मधेस माओवादीमा भाँडभैलो

मधेस प्रदेशको माओवादी भित्र भाँडभैलो भएको छ। बहुमत सांसदले संसदीय दलका नेता भरतप्रसाद साहलाई संसदीय दलको नेताबाट हटाउन प्रस्ताव पेश गरेपछि भाँडभैलो भएको हो। 

संसदमा रहेका ९ जनामध्य ६ जनाले साहलाई संसदीय दलको नेताबाट हटाउन संसदीय दलमा प्रस्ताव पेश गरेका हुन्। जसमा प्रमुख सचेतक फकिरा महतो, जवाहर लाल कुशवाह, रजी हैदर, सुनिता यादव, मालाकुमारी कर्ण र रहबर अन्सारी रहेका छन्। 

उनीहरूले मंगलबार उपनेता युवराज भट्टराई समक्ष प्रस्ताव पेश गरेका छन्। जसको तरंग केन्द्रसम्म पर्ने देखिन्छ। अब केन्द्रको निर्देशन के हुने हो त्यसअनुसार संसदीय दलले निर्णय गर्ने नेताहरूले बताएका छन्। 

संसदीय दलका नेता साहले अन्य सांसदहरूलाई हेप्ने, मानमर्दन गर्ने गरेकाले बहुमत सदस्यले अविश्वासको प्रस्ताव पेश गर्नुपरेको प्रमुख सचेतक महतोले बताए। 

‘हामी पनि उहाँजस्तै निर्वाचित सांसद त हो नि। तर उहाँले त्यो मान्नुनै भएन। हामीलाई हेप्ने, मानमर्दन गर्ने गरेकाले उहाँलाई हटाउन सबै लागेका हौँ’, उनले बिएल नेपाली सेवासँग भने। 

उनले दलका नेता साहले यसअघि अर्थमन्त्री हुँदा बजेट आफ्नो निर्वाचन क्षेत्रमा मात्र लगेको, अन्य सांसदले भनेको कुरा सुन्दै नसुनेको, भएको बजेट पनि कटौति गरेको र दोष कर्मचारीलाई दिएकाले हटाउने पक्षमा बहुमत सांसदहरू रहेको बताए। 

सचेतक महतोले अबको १५ दिनपछि उपनेता भट्टराईले संसदीय दलको बैठक बोलाउने र त्यहाँबाट निर्णय हुने बताए। 

‘प्रचण्डको आदेश नआएसम्म साहलाई हटाउने कुरा हुँदैन’

बहुमत सांसदले दलको नेताबाट साहलाई हटाउने प्रस्ताव पेश गरिसकेको समयमा बाँकी सांसदहरू भने पार्टी अध्यक्ष प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आदेशविना केही नहुने बताउँछन्। 

साह पक्षकी सांसद शारदा दास (पहाडी)ले बहुमत सांसदले जेजे आरोप लगाएका छन् ती सत्य नभएको बताइन्। ‘उहाँहरूले जे आरोप लगाउनु भएको छ, मलाई त्यस्तो लाग्दैन। उहाँहरूको आरोप गलत हो’, उनले बिएल नेपाली सेवासँग भनिन्, ‘माननीय सुनिता यादव पनि हिजो मन्त्री हुनुहुन्थ्यो उहाँले के गर्नुभयो के गर्नुभएन छरपस्ट आएकै कुरा त हो नि। आज भरतप्रसाद साह मन्त्री हुँदैमा गलत हुने भन्ने हुँदैन नि।’

उनले यहाँ ६ जनाले मात्र हटाउँछु भनेर नहुने बताइन्। ‘हाम्रो माथि हेडक्वाटर (केन्द्रको निर्णय)बाट हुने हो। त्यहाँबाट पिएम (प्रधानमन्त्री तथा पार्टी अध्यक्ष प्रचण्ड)ले जे भन्नु हुन्छ त्यही हुँन्छ’, उनले भनिन्। 
 

प्रकाशित मिति: : 2024-07-09 18:15:00

प्रतिकृया दिनुहोस्