नेपालमा ‘सेक्स टुरिज्म’, बहसमै बन्देज (भिडिओसहित)

संसदको बैठकमा ‘सेक्स टुरिजम्’का बारेमा बोलेका सांसद श्याम घिमिरेलाई नेपाली काँग्रेसका सभापति लगायत केही नेताहरूले बेस्सरी गाली गरे। 

पार्टी सभापतिबाटै गाली गरेपछि घिमिरेले आफूले बोलेका ‘अभिव्यक्ति’ फिर्तामात्रै लिएनन्। संसदमै उनले क्षमा याचना पनि गरे। घिमिरे नेपाली काँग्रेस संसदीय दलका प्रमुख सचेतक पनि हुन्। 

कतिपय सांसदहरूले उनको अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन पनि माग गरेका थिए। नेपालमा ‘यौन पर्यटनबारे कुरा उठाउने घिमिरेका अभिव्यक्तिबारे अहिले पनि सामाजिक सञ्जाल बहसले भरिएको छ। 

नेपालमा पनि यौन पर्यटनको सुरुवात गर्ने वा ‘रेड लाइट एरिया’बारे कुरा उठाउने उनी पहिलो नेता वा सांसद भने होइनन्। यसअघि पनि यसबारे पटक पटक बहस हुँदै आएको छ। 

अहिलेका सञ्‍चार तथा सूचना प्रविधि मन्त्री एंव सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले पनि यसअघि ‘रेड लाइट एरिया’बारे बहस सुरु गरौं भनेका थिए। 

त्यो बेला उनी गण्डकी प्रदेशका मुख्यमन्त्री थिए। र खासगरी उनले पोखरालाई लक्षित गरी ‘रेड लाइट एरिया हुनुपर्छ वा पर्दैन भनेर बहस खुला गरौं’ भनेर सार्वजनिक प्रस्ताव नै गरेका थिए। 

त्यसअघि तत्कालीन पर्यटनमन्त्री शरदसिंह भण्डारी पोखरामा ‘सेक्स टुरिजम’ पनि थप्नुपर्छ भनेपछि विवादमा परेका थिए। 

त्यस्तै कुनै बेला कानुनमन्त्रीसमेत रहेका शेरबहादुर तामाङले संसद्‌मा बोल्दा 'बंगलादेशमा पढ्न गएका नेपाली छात्राहरूले यौन व्यवसाय गरेको'  भनेपछि उनको पद नै खोसिएको थियो। 

यी उदाहरणहरूबाट के बुझ्न सकिन्छ भने नेपालमा यौन व्यवसायलाई कानुनी मान्यता त परै जाओस् त्यसबारे बोल्न पनि सामाजिकरुपमा वर्जित नै छ। 

तर संसारका कतिपय यस्ता देशहरू पनि जो ‘यौन पर्यटन’ खुला गरेर आफूलाई आर्थिकरुपमा समृद्ध गरिरहेका छन्। 

त्यसका लागि ती देशहरूले कानुन पनि निर्माण गरेका छन्। तर संसारमा कुनै पनि देशले ‘बलजफ्ती’ यौन कार्यलाई भने मान्यता दिएका छैनन्। त्यसमा सजाय हुन्छ। 

नेपालमा पनि यौन र यससँग जोडिएका धेरै कानुनहरू छन्। कतिपय फैसलाका नजिरहरू पनि छन्। तर  स्वेच्छाले यौन व्यवसाय गैरकानुनी हो वा होइन भन्नेबारे कानुन स्पष्ट छैन।

बालबालिकाका सवालमा पनि कानुन स्पष्ट छ। तर उमेर पुगेकाहरूले यौन पेशा अंगाल्छु भन्दा उसलाई रोक्ने कुनै कानुन छैन। 

स्वेच्छिक यौन पेशा भन्नाले व्यक्तिले बिना कुनै बाहिरी दवाब स्वेच्छिक रूपले यौन कर्मलाई पेशाको रूपमा अपनाउनु भन्ने बुझिन्छ। यसका बारेमा कानुन मौन छ। 

बलपूर्ण यौन व्यवसाय वा वेश्यावृत्ति भन्नाले ललाई, फकाई, झुक्याई, डर त्रास देखाई, दबाबमा पारी, प्रलोभन दिई यौन पेशामा लगाउनु भन्ने बुझिन्छ। यसका बारेमा भने कानुन स्पष्ट बोलेको छ। 

तर, नेपालमा यौन व्यवसायबारे कानुन मौन छ। जसको कारण यौन व्यवसाय वैध वा अवैध भन्ने धारणा स्पष्ट छैन। कानुनी स्पष्टता नहुँदा नेपालमा यौन व्यवसाय वैधानिक भन्ने बुझिन्छ।’

हालै लागू भएको मुलुकी फौजदारी सहिता ऐनको दफा २१३ ले जबर्जस्ती यौन कार्यमा लगाउनु गैरकानूनी भने तापनि स्वतःस्फूर्त गरिने यौन व्यवहार र व्यवसायका बारेमा केही स्पष्ट छैन। 

नेपालमा यौन व्यवसाय गैरकानुनी हो। तर देशका कुनै त्यस्ता सहर छैनन्, जहाँ छुकिछिपि यौन धन्धाहरू चलिरहेका हुन्छन्। 

सरकारी तथ्याङ्क नभए पनि यौनकर्मीका क्षेत्रमा काम गर्ने केही गैरसरकारी संस्थाहरूका अनुसार यसरी लुकिछिपि नै यौन पेशा गर्नेहरू देशभरि लगभग ५६ हजारभन्दा बढी छन्। त्यसमा निकै थोरै हिस्सामात्रै पुरुष यौनकर्मीहरू छन्। 
 

प्रकाशित मिति: : 2025-03-21 09:38:00

प्रतिकृया दिनुहोस्