५६७ दिनमा ढल्यो प्रचण्ड सरकार

Break n Links
Break n Links

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार ५६७ दिनमा ढलेको छ। पाँचौँ पटक विश्वासको मत लिँदा उनलाई संसदले प्रधानमन्त्रीका रुपमा विश्वास गरेन। 

शुक्रबार संविधानको धारा १०० को उपधारा २ बमोजिम विश्वासको मत मागेका प्रचण्डको पक्षमा ६३ र विपक्षमा १९४ मत पर्‍यो। तटस्थ १ मत रहेको छ। कुल मत २५८ खसेको थियो।

२७५ सदस्यीय प्रतिनिधिसभामा बहुमतका लागि १३८ मत चाहिन्छ। प्रचण्डले १३८ मत प्राप्त गर्न नसकेपछि उनको सरकार ढलेको छ। अब उनी काम चलाउ प्रधामन्त्री भएका छन्। 

उनी ११ पुस ०७९ मा तेस्रो पटक प्रधानमन्त्री नियुक्त भएका थिए। 

तेस्रो कार्यकालका लागि प्रचण्डले पहिलो पटक २६ पुसमा विश्वासको मत लिँदा अभूतपूर्व समर्थन पाएका थिए। उनको पक्षमा संसदको २६८ जनाले मतदान गरेका थिए। 

उक्त समयमा प्रचण्डलाई मत नदिनमाे जनमोर्चा र मजदुर किसान पार्टीका गरी २ जना मात्र थिए। काँग्रेस, एमालेसहित स्वतन्त्र सांसदलेसमेत पहिलो पटक विश्वासको मत दिएका थिए। 

यस्तै प्रचण्डले दोस्रो पटक ६ चैत २०७९ मा संसदमा विश्वासको मत मागेका थिए। उक्त समयमा १७२ मत पाए। तेस्रो पटक ३० फागुन २०८० र चौथो पटक ७ जेठमा विश्वासको मत लिँदा समान १५७ मत पाएका थिए।

यस पटक काँग्रेस–एमाले मिलेर सकार बनाउने सहमति भएसँगै प्रचण्डले विश्वासको मत पाएनन्। यस पटक प्रचण्डको पक्षमा माओवादीका ३२, रास्वपाको २१ र नेकपा एकीकृत समाजवादीका १० गरी ६३ जनाले मात्र मतदान गरे। 

५६७ हुनुपर्नेमा अन्यथा भएकाले सच्याइएको छ– सम्पादक

प्रकाशित मिति: : 2024-07-12 17:15:00

प्रतिकृया दिनुहोस्