केपी ओली चौथोपटक प्रधानमन्त्रीमा नियुक्त, शपथ भोलि बिहान

File Photo
File Photo

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली चौथोपटक प्रधानमन्त्रीमा नियुक्त भएका छन्।

राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार संविधानको धारा ७६ (२) बमोजिम ओलीलाई प्रधानमन्त्री नियुक्त गरेका हुन्।

नवनियुक्ति प्रधानमन्त्री ओलीकाे शपथ ग्रहण भने सोमबार बिहान ११ बजे मात्रै हुने राष्ट्रपति कार्यालयले जनाएकाे छ।

राष्ट्रपति पौडेलले शुक्रबार संविधानको धारा ७६ (२) बमोजिम प्रधानमन्त्री पदमा नियुक्त गर्नका लागि दाबी पेश गर्न दुई वा दुईभन्दा बढी दललाई आह्वान गरेका थिए।

कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष ओलीले प्रतिनिधिसभाका १६६ सदस्यको समर्थन भएको उल्लेख गर्दै राष्ट्रपति पौडेलसमक्ष शुक्रबार राति नै प्रधानमन्त्री पदमा दाबी पेस गरेका थिए। राष्ट्रपतिले उनलाई आज प्रधानमन्त्री नियुक्त गरेका हुन्।

ओली पहिलो पटक २०७२ असोज २५ गते प्रधानमन्त्री बनेका थिए भने दोस्रो पटक २०७४ फागुन ३ गते प्रधानमन्त्री नियुक्त भएका थिए। त्यस्तै उनी तेस्रो पटक २०७८ वैशाख ३० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए।

तत्कालीन पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले शुक्रबार नै संसदमा विश्वासको मत प्राप्त गर्न नसकेपछि सरकार ढलेको थियो। त्यसपछि राष्ट्रपति पौडेललेप्रधानमन्त्रीमा दाबी पेश गर्न आह्वान गरेका हुन्।

प्रकाशित मिति: : 2024-07-14 17:14:00

प्रतिकृया दिनुहोस्