प्रचण्डलाई विश्वासको मत दिन रवि लामिछानेको ह्विप

Break n Links
Break n Links

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिन ह्विप जारी गरेको छ।

शुक्रबार बिहान बसेको पार्टी संसदीय दलको बैठकले प्रचण्डलाई विश्वासको मत दिन ह्विप जारी गरेको हो।

रास्वपा अहिले सरकार छ। पार्टी सभापति रवि लामिछाने गृह, सुमना श्रेष्ठ शिक्षा र विराजभक्त श्रेष्ठ खेलकुद मन्त्री छन्। 

प्रधानमन्त्री प्रचण्डले शुक्रबार विश्वासको मत लिँदैछन्। प्रमुख सत्ता साझेदार दल नेकपा एमालेले असार १९ गते सरकारलाई दिएको विश्वासको मत फिर्ता लिएपछि उनी संसदबाट विश्वासको मत लिन लागेका हुन्। 

यद्यपि संसदका दुई ठुला दल नेपाली काँग्रेस र एमाले मिलेर सरकार बनाउने तयारी गरेपछि प्रचण्डले विश्वासको मत नपाउने देखिएको छ। 

२७५ सदस्यीय प्रतिनिधिसभामा बहुमतका लागि १३८ मत चाहिन्छ। अहिले प्रचण्डसँग माओवादीको ३२, रास्वपाको २१ र नेकपा एकीकृत समाजवादीको १० गरी ६३ मत मात्र रहेको छ।

विपक्षमा काँग्रेसका ८८ र (एक निलम्बित)सहित एमालेका ७९, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का ४, राप्रपाको १४, जसपाको ७, जसपा नेपालको ५, जनमतको ६, नागरिक उन्मुक्तिका ४ जना छन्। 

जनमोर्चा, नेमकिपा, आम जनता पार्टीका १/१ र दुई स्वतन्त्र गरी पाँच सांसद भने तटस्त बस्ने वा पक्ष वा विपक्षमा मतदान गर्ने भन्ने अहिलेसम्म निर्णय गरेका छैनन्। 

प्रकाशित मिति: : 2024-07-12 11:12:00

प्रतिकृया दिनुहोस्