दीर्घकालीन असर पर्ने काम नगर्न प्रधानमन्त्री प्रचण्डलाई एमालेकाे ध्यानाकर्षण

File Photo
File Photo

नेकपा (एमाले)ले सरकारलाई दीर्घकालीन असर पर्ने कुनै पनि काम नगर्न/नगराउन ध्यानाकर्षण गरेको छ।

महासचिव शंकर पोखरेलद्वारा आज जारी गरिएको प्रेस विज्ञप्तिमा नेकपा (एमाले)ले विश्वासको मत फिर्ता लिएपछि सरकार स्पष्टतः अल्पमतमा परेको हुँदा दीर्घकालीन असर पर्ने कुनै पनि काम नगर्न/नगराउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को ध्यानाकर्षण गरिएको छ।

‘संसद्का दुई ठुला दल नेकपा (एमाले) र नेपाली कांग्रेसबीच नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन गर्ने समझदारी भएको र वर्तमान सत्ता समीकरणको प्रमुख दल नेकपा (एमाले)ले सरकारलाई दिएको समर्थन फिर्ता लिनुका साथै पार्टीबाट सरकारमा प्रतिनिधित्व गर्ने मन्त्रीहरूले राजिनामा समेत दिइसक्नुभएको अवस्थामा सरकार स्पष्टतः अल्पमतमा परेको अवस्था छ’, प्रेस विज्ञप्तिमा भनिएको छ।

संसदका दुई ठुला दल नेकपा (एमाले) र नेपाली कांग्रेस नयाँ सरकार गठनका लागि सहमत भएको अहिलेको परिस्थितिमा वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत पाउने अवस्था नरहेको हुँदा अल्पमतमा परेको सरकारबाट दीर्घकालीन असर पर्ने काम नगर्न/नगराउन नेकपा (एमाले) सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को ध्यानाकर्षण गर्दछ।

साथै, एमालेले प्रधानमन्त्री प्रचण्डलाई राष्ट्रिय सहमतिको सरकार गठनको प्रक्रियामा सहभागी हुन र सहयोग गर्न पुनः अनुरोध गरेको छ।

प्रकाशित मिति: : 2024-07-04 15:40:00

प्रतिकृया दिनुहोस्