राष्ट्रपति रामचन्द्र पौडेलले संघीय लोकतान्त्रिक गणतान्त्रिक शासनप्रणालीको जगमा नै मुलुकको सांस्कृतिक, सामाजिक र आर्थिक विकास गर्न सरकार र राजनीतिक दलहरू चुक्न नहुने बताएका छन्।
गणेशमान सिंह तथा जन आन्दोलन सहिद स्मृति शान्ति प्रतिष्ठानद्वारा शनिबार काठमाडौँमा आयोजित गणेशमान सिंह ११०औँ जन्म जयन्ती तथा अभिनन्दन कार्यक्रमलाई संवोधन गर्दै उनले यस्ताे बताएका हुन्।
‘मानवजीवनमा स्वतन्त्रताको मूल्य सदैव सजीव र शाश्वत हुन्छ। स्वतन्त्रता लोकतन्त्रको आधारभूत र अत्यावश्यक आलोक पनि हो’, उनले भने, ‘लोकतन्त्रको यही आलोकलाई अंगिकार गर्दै हामीले अपनाएको संघीय लोकतान्त्रिक गणतान्त्रिक शासनप्रणालीको जगमा मुलुकको सांस्कृतिक, सामाजिक र आर्थिक विकास गर्न सरकार र राजनीतिक दलहरू चुक्नुहुँदैन।’
मुलुकभित्रै मेरो भाग्य र भविष्य सुनिश्चित छ भनेर सुखद चाहना राख्ने हरेक नेपाली युवाको सपना साकार पार्ने अनि यो कुरा यही व्यवस्थामै संभव छ भनेर जनतालाई भरोसा जगाउन सक्नु नै अहिलेको आवश्यकता भएको उनको भनाइ छ।
‘त्यसको लागि मुलुकमा देखिने भ्रष्टाचार, विकृति र विसंगति हटाउन जरुरी छ, अवसरबाट वञ्चित, गरीब र पिछडीएका जनताको आवाज र असन्तुष्टि सुनी उनीहरूलाई केन्द्रमा राखेर सरकारका नीति एवम कार्यक्रम तय गरी लागू हुनुपर्दछ, सुशासन र विकास त्यसको आधार हो भने मलाई लाग्दछ’, राष्ट्रपति पौडेलले भने।
उनले गणेशमानजीले भनेजस्तो सत्ता चलेको भए आज देखिएका विकृति र विसंगति वेहोर्नुपर्ने थिएन भन्दै तथापि वीपी, गणेशमानले भन्दै आएको निचोडकै रूपमा वर्तमान संविधान प्राप्त गरेको पनि बताए।