मोदीकाे रुस भ्रमण: पश्चिमी देशहरू असन्तुष्ट

Photo - .energyintel
Photo - .energyintel

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सोमबार साँझ मस्को पुगेका छन्। रुसी राष्ट्रपति पुटिनको निजी निवास नोभो ओगार्योभोमा दुई नेताबीच अनौपचारिक भेटवार्ता भएको थियो।

मंगलबार मोदीले भारतीय समुदायलाई सम्बोधन गरे र २२औँ भारत–रुस वार्षिक शिखर सम्मेलनमा भाग लिए। मस्कोमा २६ घण्टा बसेपछि प्रधानमन्त्री मोदी अस्ट्रिया प्रस्थान गरेका छन्।

रुस–युक्रेन युद्ध सुरु भएपछि प्रधानमन्त्री मोदीको यो पहिलो रुस भ्रमण थियो, जसमा सारा विश्वको नजर थियो। प्रधानमन्त्री मोदीको भ्रमणलाई पश्चिमी र चिनियाँ मिडियाले पनि चासो राखेका थिए। द न्यूयोर्क टाइम्स, द गार्जियन, बीबीसी, भ्वाइस अफ अमेरिका, ग्लोबल टाइम्स र द वाशिङटन पोस्टले भारतीय प्रधानमन्त्रीको रुस भ्रमणलाई प्रमुख रूपमा कभर गरेका छन्।

अमेरिकी अखबार द न्यूयोर्क टाइम्सले लेखेको छ, ‘प्रधानमन्त्री मोदीको मस्को भ्रमणले पुटिनलाई अलग गर्ने प्रयासलाई कमजोर बनाएको छ। योसँगै युक्रेनको आक्रोश पनि बढेको छ।’

तेस्रो पटक प्रधानमन्त्रीमा निर्वाचित भएपछि मोदीको यो पहिलो द्विपक्षीय भ्रमण हो। सार्वजनिक भएका तस्विरमा मोदीले पुटिनलाई अँगालो हालेको देखिन्छ। अहिले एउटा भिडियो भाइरल छ, जसमा पुटिनले मुस्कुराउँदै मोदीलाई आफ्नो ‘सबैभन्दा प्यारो साथी’ भनेका छन्।

नाटो देशहरूले युक्रेनमाथि मस्कोको कारवाहीको कडा निन्दा गरेपनि भारतीय प्रधानमन्त्री मोदीले आजसम्म पुटिनको स्पष्ट शब्दमा आलोचना नगरेको बीबीसीले जनाएको छ।

पश्चिमा राष्ट्रहरूले रुसमाथि विभिन्न नाकाबन्दी लगाएर कमजोर पार्न खोजिरहँदा पुटिनचाहिँ भारतीय र चिनियाँ नेताहरूसँग सम्बन्ध सुदृढ गर्न व्यस्त छन्।

त्यस्तै, ‘भ्वाइस अफ अमेरिका’ले मोदीको भ्रमणपछि पश्चिमा देशहरूले रुसमाथि लगाएको प्रतिबन्धको ‘कुनै अर्थ नभएको सन्देश दिन खोजेको’ बताएको छ। कतिपय विश्लेषकहरूले मोदी र पुटिनबीचको भेटको समयलाई पनि विशेष ध्यान दिएका छन्। ‘यो यस्तो बेला भएको छ, जब वासिङ्टनमा नेटो शिखर सम्मेलन चलिरहेको छ,’ पत्रिकाले लेखेको छ।

बेलायती अखबार द गार्डियनका अनुसार युक्रेन संकटका बाबजुद मोदी र पुटिनले आफ्नो मित्रतालाई अझ मजबुत बनाएका छन्।

सोमबार राति भएको कुराकानीमा मोदीले पुटिनलाई शान्तिको बाटो युद्धको मैदानबाट नआउने सल्लाह दिएपनि मोदीको भनाइले पुटिनको महत्वाकांक्षामा कुनै प्रभाव नपार्ने पत्रिकाको ठहर छ।

चिनियाँ पत्रिका ग्लोबल टाइम्सले रुससँग भारतको गहिरो सम्बन्धलाई लिएर पश्चिमी देशहरू बढी चिन्तित देखिएको जनाएको छ। सिचुआन इन्टरनेशनल स्टडीज युनिभर्सिटीका प्रोफेसर लङ जिङचुनले अखबारमा लेखेका छन्, ‘चीनले रुस–भारत घनिष्ठ सम्बन्धलाई खतराको रुपमा देख्दैन। तर पश्चिमी देशहरूचाहिँ असन्तुष्ट देखिन्छन्।’

पश्चिमी देशहरूले भारतलाई ‘पश्चिमी क्याम्प’मा तान्न र चीनको प्रभावलाई सन्तुलनमा राख्न अनेकौँ प्रयास गरेका छन्।

अमेरिकी पत्रिका ‘द वाशिङटन पोस्ट’ले प्रधानमन्त्री मोदीको मस्को भ्रमणलाई लिएर अमेरिकी दबाबका बाबजुद पनि भारतले रुससँग आफ्नो बलियो सम्बन्ध कायम राखेको उल्लेख गरेको छ।

सत्तामा आएको एक महिना नबित्दै भारतीय प्रधानमन्त्री मोदीले तेस्रो पटक रुसको भ्रमण गरेका छन्। उनको यो भ्रमणलाई पश्चिमी मिडियाले ज्यादै चासो राखेकाे देखिन्छ।

प्रकाशित मिति: : 2024-07-10 10:55:00

प्रतिकृया दिनुहोस्