पूर्वमुख्यमन्त्री कार्कीले मन्त्रालयका सचिवलाई कुटपिट गर्ने धम्की दिएको आरोप

Break n Links
Break n Links

कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीमाथि सामाजिक विकास मन्त्रालयका सचिव लक्ष्मीप्रसाद भट्टराईलाई कुटपिट गर्ने धम्की दिएको आरोप लागेको छ।

सचिव भट्टराईले साेमबार साँझ ४ बजेर ५३ मिनेटमा आफू मन्त्रालयमा काम गरिरहेकाे बेला पूर्वमुख्यमन्त्री कार्कीले फोन गरेर कुटपिट गर्ने धम्की दिएको आरोप लगाएका हुन्।

उनले आफूमाथि कुटपिट गर्ने धम्की आएकाे भन्दै जिल्ला प्रशासन कार्यालय मोरङमा निवेदनसमेत दिएका छन्।

भट्टराईले नेपाली कांग्रेसका नेतासमेत रहेका कार्कीले विराट गोल्डकपको विषयलाई लियर धम्की दिएको उल्लेख गरेका छन्।

‘मिति २०८१-०४-०७ गते अपरान्ह ४.५३ (चार बजेर त्रिपन्न मिनेट) बजे मन्त्रालयमा कामकाज गरिरहेका बेला कोशी प्रदेशका पुर्व मुख्यमन्त्री तथा वर्तमान प्रदेश सभा सदस्य माननीय केदार कार्कीज्यूले... नम्बरको मोबायल नम्बरबाट मलाई फोन गरी बिराट गोल्डकपको विषयलाई लियर तथानाम गाली गलौज (मातृका यादवले सचिवलाई कुटेर शौचालयमा थुनेको यादै होला, म पनि तंलाई मन्त्रालयमा आएर कुटछु, शौचालयमा थुन्छु लगायतका धम्की र गाली गलौज) गर्नुभयो’, उनले निवेदनमा भनेका छन्।

सचिव भट्टराईले यो अवस्थामा मन्त्रालयमा बसेर कामकाज गर्न नसक्ने अवस्था भएकाले आफ्नाे जिउ ज्यानको सुरक्षासहित आवश्यक शान्ति सुरक्षाको व्यवस्था गरी कार्यालयमा बसेर काम गर्ने अवस्था मिलाइदिन अनुरोध गरेका छन्।

‘मलाई फोनमार्फत गालिगलौज र कुटपिट गर्ने धम्की दिने निज केदार कार्कीलाई आज मिति २०८१-०४-०७ गते ४.५३ बजेको... मेरा सम्पर्क नम्बरहरु... र... बिचकाे कल डिटेलका आधारमा प्रचलित कानून बमोजिम कारबाही गर्नुहुन समेत अनुरोध गर्दछु’ , उनले भनेका छन्।

प्रकाशित मिति: : 2024-07-23 14:45:00

प्रतिकृया दिनुहोस्