मुटुलाई जोगाउन के गर्ने?

Break n Links
Break n Links

मुटु रोग वा सम्बन्धित आर्टरीका कारण विश्वमा करिब दुई करोड मानिसको वार्षिक मृत्यु हुन्छ। नेपालमा करिब ३० हजारले वार्षिक रुपमा ज्यान गुमाउने गरेको तथ्यांकहरु आउने गरेका छन्। तर खानापान र दैनिक जीवनशैलीमा परिवर्तन गर्न सके मुटु रोगबाट बच्न सकिन्छ।

सुरुमा त मान्छेले मुटुलाई माया गर्नुपर्छ। यदि मुटुलाई माया गर्न सिक्यौँ भने यसको सुरक्षा आफैँ हुन्छ। मान्छेहरुले आफ्नै मुटुलाई माया गर्दैनन्। मुटुको सुरक्षा चेतनाबाट सुरु हुन्छ। आत्मैबाट मुटुलाई माया गर्न सुरु गर्नुपर्दछ। मुटुलाई माया गर्छु भन्न थाल्नुभयो भने मुटुमा परिवर्तन त्यहीँबाट सुरु हुन्छ। यसलाई वैज्ञानिक रुपमा त प्रमाणित गर्न सक्दिनँ तर यो आध्यात्मिक कुरा पनि हो।

मुटुलाई चाहिने मुख्यगरी तीनवटा कुरा हो–चिन्तन, आहार र व्यायाम। तीन कुरामा राम्रो गर्नुभयो भने तपाईंको मुटु स्वस्थ रहन सक्छ। हामीले अण्डा हरेक दिन खानुपर्छ भनेर सुनेको हो अलि ठुलो हुँदै गएपछि अण्डाको पहेँलो भागमा तेल बढी हुन्छ, खानुहुँदैन भन्ने पनि सुनियो। यस्तो सुन्दै म पनि जवान भएको हुँ।

अण्डाको पहेँलो भाग पनि ठिकै हो भन्ने सुन्न थालेको छु। मैले यहाँ भन्न खोजेको सबै कुरा समयानुसार परिवर्तन हुँदै जान्छ। त्यसैलाई अनुसरण गर्दै लाइफ स्टाइल परिवर्तन गरौँ। तर चिन्तन चाँही जहिले पनि सकारात्मक राख्नुपर्छ। खाना परिवर्तन भएपनि चिन्तन परिवर्तन हुनुहुँदैन। आहारको पूर्वी चिन्तन एकदम राम्रो छ।

हामीले शरीरलाई धेरै नै माया गर्नुपर्छ भनेर त्यहीबाट सिकाइएको हुन्छ। मान्छेले जे खाएपनि पचाउनैपर्छ भन्ने चिन्तन छ। धेरै समयसम्म शरीरमा केही पनि राख्नुभयो भने त्यो गन्हाउँछ, त्यसले रोग निम्त्याउँछ। मुटुमा त्यही हो। चिल्लोहरु पचाउन धेरै समय लाग्ने पचाउन धेरै समय बिताउनुपर्ने भएका कारण चिल्लो कम खान चिकित्सकहरुले सल्लाह दिँदै आएका छन्।

दुर्गन्धित वा औद्योगिक क्षेत्र नजिक बस्नेहरुको मुटु तुलनात्मक रुपमा बढी विग्रिन्छ। मुटुसम्बन्धि रोग महिलाको तुलनामा पुरुषलाई बढी हुन्छ। पुरुषहरु धेरै बाहिर बस्ने, धेरै गाह्रो कामहरु गर्ने, महिलाको तुलनामा अलि बढी खटिने भएका कारण पुरुषहरुमा अलि बढि रोग लाग्न लागेको हो। वातावरण एउटै हो भने महिला र पुरुषहरुमा उस्तै उस्तै हो। बनावटले खासै फरक पार्दैन।

मुख्यगरी धूम्रपान वा सुर्तीजन्य पदार्थको सेवन, उच्च रक्तचाप, मधुमेह, व्यायाम र योग कमी, अनावश्यक तनाव लिने बानी, फलफूल नखाने बानी, खानामा नुनको मात्रा बढी, चिनीको बढी सेवन, कार्बोहाइड्रेटजन्य खानेकुरा बढी खाने, कम सुत्ने बानी आदिले मुटुलाई असर पर्ने भएकाले यसतर्फ ध्यान दिनु जरुरी छ।

नेपालले सबै नराम्रो कुराहरुमा विश्वमै हामीले लिड गरिरहेका छौं। मुटु, फोक्सो, क्यान्सर रोगका बिरामीहरु अलि बढी नै रहेका छन्। डाइबिटिज मुटुका लागि घातक हो। डाइबिटिज भएको बिरामी डाइबिटिज नभएको बिरामीभन्दा ३३ प्रतिशतदेखि ४० प्रतिशतले हाइ रिस्क हुन्छ। त्यसैले मैंले यहाँ भन्न खोजेको कुरा मानिसहरुले मुटुको माया गरे पुग्छ। यसका लागि खानापान, जीवनशैली र अध्यात्मलाई बढी ध्यान दिए हुन्छ।

(कार्डियोभास्कुलर सर्जन एवम मुटु रोग विशेषज्ञ डा.शाहसँग गरिएको कुराकानीमा आधारित)

प्रकाशित मिति: : 2024-08-29 13:06:00

प्रतिकृया दिनुहोस्