नेपाल ऋषिमुनिको तपोवन र बुद्धको देश हो। वैभवशाली संस्कृतिले भरिपूर्ण नेपाल चाडवाडको श्रीङ्गारले सजिएको मुलुक हो। जसको पछाडि मानिसको जीवन पद्दति जोडिएको छ।
नेपाललाई एक सन्दर्भबाट हेर्दा चाडपर्वको देश भनेर चिनिन्छ। यो नेपाली जनताको गौरव र देशको सामाजिक र साँस्कृतिक तथा मौलिक परिचय अनि आर्दशता पनि हो। हाम्रो मौलिक परम्परा तथा चाडवाडको पछाडि हाम्रो जीवन पद्दति जोडिएको छ।
मौलिक परम्पराहरूले आ–आफ्नै अर्थ बोकेको पाइन्छ। हामी आर्थिक रुपले जति गरिब छौँ, त्यति नै हामी मौलिकता, सामाजिक तथा साँस्कृतिक रुपमा धनी छौँ। हामी गरिब होइनौँ तर बनाइएका हाैँ। यो तथ्य सबै नेपालीले बुझ्न जरुरी छ।
हामीले २१ सदीको चेतनाको स्तरबाट हेर्न, बोल्न र लेख्न सुरु गर्छौँ भने बिना हिच्किचावट हाम्रो गरिबीको कारण अनैतिक र चरित्रहिन राजनैतिक तथा कर्मचारीतन्त्र नै हो भन्नमा कुनै डर छैन। त्यसैले हामीले विवेकले भन्नैपर्छ कि अब चरित्र र व्यवहारमा आदर्शवान व्यक्तिले मात्र देश र जनतालाई प्राथमिकतामा राखेर देशको उन्नतिको नेतृत्व गर्ने ताकत राख्दछ।
यो प्रणाली र पद्दति तथा नेतृत्व र कर्मचारीतन्त्रबाट सम्भव छैन भन्ने प्रमाणित भइसकेको छ। जसका कारण देशको मुल शक्ति शिक्षा तथा रोजगारका नाममा देशबाट पलायन भइरहेको छ। विदेशिएका दाजुभाइ तथा दिदीबहीनीहरुले सामाजिक सञ्जालमा गर्ने अभिव्यक्ति देशभक्तिको आक्रोशयुक्त माया र वर्तमान अवस्थाको वृतचित्र हो।
देशको बल नै युवा हो। युवाशक्ति नै राष्ट्रिय जनशक्ति हो। यो बाहिरिने प्रवृत्ति अपरिमित र असिमित सङ्ख्यामा बढ्दो छ। जुन राष्ट्रको लागि ठूलो क्षति हो। विदेश जानु आफैँमा नराम्रो नहोला तर जनतालाई राष्ट्रिय शक्तिको स्रोत मान्ने देश चीन र अमेरिकालाई हेर्दा यो के रहेछ सहजै अनुमान लगाउन सकिन्छ।
आज हामी विश्वव्यापीकरणमा छौँ। ज्ञान र सीप आर्जन गर्नको लागि विदेश जानु र सधैँका लागि भासिनुमा निकै चिन्ताको विषय हो। केही वर्ष अगाडिसम्म युरोपेली देश जाने नागरिकहरु अधिकांश पढ्नको लागि जाने र स्वदेश फर्किने चलन थियो तर आज युरोप सुरक्षित भविष्यको खोजी बनेको छ। विदेश पलायन एउटा बाध्यताको प्रवृति हो र राष्ट्रको लागि ठूलो चुनौती हो। यसको कारण नेपालको वर्तमान अनैतिक, अराजक र भ्रष्ट शासन हो।
व्यवस्थाकै कारण अधिकांश नागरिक भिसा लागेसम्म विदेश जाने पक्षमा छन्। यो एउटा समूह हो। अर्को समूह भनेको मध्यम वर्गीय समूह शिक्षित र सक्षम छ तर आर्थिक रुपमा कमजोर छ। त्यसैले उनीहरुको सपना खाडीमा रगत, पसिना र जवानी बेच्न बाध्य छ। यसको कारण अहिलेको शासन व्यवस्था हो।
यस व्यवस्थाको न अनुशासन छ न चरित्र नै छ। नागरिक बेचेर आफ्नो आर्थिक भविष्य सुन्दर बनाउने उदेश्यमा लम्केको शासन उत्तरदायित्वको खाडलमा छ। उत्तरदायित्वको खाडलमा रहेको नेतृत्वको नैतिकता र अनुशासन नभएकै कारण विश्वमा शासन परिवर्तन भएको हेक्का पनि राख्नुपर्छ। नभए दिन गन्ती भयो भनेर बुझ्ने र बुझाउने दिन प्रतिक्षा गर्नुबाहेकको अर्को घडी रहने छैन।
२०४६ सालपछिका काँग्रेस र कम्युनिष्टलाई नागरिक स्वत्तन्त्रताको बाहक भनेर बुझाइएको तथ्य अब जनताले अन्तर्राष्ट्रिय दलालीकरण र १० वर्ष लामो जनयुद्धलाई धनयुद्धको रुपमा बुझ्न सुरु गरेको अवस्था मात्र हो। जब बुझ्छन्, परिणाम अवश्य सहज हुने छैन। बुझेकै कारण बंगलादेश र श्रीलंकामा त्यस्तो नभएको होइन। बोलेनन् भन्नुको अर्थ टुँडिखेल हुनु होइन।
जो दलका नेताहरु थिए र छन् ती नेता रहेनन् र दलको नामका दलाल रहेछन् भन्ने बुझेकै दिन नेपाल बंगलादेश र श्रीलंकाको बाटोमा जान्छ। जब चुनाव आउँछ, मुलुकमा रेल भित्र्याउने, घरघरमा ग्यासको पाइप फिट गर्ने, जसले चुनाव जिताउँछ उसलाई खाडी मुलुक जानको लागि नि:शुल्क भिसा नि:शुल्क टिकेटको व्यवस्था, साथै चुनावमा नजिताए त्यो ठाउँमा बजेट पास हुन नदिने धम्कीका सपनाले मात्र अब मुलुक चल्दैन।
अब आउने चुनावमा जिताउनुभयो भने दक्षिण एसियाको शक्तिशाली राष्ट्र मात्र होइन, नेपाललाई युरोपियन राष्ट्रको स्तरमा पुर्याउँछौँ पनि भन्छन्।
जसमा जनताका आधारभूत आवश्यकता पूरा गर्ने ल्याकत छैन, उसैको कुरा दाँयाबाँया नसोची यहाँका जनताले पनि पत्याइदिन्छन्।
जब चुनाव आउँछ, तब यहाँका जनता एक छाक मासुभातमा किनिन्छन्। पाँच केजी चामलमा आफ्नो अमूल्य भोट साटिन्छन् भने उनीहरुको दैनिक चिन्ताको विषय भनेको हात र मुखको भेट कसरी गराउने भन्नेमा मात्रै सीमित हुन्छ। कर्णालीका ६५ वर्षे हजुरबा हजुरआमालाई के थाहा मेरो एउटा अमूल्य भोटले मेरो देशको भविष्य निर्धारणमा ठूलो भूमिका खेल्छ भनेर।
वर्तमान अवस्थामा मुलुकमा अराजकताबाहेक अरु छैन। हिजोको नेपालसँग सभ्यता र अनुशासन जोडिएका थिए। हिजोको नेपाल सत्य र सत्कर्ममा अडिग थियो। तर आजका क्रान्तिकारी नामका जसले जनतामाथि भ्रम छरेर अन्तत: केवल आफू र आफ्नो पारिवारिक व्यवस्थापनको लागि क्रान्ति गरे, उनीहरुको कार्यशैलीको कारण नै मुलुक अराजकतातर्फ उन्मुख हुँदै गइरहेको छ। तसर्थ अहिले मुलुकमा हत्या, हिंसा, चोरी, ठगी, भ्रष्टाचार जस्ता अनैतिक कार्यहरु व्याप्त रुपमा मौलाएका छन्। नेपाली नागरिकलाई शरणार्थी बनाएर बेच्नसम्म आँट गर्ने नेताबाट जनताले विकासको आश गर्नु महामूर्खता हो।
हाल नेपालका समग्र राजनीतिक दल, यिनीहरुको आचरण हेर्दा ‘पशु’ भन्न लायक पनि देखिँदैन। उनीहरुले बोलेको बोलीले इतिहासमा नाम लेखिएका राष्ट्रिय विभूति तथा सहिदहरुको अपमान गर्छ। विदेशीले दिएको दान होस् वा कुनै व्यापारीले सर्तमा दिएको दान, जो राष्ट्रको हितविपरित छ, जसले आम मतदाताको अपमान गर्छ, त्यो पनि लिन छोड्दैनन्।
नेताहरुको यस्ता हर्कतले गर्दा आज नेपाली युवाहरु खाडी मुलुकमा गएर ५२ डिग्रीको तापक्रममा अर्काको दास भएर काम गर्न बाध्य छन्। आफ्नी आमाको धोती र चोली फेर्ने सपना लिएर विदेशी राष्ट्रको युद्धमा होमिन बाध्य छन् नेपाली युवा।
आजको नेपाली नागरिकमा उसको आफ्नो संस्कार छ, सभ्यता छ, पढेलेखेको छ तर ऊ विदेशी भूमिमा पहिचानहीन भएर झाडुपोछा लगाउँछ, मरुभूमिमा उट चराउन बाध्य छ। तर आम नेपाली युवा पुस्ताको यो कारुणिक यथार्थले नेतारुलाई छुँदैन। किनभने उनीहरु नैतिकवान, राष्ट्र प्रेमी नेता होइनन्, केवल अवसरवादी, लम्पसारवादी हुन्। यहाँको राजनीतिक दल आफ्नो विवेकले चल्दैन, उनीहरु विदेशी शक्तिको बन्धक हुन्।
राष्ट्रको हितविपरित, नेपाली जनताको हितविपरित, राजनीति तथा राज्य संयन्त्रभित्र गढेका जति पनि कु-कार्यहरु छन्, यिनीहरुको अन्त्य गर्नको लागि राजनीतिमा युवापुस्ता आउन जरुरी छ। नेपालमा राजनीतिक अस्थिरता छ, अराजकता छ, सामान्य नागरिकले न्याय पाउँदैन, समयमा उपचार पाउँदैन, हरेक निकायमा भ्रष्टाचार, बेथिति छ, यो देशमा बालबालिकको भविष्य छैन भनेर विदेशिनु यस्ता समस्याको समाधान होइन। युवा वर्ग एक ठाउँमा आएर एक चोटी यो मुलुकको इतिहासलाई पल्टाउन जरुरी छ।
सबै एकजुट भएर यो व्यवस्था परिवर्तनको लागि अभूतपूर्व वैचारिक लडाइँ सुरू गर्न जरुरी छ। ताकि मुलुकको अस्तित्व रहोस्, नेपाली जनताको गुमेको पहिचान फिर्ता आओस्। मुलुक सामान्य तरिकाले सुधार हुने स्थितिमा छैन। मुलुक भ्रष्टाचारी, दलाली, देशद्रोहीको हातमा परिसकेको छ। यिनीहरुको हातबाट मुलुकलाई मुक्त गर्नको लागि देशभक्ति युवा शक्तिको जमात राजनीतिमा आउनबाहेक अरु विकल्प छैन। किनभने जति शिक्षित, सभ्य भएपनि राजनीतिभन्दा बाहिर रहेर गरेको योगदानले परिवर्तन ल्याउँदैन। परिवर्तनको बाटो भनेको व्यवस्था परिवर्तनबाहेक अर्को विकल्प छैन। नेपाल र नेपाली साध्य भनेकै व्यवस्था परिवर्तन हो।
(लेखक शेरचन साहित्य र कानूनको विद्यार्थी हुन्)