ओलीलाई माओवादी सांसदकाे प्रश्न- कुन उद्देश्यले यो सहकार्य तोड्नुभयो? (भिडियाे)

Break n Links
Break n Links

नेकपा माओवादी केन्द्रले नेकपा एमालेले सहकार्य ताेडिएकाेबारे जवाफ दिनुपर्ने माग गरेको छ।

मंगलबार प्रतिनिधिसभाको बैठकमा बाेल्दै माओवादी सांसद लेखनाथ दाहाल (राजन) ले चार महिना अगाडि एमाले अध्यक्ष केपी शर्मा ओलीकै प्रस्तावमा सत्ता सहकार्य सुरू गरिएकाे उल्लेख गर्दै अहिले के कारणले तोडिएकाे भन्दै प्रश्न गरे।

‘चार महिना अगाडि कमरेड केपी ओलीकै पटक पटकको प्रस्तावमा नेपालमा कम्युनिष्ट जनमतमा उर्जा थप्नुपर्याे, कुनै पनि राजनीतिक र रणनीतिक हिसाबले हामी एक ठाउँमा उभिनुपर्छ भन्ने प्रस्तावलाई कमरेड प्रचण्डले स्विकार्नु भयो, विश्वास गर्नुभयो। त्यही विश्वासकाे जगमा सत्ता सहकार्य अगाडि बढेको थियो’, उनले भने, ‘मैले यही मञ्जबाट प्रश्न गर्नुपर्छ कमरेड केपी ओलीलाई, यहाँले जुन उद्देश्यले सहकार्य सुरू गर्नुभयो, अहिले कुन उद्देश्यसँग केन्द्रित भएर यो सहकार्य तोड्नुभयो? के कारणले हामीले सहकार्य सुरू गर्याैँ, के कारणले हाम्रा समीकरणहरू भत्किए?’

सांसद दाहालले भ्रष्टाचारविरूद्धकाे अभियान सञ्चालन गर्दै जाँदा बेचन झा र प्रतिक थापाकाे गिरफ्तारी भएकाे कारणले सहकार्य टुट्याे हाे? भन्दै प्रश्न गरे।

बेचन झाबारे बालकाेटा र बूढानीलकण्ठलाई थाहा भएकाे भन्दै बेचन झाकाे गिरफ्तारी पछि फेरि पनि उनकाे बयान नलिन भनिएकाे उनले दाबी गरे।

‘के कारणले सहकार्य टुट्याे? के धिताेपत्र बाेर्डकाे अध्यक्ष नियुक्ति गर्न सकिएन, त्यस कारणले हामीले सहकार्य टुट्याे? भ्रष्टाचारविरूद्धकाे अभियान सञ्चालन गर्दै जाँदा बेचन झा र प्रतिक थापाकाे गिरफ्तारी भयाे, त्यही कारणले सहकार्य टुट्याे? जवाफ त दिनै पर्छ’, उनले भने, ‘बेचन झा काे हुन्? हामीलाई थाा छैन, नेपाली जनतालाई थाहा छ। तर बेचन झा काे हुन् राम्राेसँग बालकाेटालाई पनि थाहा छ, बूढानीलकण्ठलाई पनि थाहा छ। बेचन झाकाे गिरफ्तारी पछि फेरि पनि उनकाे बयान नलिनुस्, उनकाे बयान २८ गतेपछि लिनुस् भन्ने फर्मान जारी भएकाे कुरा बजारमा आएकाे छ।’

यसैगरी सांसद दाहालले नेपाली काँग्रेस र एमालेबीच भएकाे ७ बँदे सहमति सार्वजनिक नगरिएकाे भन्दै आपत्ति जनाए। 

महिनाभित्र सरकारले विश्वासकाे मत लिन पाउने संवैधानिक प्रावधानअनुसार नै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासकाे मत लिन लागेकाे उल्लेख गर्दै उनले यसमा नैतिकताकाे प्रश्न कहाँ भयाे भन्दै प्रश्न गरे।

‘तत्कालै प्रधानमन्त्री नबन्दै सरकारलाई समर्थन गरेकाे दलले समर्थन फिर्ता लिएमा एक महिनाभित्र सरकारले विश्वासकाे मत लिन पाउँछ भन्ने संवैधानिक प्रावधान छ। १७ गते उहाँहरूले प्रतिगामी ७ बँदे सहमति गर्नुभयाे, त्याे बाहिर आएकाे छैन, जनताले थाहा पाएका छैनन्। सहमति के थियाे?’, सांसद दाहालले भने, ‘१७ गते सहमति, १९ गते उहाँहरूले नेकपा एमालेकाे तर्फबाट समर्थन फिर्ता लिनुभयाे, मन्त्रीज्यूहरूले राजीनामा दिनुभयाे। हामीले २८ गते विश्वासकाे मत लिने निर्णय गर्याैँ, कहाँ भयाे नैतिकताकाे प्रश्न? संसद विघटन त गरिएन, एक महिनासम्म त पर्खिएन। त्यस कारण समय अवधिभित्रै विश्वासकाे मत लिने सम्माननीय प्रधानमन्त्रीज्यूलाई यही सदनले स्विकारेकाे छ, सदनलाई प्रधानमन्त्रीज्यूलाई अस्वीकार गर्ने अधिकार पनि छ। त्यस कारण सदनकाे फेस गर्छु भन्नु के अनैतिकता हाे? नैतिकता भनेकाे के हाे?’

प्रकाशित मिति: : 2024-07-09 13:53:00

प्रतिकृया दिनुहोस्