संसदलाई सम्बाेधन गरेर राजीनामा दिने तयारीमा प्रधानमन्त्री प्रचण्ड

Break n Links
Break n Links

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा दिने भएका छन्।

आइतबार बस्ने प्रतिनिधिसभा बैठकलाई सम्बाेधन गरेर प्रधानमन्त्रीले राजीनामा दिने तयारी गरेकाे उनकाे सचिवालयले जनाएकाे छ।

नेकपा एमाले र नेपाली कांग्रेसबीच नयाँ सत्ता सहकार्य गर्ने सहमति भएपछि एमालेले बिहीबार सरकारलाई दिएको समर्थन फिर्ता लिएकाे थियाे। एमालेले समर्थन फिर्ता लिएपछि प्रचण्ड अल्पमतमा परेका छन्।

प्रधानमन्त्रीले एमालेले समर्थन फिर्ता लिए पनि राजीनामा नदिने र विश्वासकाे मत लिने अडान लिएका थिए। तर एमाले र कांग्रेसले सत्तायात्रा गर्ने सहमति आ-आफ्नाेतर्फबाट अनुमाेदन गरेपछि प्रचण्ड राजीनामा दिनुपर्ने दबाबमा परेका हुन्।

साना दलहरूले पनि नयाँ समीकरणअनुसार बनेको कांग्रेस–एमालेकाे गठबन्धनलाई साथ दिने निर्णय गरिसकेका छन्। यससँगै प्रधानमन्त्री प्रचण्ड थप नैतिक संकटमा परेका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भने प्रधानमन्त्रीले आफूले संसद फेस गर्ने भएकाले अहिले राजीनामा नदिन आग्रह गरेपछि राेकिएकाे छ।

संविधानअनुसार सरकारमा सहभागी दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएको ३० दिनभित्र प्रधानमन्त्रीले संसदमा विश्वासको मत लिनुपर्ने प्रावधान रहेको छ। साेही प्रावधानअनुसार प्रधानमन्त्रीले आफ्नो अधिकार प्रयोग पाउँछन्। तर संसदका अधिकांश दलहरूले प्रधानमन्त्रीकाे साथ छाडेपछि उनी राजीनामा दिनुपर्ने बाध्यात्मक अवस्थामा पुगेका हुन्। 

प्रकाशित मिति: : 2024-07-05 11:41:00

प्रतिकृया दिनुहोस्