सरकारकाे आलाेचना गर्दा प्रचण्डमाथि खनिए एमाले सांसद

Break n Links
Break n Links

प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारकाे आलाेचना गर्दा नेकपा एमालेका सांसद रघुजी पन्त आक्राेशित भएका छन्। 

प्रतिनिधिसभाको मंगलबारको बैठकलाई सम्बोधन गर्दै उनले सरकारकाे आलाेचना गरेपछि सांसद पन्तले आक्राेशित भएका हुन्। 

उनले संसदीय प्रणालीअनुसार सय दिन नपुगी सरकारकाे आलाेचना गर्न नपाउने दाबी खगरे।

‘संसदीय प्रणाली भएका मुलुकहरूमा सामान्यतया प्रमुख प्रतिपक्ष दलकाे नेताले संसदमै उभिएर सयदिन नपुगीकन सरकारकाे हत्तपत्त आलाेचना गर्दैन। याे संसदीय प्रणालीकाे स्थापित मान्यता हाे। संसदीय प्रणालीलाई स्विकार्ने हाे भने, हाम्राे संविधानलाई स्विकार्ने हाे भने याे नेपालकाे संसदमा पनि चलिआएकाे प्रथा हाे। याे संविधानमा लेखिराख्ने कुरा हाेइन। नियमावलीमा लेखिराख्ने  कुरा हाेइन तर  प्राक्टिसले स्थापित गरेकाे नजिर हाे। आज दुखका साथ भन्नुपर्छ उहाँ (प्रचण्ड)ले याे नजिर ताेड्नुभएकाे छ’, पन्तले भने।

प्रचण्डले कांग्रेस-एमालेलाई लेखा समितिको सभापति मात्र होइन, प्रमुख प्रतिपक्षी दलको नेता पनि आफैसँग आग्रह गरेपछि त्यसकाे जवाफमा सांसद पन्तले त्यो पद माओवादीलाई दिएको भन्दै प्रचण्डलाई त्यो पद नचाहिने भए अर्को नेता जनार्दन शर्मालाई दिन सुझाव दिएका थिए।

उनले भने, ‘संविधान त पढ्नुस् नेता ज्यु। प्रमुख पद तपाईंले खोजेर हामीले खोजेर पाउने पद होइन। संविधानले तपाईंको पार्टीलाई दिएको छ,’ उनले भने,‘आफूलाई नचाहिए छेउमै जनार्दनजी (जनार्दन शर्मा) हुनुहुन्छ उहाँलाई दिनुस्।’

पन्तले सामान्यतया प्रतिपक्षी दलले नयाँ सरकार बनेको सय दिनसम्म सरकारको आलोचना नगर्ने परम्परा रहेको उल्लेख गर्दै प्रचण्डले त्यो परम्परा तोडेको आरोप लगाए।

साथै सांसद पन्तले प्रचण्डकै कारणले देशले अस्थिरता भोगेको आरोप लगाउदै भने, ‘चाहिँदैन सत्ता भन्नुहुन्छ, चाहिँदैन सत्ता भन्नुहुन्छ। हिजो तीनचोटी घरी यता घरी उता, जता सत्ता उतै प्रचण्ड भन्ने व्यक्ति तपाईं होइन? यो कुरा संसदभित्र स्थापित गर्ने व्यक्ति को? तपाईं स्वयम् होइन। तपाईंका कारण यो देशले अस्थिरता भोगेको होइन?'

प्रकाशित मिति: : 2024-08-27 15:24:00

प्रतिकृया दिनुहोस्