पाँच वर्षीय जुम्ल्याहा त्रिजल कौरी (कवाडी) र त्रिनेश कौरी (कवाडी)लाई मध्यपुर थिमी नगरपालिकाले विशेष सम्मान गरेको छ।
नगरपालिकाको २९औं स्थापना दिवसको अवसरमा नगरप्रमुख सुरेन्द्र श्रेष्ठ र सांसद दुर्लभ थापाले उनीहरूलाई माला र सम्मानपत्र प्रदान गरेका हुन्।
गत असोजमा त्रिजल र त्रिनेशले आफ्ना सुजिता बाडे र राजेश कौरीसँगै ५,३६४ मिटर उचाइमा रहेको एभरेस्ट बेस क्याम्प यात्रा सफलतापूर्वक पूरा गरेका थिए। सानो उमेरमै यस्तो साहसिक यात्रा पूरा गरेका उनीहरू भक्तपुरकै गौरव बनेका छन्।
त्रिजल र त्रिनेश हाल लर्ड बुद्ध इंग्लिश स्कुल, थिमीमा कक्षा यूकेजीमा अध्ययनरत छन्।
नगरपालिकाको यो सम्मानले भविष्यमा यस्ता प्रतिभाशाली बालबालिकाहरूलाई थप प्रेरणा दिने विश्वास गरिएको छ।