चीनले अमेरिकामा सामान निर्यात गर्दा अतिरिक्त ५० प्रतिशतसहित १०४ प्रतिशतभन्दा धेरै कर तिर्नुपर्नेछ। 

थप करको घोषणा गर्दै ट्रम्पले यसलाई ‘चीनका लागि जवाफी कारबाही’ भनेका छन्। दोस्रो कार्यकाल सुरु भएसँगै अमेरिका र चीनबीच ‘कर युद्ध’ सुरु भएको छ। यद्यपि ट्रम्पले अमेरिका सामान पठाउने विश्वका सबै देशहरूलाई न्यूनतम १० प्रतिशतदेखि कर लगाइदिएका छन्। 

गत अप्रिल २ मा उनले यो कर घोषणा गर्दै त्यो दिनलाई अमेरिकीले आफ्नो ‘आर्थिक स्वतन्त्रता दिवस’का रुपमा मनाउने पनि उनले बताएका थिए। 

यसअघि चीनले पनि अमेरिकी सामग्रीहरूमा कर लगाइएको थियो र ट्रम्पले त्यसलाई फिर्ता नगरे अमेरिकाले थप कर लगाउने चेतावनी दिएका थिए। 

चीनले भने अमेरिकाको यस्ता धम्कीबाट नडराउने र अन्तिमसम्म लड्ने जवाफ दिएको छ। 

अमेरिकाले यही अप्रिल ९ बाट लागु हुनेगरी चीनले अमेरिका निर्यात गर्ने सामानहरूमा लगभग ५४ प्रतिशतभन्दा धेरै आयात कर लगाइदिएको थियो। त्यसको जवाफमा चीनले अमेरिकी सामानहरूमा पनि ३४ प्रतिशत कर लगाउने निर्णय गरिदियो। 

यसबाट दुबै देशबीच एकप्रकारको करयुद्ध नै चलेको छ। ट्रम्पले अमेरिकी सामानमा कर हटाउन चीनलाई चेतावनी दिए पनि चीन भने आफ्नो अडान र अमेरिकी करप्रतिको आफ्नो नीतिबाट पछि नहट्ने जनाएको छ। 
ट्रम्पले चीनले अमेरिकी सामग्रीमा कर नहटाए त्यसको बदलामा चिनिया सामग्रीमाथि थप ५० प्रतिशत कर थप्ने चेतावनी दिएका थिए। 

चीनले आफूलाई खुला अर्थतन्त्रको सबैभन्दा उत्कृष्ट बजारगन्तब्य भएको सावित गर्न चीनमै अमेरिकी व्यवसायीहरूको समेत सम्मेलन गरिरहेको छ। विश्वका अरु देशका व्यवसायीहरूलाई चीनले आह्वान गरिरहेको छ। 

अमेरिकाले विश्वबजारमा आफ्नो आधिपत्य जमाउन खोजेको ब्यापार साम्राज्य लाद्न खोजेको भन्दै चीनले त्यसलाई विश्वव्यापी मान्यताहरूको विरुद्ध भनेको छ र त्यो अवैधानिक कर विरुद्ध सबै निर्यातकर्ता देशहरूलाई एक हुन पनि चीनले आह्वान गरेको छ। 

अमेरिकाले चीनबाट दैनिक प्रयोगमा आउने लगभग १ हजार भन्दा बढी प्रकारका सामग्रीहरू आयात गर्छ। ती सबैमा अब चीनले भने ५४ प्रतिशत कर तिर्नुपर्नेछ। नत्र अमेरिकी बजारमा ती सामग्री छिर्न पाउने छैनन्। यो भनेको चीनले अमेरिका पठाउने र अमेरिकाले चीनमा पठाउने सामग्रीहरूबीचको ठूलो खाडल हो। अमेरिकाले थोरैमात्र सामान चीनमा निर्यात गर्छ। चीन विश्वको सबैभन्दा ठूलो ‘म्यानुफ्याक्चरिङ’ बजारमध्येको एक हो। 

र अमेरिका पनि चीनबाट सबैभन्दा धेरै बस्तु आयात गर्ने देशमध्येको एक हो। विश्वबजारमा निर्यात हुने चिनियाँ सामग्रीको लगभग १६ प्रतिशतभन्दा धेरै हिस्सा अमेरिकाले ओगट्छ। त्यो भनेको लगभग ५ खर्ब डलरभन्दा धेरै हो। तर चीनले भने अमेरिकाबाट लगभग डेढ खर्ब अमेरिकी डलर बराबरको मात्रै सामान ल्याउने गरेको छ। 

अमेरिकमा प्रयोग हुने सामान्यदेखि बिलासी सामग्रीहरूसमेत चीनबाटै जान्छ। त्यसैले चीनसँग हुने ब्यापार घाटाको ठूलो खाडल पुर्नका लागि उसका सामग्रीहरूमा कर वृद्धि गरिएको ट्रम्पले जनाएका छन्। तर अमेरिकालाई पनि चीनले उसका सामग्रीमा कर बृद्धि गरेरै जवाफ दिएपछि थप तनाव चुलिएको छ। 

प्रकाशित मिति: : 2025-04-09 08:55:00

प्रतिकृया दिनुहोस्