यस्तो छ नेपालको बिजुली बङ्गलादेश पुग्ने ‘बाटो’

Break n Links
Break n Links

बर्षौंदेखि प्रतीक्षारत एउटा सम्झौतामा बङ्गलादेश, नेपाल र भारतले हस्ताक्षर गरेका छन्। खासगरी नेपालले बङ्गलादेशलाई बिजुली बेच्ने यो सम्झौतालाई ‘बाटो’ दिनका लागि भारत पनि यो सम्झौताको पक्षधर भएको छ। 

हालका लागि नेपालले ४० मेगावाट बिजुली बङ्गलादेशलाई बेच्नेछ। नेपालले बेच्ने र बङ्गलादेशले किन्ने यो बिजुलीलाई भने भारतीय प्रशारण लाइन हुँदै त्यहाँसम्म पुर्‍याइनेछ। अहिलेका लागि ४० मेगावाटसम्म बिजुली किनबेचको यो सम्झौताले आगामी दिनमा नेपालका लागि दक्षिण एशियामै विद्युत ब्यापारको बाटो भने अझ फराकिलो भएको छ। त्यसकारण उर्जा ब्यापारको क्षेत्रमा नेपालका लागि यो एउटा रणनीतिक सम्झौताका रुपमा पनि लिइएको छ। 

बिहीबार काठमाडौंमा एउटा भव्य समारोहबीच तिन पक्षका प्रतिनिधिहरूले सम्झौतामा हस्ताक्षर गरेका छन्। यो सम्झौतापत्रमा दुबै देशका उर्जामन्त्रीहरूको रोहबरमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, बङ्गलादेश पावर डेभलपमेन्ट बोर्डका अध्यक्ष मोहमद रिजाउल करिम र भारतको विद्युत व्यापार निगम (एनभिभिएन)का प्रमुख कार्यकारी अधिकृत रेणु नाराङले हस्ताक्षर गरेका छन्। 

नेपाल विद्युत प्राधिकरणले भारतीय विद्युत ब्यापार एजेन्सी एनभिभिएनलाई उपलब्ध गराएको बिजुली आफ्ना संरचनाहरूको प्रयोग गरी बङ्गलादेश पुर्‍याइदिनेछ। भारतमा मुजफ्फरपुर प्रशारण लाइनबाट नेपालको बिजुली भारत पुग्नेछ। यो भनेको नेपाल र भारतबीच पहिलो अन्तरदेशीय प्रसारण लाइन हो। त्यसपछि भारतको बेहरामपुर– भेडामारा (चार सय केभी ) प्रशारण लाइन हुँदै त्यो बिजुली बङ्गलादेश पुग्नेछ।

हाल नेपाल विद्युत प्राधिकरणले २५ मेगावाट क्षमताको त्रिशूली र २२ मेगावाट क्षमताको चिलिमे जलविद्युत् आयोजनाको बिजुली बङ्गलादेश निर्यात गर्दैछ। यी दुबै आयोजनाको बिजुली भारत निर्यातका लागि यसअघि नै स्वीकृत भइसकेको छ। 

प्राधिकरणले हरेक वर्ष वर्षायामका छ महिना अर्थात् जुन १५ देखि नोभेम्बर १५ सम्म बङ्गलादेशलाई बिजुली दिनेछ। यो बीचमा लगभग एक लाख ४४ हजार मेगावाट विद्युत पुग्नेछ। मध्यकालीन यो सम्झौताअनुसार बङ्गलादेशले प्रतियुनिट नौ रुपैयाँ ३० पैसा नेपाललाई तिर्नुपर्छ। 

योसँगै नेपाल विद्युत प्राधिकरण र बङ्गलादेशको पावर डेभलपमेन्ट बोर्डबीच संयुक्त कम्पनी स्थापना गर्नेसम्बन्धी संयुक्त उपक्रम सम्झौता आगामी सचिवस्तरीय संयन्त्रको बैठक अगावै टुङ्गो लगाउने सहमति भएको छ। त्यस्तै नेपाल र बङ्गलादेशबीच विद्युत् व्यापारका लागि प्रस्तावित अन्तरदेशीय प्रसारण लाइनको प्राविधिक र आर्थिक पक्षको अध्ययन हुने भएको छ। नेपालको जलविद्युत् क्षेत्रमा लगानी प्रवर्द्धनका लागि बङ्गलादेशको निजी क्षेत्रलाई आकर्षित गर्न आवश्यक पहल गर्ने तथा नेपाल, बङ्गलादेश र भारतबीच विद्युत् व्यापार, अन्तरदेशीय प्रसारण लाइन निर्माणलगायत विद्युत् क्षेत्रमा सहकार्यका लागि द्विपक्षीय बैठकमा त्रिपक्षीय संयन्त्र बनाउने सहमति पनि भएको छ। 

यसअघि नै बङ्गलादेशले सन् २०४० सम्म नेपालबाट करिब नौ हजार मेगावाट बिजुली किन्ने घोषणा गरिसकेको थियो। नेपाल र भारतबीच पनि १० वर्षमा १० हजार बिजुली निर्यात गर्नेसम्बन्धी दीर्घकालीन सम्झौता भइसकेको छ। नेपालले हालसम्म भारतलाई मात्रै बिजुली बेच्दै आएको थियो। 

भिडियाे :

प्रकाशित मिति: : 2024-10-03 20:27:00

प्रतिकृया दिनुहोस्