कुलमानकाे समर्थनमा उत्रिए नागरिक, जेल हाल्न बालेनको चुनाैती (भिडियाे समाचार)

सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउने निर्णय गरेसँगै उनको समर्थनमा मंगलबार दिनभर प्रदर्शनहरू भएका छन्। 

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कुलमानलाई हटाउने निर्णय गरेको थियो ।

यसैबीच कुलमानका समर्थकहरूले सिंहदरबारको निषेध क्षेत्रमा सरकारको निर्णयको विरोध गर्दै प्रदर्शन गरेका हुन्। 

प्रदर्शनमा उत्रिएका केही आन्दोलनकारीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

000

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिपक्षीहरू सरकारलाई बदनाम गर्ने र झुट फैलाउन सक्रिय रहेको बताएका छन्।

ललितपुरको कुपन्डोलमा मंगलबार प्रगतिशील इन्जिनियरिङ एसोसिएसनको राष्ट्रिय अभिवेशनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकार आफ्ना विषय र काममा केन्द्रित भइरहेको बताएका हुन्। 

अनावश्यक कुरामा अलमल्याउन खोज्ने र विषयबाट ध्यान मोड्न खोजे पनि त्यसका लागि आफूहरू तयार नरहेको उनकाे भनाइ थियाे। 

000

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्नो र नेपाली कांग्रेसको पूर्ण साथ समर्थन रहेको बताएका छन्।

कांग्रेस–एमालेबिच सम्बन्धमा केही आशंका पैदा भएको चर्चा परिचर्चा चलिरहेका बेलामा देउवाले ओलीलाई आफ्नो र कांग्रेसको पूर्ण समर्थन रहेको बताएका हुन्। 

मंगलबार काठमाडौँमा आयोजित एक कार्यक्रममा उनले ओली र आफू जेल बस्दा गोलघरमा संगै बसेका साथीसमेत भएको बताएका थिए। 

 000

नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रका प्रमुख रामु श्रेष्ठमाथि हातपात भएको छ।

मंगलबार बिहान ३५/४० जनाको समूह वितरण केन्द्रमा प्रवेश गरी कार्यलय प्रमुखलाई कुटपिट गर्नुका साथै कार्यकक्ष तोडफोड भएको केन्द्रले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

घटनाको सत्यतथ्य छानबिन गरी उक्त कार्यमा संलग्न व्यक्तिलाई कानुनको दायरमा ल्याई कारबाही गर्न समेत केन्द्रकाे माग छ।  

000

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले कबाड व्यवसायीहरूले भोग्नुपरेका समस्या आपसी छलफल र समझदारी निर्माण गरेर हल गरिनुपर्ने बताएका छन्।

कबाड संकलन तथा व्यवसायसँग सम्बन्धित माग राखेर आन्दोलनरत कबाड व्यवसायी संघर्ष समितिका प्रतिनिधिहरूसँगको भेटमा अध्यक्ष प्रचण्डले समस्या समाधानका लागि सहमतिमा जानुपर्नेमा जोड दिएका हुन्।

कबाड व्यवसायको उचित व्यवस्थापनका विषयमा महानगर नेतृत्वसँग समेत छलफल गरेर सकारात्मक वातावरण निर्माणका लागि पहल गर्ने उनकाे भनाइ थियाे। 

000

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सक्ने भए आफूलाई जेल हाल्न सरकारलाई चुनौती दिएका छन्।

महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंविरुद्धको राय प्रतिवेदन सार्वजनिक गर्दै उनले यस्तो चुनौती दिएका हुन्। 

मंगलबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै बालेन गुरागाईंलाई भ्रष्टाचारीको आरोप पनि लगाएका छन्।

यसअघि मेयर बालेनले आफ्ना कर्मचारीहरूलाई एकसाताभित्र तलव दिने वातावरण नभए सबैलाई टुकुचामा गाडिदिने धम्की समेत दिएका थिए। 

000

सर्वोच्च अदालतबाट सातै प्रदेशमा रहेका मुख्य न्यायाधिवक्ताको कार्यालयहरूलाई दिइने पेसीको सूचना पठाउने प्रणाली तथा जिल्ला अदालतहरूको विशेष प्रकृतिको निवेदन दर्ता तथा व्यवस्थापन गर्ने अनलाइन प्रणालीको सुरुवात भएको छ।

मंगलबार सर्वोच्च अदालतको हलमा एक विशेष समारोहको आयोजना गरी उक्त प्रणालीको सुरुवात गरिएको हो।

जिल्ला अदालत नियमावली, २०७५ को नियम ४६ बमोजिम जिल्ला अदालतहरूमा दर्ता हुने विशेष प्रकृतिका निवेदनहरूमा यस्तो प्रणाली लागू भएको हो।

000

स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा चन्द्रबहादुर थापा नियुक्त भएका छन्। 

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले मंगलबार मन्त्रालयमा अध्यक्ष नियुक्त थापालाई पद तथा गोपनीयताको सपथ ग्रहण गराएका हुन्।

थापाको नियुक्तिपछि स्वास्थ्य बिमा बोर्डले गति लिने मन्त्री पाैडेलकाे विश्वास छ। 

000 

नेपाल प्रिमियर लिग (एनपिएल) को फ्रेन्चाइज टिम कर्णाली याक्स बिक्री भएको छ। 

हिमालयन बिल्डर्स स्वामित्वमा रहेको कर्णाली याक्स पहिलो सिजनको समाप्तिसँगै बिक्री भएको हो। टिम अक्सनमा कर्णाली सबैभन्दा सस्तो मूल्यमा अक्सनबाटबिक्री भएको थियो।

कर्णालीलाई एक करोड ११ लाखमा खरिद गरेर हिमालयन बिल्डर्स एनपिएलमा आएको थियो। पहिलो सिजनमा शिखर धवनजस्ता अन्तर्राष्ट्रिय स्टारलाई आबद्ध गरेर यस टिमले चर्चा कमाएकाे थियाे। 

 

प्रकाशित मिति: : 2025-03-25 20:16:00

प्रतिकृया दिनुहोस्