राजीनामा नदिएर के गर्न चाहन्छन् गृहमन्त्री लामिछाने?

नेकपा एमाले–नेपाली काँग्रेसको नयाँ सत्ता समीकरण सहमतिअनुसार एमालेले समर्थन फिर्ता लिएपछि पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार अल्पमतमा परेको छ।

सत्तासीन नेकपा (एमाले)ले बुधबार साँझ सरकारलाई दिएको समर्थन फिर्ता लिएपनि प्रधानमन्त्रीमा तत्काल संवैधानिक संकट छैन। तर उनीमाथि नैतिक संकट भने जरुर छ।

एमाले–कांग्रेसको अग्रसरतामा ‘राष्ट्रिय सहमतिको सरकार’ बनाउने चर्चापछि सानातिना दलहरू तितरबितर भइरहेका छन्। त्यसो त प्रचण्ड नेतृत्वको सरकारमा सहभागी भएका अन्य दलहरूले पनि सरकारलाई दिएको समर्थनबारे क्रमशः निर्णय लिँदैछन्।

एमालेले समर्थन फिर्ता लिएको भोलिपल्ट बिहीबार एकाबिहानै रास्वपाबाट मन्त्री बनेका ४ जना नेताहरू बालुवाटार पुगे। धेरैको अनुमान थियो– रास्वपाले पनि आजै ‘प्रचण्ड सरकार’लाई दिएको समर्थन फिर्ता लिनेछन्।

तर उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने नेतृत्वको मन्त्रीहरूको टोलीले प्रधानमन्त्री प्रचण्डसँग झण्डै डेढ घण्टा भलाकुसारी गरेपनि उनीहरू राजीनामै नदिई घन्टीघर फर्के।

प्रधानमन्त्री प्रचण्डको कन्भिन्सपछि रास्वपा स्थिर बसेको छ। माओवादी स्रोतका अनुसार प्रचण्ड र रविको गम्भीर कुराकानीपछि अब रास्वपा ३० दिन सरकारमै रहनेछ।

सबैतिर चासो छ– एक महिनाको बीचमा रास्वपा सभापतिसमेत रहेका लामिछानेले के गर्छन् भन्ने।

रास्वपा प्रमुख सचेतक सन्तोष परियारले गरेको कुराकानीको आशयअनुसार गृहमन्त्री लामिछानेले प्रधानमन्त्री प्रचण्डलाई संविधानले दिएको अधिकारको ३० दिन गुजार्नुबाहेक कुनै विकल्प हुने छैन।

बालुवाटारमा सहभाागी नेताहरुकाअनुसार लामिछानेले प्रधानमन्त्रीलाई भनेका छन्, ‘तपाईंले संसद फेस गर्नुहुन्छ भने हामी पर्खिन तयार छौँ। तर, छिटो गर्नुहोस्, हामी धेरै समय कुर्न सक्दैनौँ।’

रास्वपाका नेताहरूको राय बुझ्दा सभापति लामिछाने अब सरकारमा धेरै दिन बस्न चाहँदैनन्। उनी जति दिन सिंहदरबार बस्छन्, त्यो दिनसम्म चर्चामै रहन खोज्नेछन्।

नक्कली भुटानी शरणार्थी प्रकरणमा शीर्ष राजनीतिक नेतृत्वसँग कनेक्सन भएका बेचन झा पक्राउ परेपछि नेपाली काँग्रेसभित्र तरङ्ग फैलिएको थियो। झा तिनै पात्र हुन्, जसले काँग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीको सचिवालयमा रहेका कतिपय व्यक्तिको निद हराम गर्न सक्छन्।

गृहमन्त्री लामिछानेले प्रहरी प्रमुख वसन्त कुँवर देशबाहिर रहेका बेला झालाई समाउन लगाएका थिए। अब गृहमन्त्री लामिछानले यो प्रकरणमा मुछिएका ठूला व्यक्तिहरू पनि पक्राउ पर्न सक्ने अनुमान गरिएका बेला काँग्रेस सभापति देउवा दम्पती एमाले अध्यक्ष ओलीको दैलोमा पुगेर सत्ता उलटफेर गरेका थिए।

गृहमन्त्री लामिछानेले नक्कली भुटानी शरणार्थी प्रकरणमा काँग्रेसका माथिल्ला नेताहरूलाई समेत पक्राउ गर्नसक्ने डरले सरकार ढालेको हुन सक्ने चर्चा एक तहमा छ। यही चर्चाका बीच गृहमन्त्री लामिछाने दबाबमा छन्।

यही रफ्तारमा भ्रष्टाचारका ठूला फाइल खोल्छु भनेर तम्सिएका गृहमन्त्री लामिछाने सरकार ढल्ने निश्चित भएपछि अब जतिसक्दो छिटो गृह मन्त्रालय छोड्न चाहन्छन्। यद्यपि, यो बीचमा गृहमन्त्री लामिछानले कतै भ्रष्टाचारका ठुला फाइल खोल्ने त होइनन् भन्ने अनुमान पनि धेरैको छ।

प्रकाशित मिति: : 2024-07-04 12:25:00

प्रतिकृया दिनुहोस्