विवाहको मौसममा सुनको मूल्य कम हुँदा बजारमा चहलपहल (फाेटाे/भिडियाे)

गत साताबाट नेपाली बजारमा सुनको मूल्य लगातार ओरालो गतिमा छ। मूल्यमा आएको गिरावटसँगै बजारमा चहलपहल बढ्दो छ। उपभोक्ताहरु सस्तिएको मूल्यमा सुन खरिद गर्न उत्सुक देखिन्छन।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार कात्तिक १५ गतेसम्म नेपाली बजारमा एक लाख ७१ हजारसम्म पुगेको सुनको मूल्य मंसिर ११ मा सुन प्रतितोला १ लाख ४८ हजार ७ सय रुपैयाँ पुगेको थियो।

झण्डै एक महिनाको अवधिमा सुनको मूल्यमा १२ प्रतिशतले गिरावट आइसकेको छ। गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सुनको भन्सार दर २० बाट १० प्रतिशत कायम गर्ने निर्णय गरेपछि सुनको भाउमा गिरावट आएको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन प्रतितोला १ लाख ४९ हजार ६ सय थियो। मंगलबारको तुलनामा बुधबार सुनको भाउ ९ सय रुपैयाँले बढेको हो। मंगलबार सुनको भाउ १ लाख ४८ हजार ७ सय रुपैयाँ थियो।

पछिल्ला दुई दिनमा मात्र सुनको मूल्य प्रतितोला १८ हजार पाँच सयले घटेको छ। आइतबार प्रतितोला १लाख ६७ हजार दुई सय रुपैयाँमा कारोबार भएकोमा सोमबार घटेर प्रतितोला १ लाख ५१ हजार ३ सय रुपैयाँ कायम भएको थियो।

src="https://breaknlinks.blr1.cdn.digitaloceanspaces.com/Desktop/all/pin-drive/sun-ko-chahalpahal-(2).jpg" style="height:482px; width:856px" />सोमबार एकैदिन १५ हजार ९ सय रुपैयाँले सुनको भाउ घटेको हो। नेपाल सरकारले सुनमा लगाएको भन्सार महशुलमा समायोजन गरेको र अन्तर्राष्ट्रिय बजारमा समेत सुनको मूल्य घटेपछि केही समयका लागि सुन सस्तिएको नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक नरबहादुर थापा बताउँछन्।

 

उनले भने, ‘सरकारले कुनैपनि वस्तुमा कर घटाउने बढडाउने गरिरहेको हुन्छ। यसैअनुसार कुनैपनि वस्तुको मूल्य निर्धारण हुन्छ। सुनको हकमा पनि सरकारले सुनमा लाग्दै आएको कर, भन्सार दरघटाएको कारणले सुन केही समयका लागि सस्तिएको हो।’

थापाका अनुसार अब भने सुन घट्ने सम्भावना कम छ। न्यूरोडमा यतिबेला सुन किन्नेहरुको चहलपलह बाक्लो छ। अघिपछिभन्दा हिजोआज माग बढेको व्यवसायीहरुको भनाइ छ। न्यूरोडमा १० वर्षदेखि सुन व्यापार गर्दै आएकी विमला घिमिरे काफ्ले सुनको मूल्य घटेसँगै ग्राहकहरु झन धेरै आउन थालेको बताउँछिन।

उनले भनिन, ‘सुनको भाउ एक लाख ७१ हजार पुग्दाखेरि मूल्य बढेर तोलाकै दुई लाख हुन्छ भन्ने हल्ला सुनेर ग्राहकहरु आत्तिएर किन्न आउने गरेकोमा तोलामा एक्कासी १५ हजारले सुन घटेर १ लाख ५१ हजार भएपछि ग्राहकहरु झनै धेरै आउन थालेका छन्।’

 

सुनको मूल्य घट्नुमा आन्तरिक कारण रहेको औंल्याइन्छ। किनभने, पटक-पटक चर्को भन्सार दरवृद्धिले व्यवसायी असन्तुष्ट बन्दै आएका थिए।  सरकारले भन्सार दर घटाउने निर्णय गर्दै नेपालराजपत्रमा प्रकाशित भएको र यससँगै लागू भएपछि व्यवसायी उत्साहित छन्।

यसअघि पनि भन्सार दर घटाउन व्यवसायीहरूले सरकारलाई ज्ञापनपत्र बुझाएका थिए। राष्ट्र बैंक, अर्थ मन्त्रालय, प्रधानमन्त्रीलगायतका सबै समक्ष भन्सार दर घटाउन माग गरेका थिए।

सुनको मूल्य घटेसँगै केहीदिन यता सुन किन्नेहरुको घुँईचो लागेको सुन व्यवसायीहरु बताउँछन। तथापि, सुनको अभाव भने भएको छैन। अहिलेको महँगीलाई हेर्दा सुनको भाउ घट्नु राम्रो कुरा भएको उपभोक्ता विश्व भारती राना बताउँछिन्।

उनी भन्छिन्, ‘अहिलेको महँगी हेर्ने हो भनेपनि, नेपालीहरुले सांस्कृतिक रुपमा सुन लगाउनुपर्ने हुन्छ। बिहेवारी, चाडबाड सबैमा आवश्यक नै हुन्छ। त्यसैले सुनको मूल्य घटेको राम्रो नै हो। किनभने सबै वर्गले प्रयोग गर्न सक्छन्।

भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको चार महिनामा एक अर्ब ४२ करोड ७५ लाख २८ हजार रुपैयाँ बराबरको एक सय ३३ किलोग्राम सुन आयात भएको छ।जसबाट सरकारले २८ करोड ५५ लाख सात हजार रुपैयाँ बराबर भन्सार राजस्व प्राप्त गरेको छ।

- सुस्मिता बानियाँ (नेपाल न्यूज बैंक)

प्रकाशित मिति: : 2024-11-28 13:27:00

प्रतिकृया दिनुहोस्