प्रधानमन्त्रीले बहुमत गुमाइसकेपछि धारा-उपधारा खाेज्नुपर्ने कुनै कारण छैन: सांसद गैरे

नेकपा एमालेका सांसद ठाकुरप्रसाद गैरेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बहुमत गुमाएपछि सेकेन्ड पनि सरकारमा बस्ने नहुने बताएका छन्।

सोमबार प्रतिनिधिसभा बैठककाे आकस्मिक समयमा बोल्दै सांसद गैरेले लाेकतान्त्रिक शासन प्रणालीमा सरकारले बहुमत गुमाइसकेपछि कुनै धारा-उपधारा खाेज्नुपर्ने कुनै कारण नभएकाे बताए।

‘सिंगाे भारी वर्षाका कारणले आक्रान्त भएकाे छ। आज देशमा याे तहकाे परिस्थिति बनिरहेकाे बेला सरकारमा बसेका सम्माननीय प्रधानमन्त्रीज्यू धारा-पानी खाेज्दै हुनुहुन्छ, संविधानमा प्वाल खाेज्दै हुनुहुन्छ। याे सरकारलाई फेरि अस्थिरतातर्फ, बेथितितर्फ, विभाजनतर्फ लैजान सकिन्छ कि भनेर प्रयत्न गर्दै हुनुहन्छ’, उनले भने, ‘यही सदनमा पनि अनेकन तर्क-वितर्कहरू गर्ने काेसिस गरिँदैछ। देशमा उत्पन्न समस्या समाधानका लागि लाेकतन्त्र शासन प्रणालीमा सरकार अल्पमतमा परिसकेपछि, सरकारले बहुमत गुमाइसकेपछि कुनै धारा-उपधारा खाेज्नुपर्ने कुनै कारण छैन। त्याे भनेकाे नैतिक रूपले सरकार लाेकतान्त्रिक शासन प्रणालीमा बहुमत गुमाएपछि एक मिनेट हाेइन, सेकेन्ड पनि बस्ने कुरा नैतिक आधार रहँदैन।’

प्रधानमन्त्रीले नयाँ सरकार गठनका लागि सहजता प्रदान गर्नुपर्ने भन्दै सांसद गैरेले भने, ‘देशमा आइपरेकाे विपद्काे बेलामा, देशमा आइपरेकाे संकटकाे बेलामा तत्काल नयाँ सरकार बनाएर याे समस्या समाधान गर्ने प्रक्रियामा अगाडि बढ्नकाे लागि सहजता प्रदान गर्नु राम्राे हुन्छ।’

उनले प्रधानमन्त्रीले तत्काल राजीनामा गरेर मार्ग प्रशस्त गर्न अनुराेध गरे। ‘म दुई वटा आकस्मिक कुरा गर्न चाहन्छु- एउटा, बाढीपहिराेकाे तत्काल समाधान गर्नकाे लागि, त्यसमा उद्दार राहतकाे प्रबन्धकाे लागि, क्षतिपूर्तिकाे लागि, घाइतेहरूकाे उपचारकाे प्रबन्धकाे लागि र अर्काे अल्पमतमा पर्नुभएकाे प्रधानमन्त्रीज्यूले तत्काल राजीनामा गरेर दुई तिहाइ समर्थन प्राप्त भइसकेकाे स्थितिमा सरकार गठन प्रक्रियालाई सहज तुल्याएर मार्ग प्रशस्त गर्नकाे लागि अनुराेध गर्न चाहन्छु’, सांसद गैरेले भने। 

प्रकाशित मिति: : 2024-07-08 11:48:00

प्रतिकृया दिनुहोस्