हुन त कसैको निजी जिन्दगीको प्रसंगमा बोलिरहन उपयुक्त हुँदैन। तर, समाजमा साथ- सहयोग हौसला दिने मात्र होइन, अरुको चियोचर्चो, कुरा काट्ने, खुट्टा तान्ने जमात पनि ठूलै छ। यसो भनिरहँदा यो सामग्री पनि निजी मामिलाकै हो। अनि किन लेखेको त? भन्ने प्रश्न स्वाभाविक हो। तर, खुल्दुली हुन्छ, जिज्ञासा मेट्ने चाहना हुन्छ।
प्रसङ्ग पूर्वेली चेलीहरू अर्थात चल्तीका गायिकाद्वय मेलिना राई तथा एलिना चौहानको हो। मेलिना राईको दोस्रो इन्गेज्मेन्टमा विवाह हुँदै गर्दा एलिनाको सम्बन्ध बिग्रिन लागेको समाचारले बजार तताएका छन्।
हुन त म्युजिक भिडियो चलाउनका लागि आफूलाई चर्चामा ल्याउन एलिनाले अनेक हर्कत गर्ने आरोप पनि लाग्ने गरेको छ। चौहानले हालै नयाँ गीत ‘एक्लै पनि जिन्दगी चल्दो रहेछ’ सार्वजनिक गरेकी छिन्। सम्बन्ध बिग्रिएको समाचार आउँदा एक्लै पनि जिन्दगी चल्दो रैछ भनेर आफूलाई बलियो सावित गर्न खोजेको महसुस दिलाउन खोज्दैछिन्।
तपाईँको सम्बन्ध बिग्रिएको समाचार आईरहेको छ? के हो वास्तविकता? भन्ने प्रश्नमा एलिनाले भनिन्, ‘मेरो निजी लाइफमा तपाईंहरूलाई के को चासो?’ तपाईं चलेको कलाकार हो, कलाकार भएपछि चासो हुन्छ नि? भन्दा चौहानले भनिन्, ‘तपाईँहरू न्युज भन्दा नि भ्युजको पछि कुद्नु हुन्छ। जे पनि लेखिदिनु हुन्छ।’
यसो भन्दै गर्दा उनको रुन्छे स्वरले उनी तनावमा भैरहेको सहजै अनुभव गर्न सकिन्थ्यो। एलिनालाई हामीले फेरि सोध्यौं। वास्तविकता त आउनु पर्छ नि? तपाईँको सम्बन्ध बिग्रेको समाचार आउनु अनि गीत पनि ‘एक्लै पनि जिन्दगी चल्दो रहेछ’ आउनु त्यसो भए संयोग हो? उनले भनिन्, ‘रजतपटले कुन मनसायले आफू खुशी समाचार बनाउँछ, त्यसको पछि नलाग्नु। म यो विषयमा केही बोल्दिन।’
तर गायिका एलिना चौहानले वैवाहिक जीवनबारे चलेका अफवाहको खण्डन गर्दै श्रीमान् विष्णु सापकोटासँगको सम्बन्ध राम्रो रहेको बताएको समाचार पनि आईरहेका छन्। आफूलाई चर्चामा ल्याउन अनेक हर्कत गर्छिन् भन्ने आरोप खेपेकी चौहानको पछिल्लो वास्तविकता के हो? उनैले जानुन्।
हाम्रो उदेश्य सबैको घरजम राम्रो होस् भन्ने नै हो। सामाजिक सञ्जाल र केही सञ्चार माध्यमहरूमा सम्बन्ध बिग्रिएको हल्ला चलेपछि एलिनाले यसबारे स्पष्टिकरण दिएको कुरा विभिन्न अनलाइनमा आईरहेका छन्।
एलिनाले २०८१ साल वैशाख ५ गते विष्णु सापकोटासँग झापाको बिर्तामोडस्थित बिर्ता पार्टी प्यालेसमा विवाह गरेकी थिइन्। वैवाहिक समारोहमा परिवारका सदस्यहरू, आफन्तहरू र निकटका साथीहरूको उपस्थिति थियो।
विवाहपछि एलिनाले केही समय अस्ट्रेलियामा श्रीमानसँग बिताएकी थिइन्। तर, तीजको अवसरमा उनी नेपाल फर्किएकी थिइन्। त्यसयता अहिले पनि उनी नेपालमै रहेर सांगीतिक कार्यक्रमहरूमा सक्रिय छिन्। उनका श्रीमान् व्यवसायका कारण अस्ट्रेलियामै व्यस्त छन्, जसका कारण दम्पतीबीच भौगोलिक दूरी छ।
यसबीच, केही समयअघि ओशो ध्यान केन्द्रमा देखिएकी एलिनाबारे वैवाहिक सम्बन्धमा समस्या आएको भन्ने समाचारहरू सार्वजनिक भए। तर, उनले यी हल्लाहरूलाई असत्य भन्दै श्रीमानसंगको सम्बन्धमा कुनै समस्या नरहेको र उनीहरूबीच गहिरो समझदारी रहेको बताइन्। भनिन्छ- श्रीमान् श्रीमतीको झगडा परालो आगो पनि हो। हाल एलिना चौहान विभिन्न सांगीतिक परियोजनामा व्यस्त छिन् र आगामी गीतहरूका तयारीमा जुटिरहेकी छिन्।
अब कुरा गरौ, मेलिना राईको।
गितारिस्ट सञ्जीव बराइलीसँग इन्गेजमेन्ट तोडिए पनि मेलिनाको पुन: नयाँ घरजम भएको छ। गायिका मेलिना राईले नयाँ वैवाहिक जीवनको थालनी गरेकी छिन्। उनले डाक्टर ध्रुव गुरुङसँग माघ ४ गते काठमाडौंको गोकर्णेश्वरस्थित हिमाली घर रिसोर्टमा विवाह गरेकी हुन्। विवाह समारोहमा परिवारका सदस्यहरू, नजिकका साथीहरू, र संगीत क्षेत्रका विशिष्ट व्यक्तिहरूको उपस्थिति थियो।
डा. ध्रुव गुरुङ लमजुङका स्थायी बासिन्दा हुन् र हाल पेशाले चिकित्सकका रूपमा कार्यरत छन्। केही समयदेखि प्रेम सम्बन्धमा रहेका मेलिना र ध्रुवको इन्जेजमेन्टको तस्विर सार्वजनिक भएको केही दिनपछि विवाह गरेका थिए।
यसअघि गितार वादक सञ्जीव बराइलीसँग इन्गेजमेन्ट गरेकी मेलिनाको दुई वर्षअघि इन्गेजमेन्ट तोडिएको थियो। इन्गेजमेन्ट र विच्छेदका उनी चर्चामा रहिन्।
मेलिना राई नेपाली संगीत उद्योगकी चर्चित गायिका हुन्। ‘कुटुमा कुटु सुपारी दाना’, ‘के गुलियो छ र सक्खर चिनी’ जस्ता गीतले उनको नाम जन-जनमा पुर्याएको छ। उनले विवाहपछि पनि सांगीतिक यात्रामा निरन्तर सक्रिय रहने बताइएकी छन्।
नयाँ वैवाहिक जीवनका लागि उनीहरूलाई शुभकामना दिन सामाजिक सञ्जालमा शुभचिन्तकहरूको ओइरो लागेको छ त कतै आलोचना पनि। ‘वैवाहिक जीवनमा बाँधिनु भएको छ, बधाई छ है’ भन्दा गायिका राईले भनिन्, ‘अहिले व्यस्त छु, पछि कुरा गरौँला है।’