उहाँ सरकारमा हुँदा ‘कसरी प्रतिवेदनहरु लुकाइन्छ’ भन्ने देखेर बोल्न बाध्य भएँ- मुकुल ढकाल

फाइल तस्विर
फाइल तस्विर

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का निलम्बित महामन्त्री डा. मुकुल ढकालले बाेलेकै आधारमा आफूलाई कारबाही गरिएकाे बताएका छन्।

बुधबार पार्टी केन्द्रीय समितिकाे बैठकले सात दिनका लागि निलम्बन गरेसँगै ढकालले पार्टीमा भएका सत्य कुरा बाेल्दा आफूलाई कारबाही गरिएकाे बताएका हुन्।

‘जनताको आवाज बोल्दा यो पटक रवि लामिछानेको विरूद्ध बोलेको हुन्थ्यो, उहाँ पनि जनताकै पक्षमा होला सोचेर, बोलिदिएँ। जनताको पक्षमा बोल्नपर्छ, सत्य त्यही हो बुझेकाले सत्यको पक्षमा बोलिदिएँ। बोलेकै आधारमा आज मलाई पार्टीले निलम्बन पत्र थमाएको छ’, ढकालले भने।

उनले रवि लामिछाने सरकारमा हुँदा प्रतिवेदनहरु कसरी लुकाइन्छ भन्ने देखेकाे, पार्टी नराम्राे अवस्थामा पुगेर सक्किने अवस्थामा पुगेका कारण कारबाही भए पनि हाेस् भन्ने लागेर सत्य कुरा बाेलेकाे बताएका छन्। ‘मलाई शङ्का लाग्यो, प्रतिवेदनलाई फास्सफुस्स गर्छन्, पार्टी बिग्रिसक्यो, सुधार्दैनन्। जनताको कुरा जस्ताको तस्तै बोलिदिएकोमा आज मलाई कारबाही भएको छ। बालहठ जस्तो होस्, अस्वभाविक लागोस् वा अव्यवहारिक जनताले जसरी बताए त्यसरी नै बताइदिएँ’, ढकालले भने।

उनले अब फेसबुक स्ट्याटसमार्फत आफ्नाे चरित्र हत्या गर्न सक्ने पनि जनाएका छन्। ‘अब उहाँको एउटा फेसबुक स्ट्याटस आउन सक्छ। केही परिचालित व्यक्तिहरू छन्, पक्षमा स्ट्याटसहरू लेख्न लगाउन सक्नुहुन्छ। एकस्टेपअघि बढेर मिडियामा ‘प्रमाणसहित’ यो, त्यो भनेर मेरो चरित्र हत्या हुने गरी केही हल्ला फैलाउने प्रयास गर्नुहुन्छ। आज बैठकमै भनिसक्नु भयो, मिडिया क्षेत्रको हेडमास्टर हो म’, उनले भने।

पूर्णपाठ:

२ वर्षदेखि सभापतिको कुरालाई किन गलत भनिनस् भनेर सोधिन्छ। मलाई लाग्यो उहाँले देश बनाउनु हुन्छ, उहाँको कुरा मान्नुपर्छ। कति कुरा गलत लाग्दा लाग्दै मानिदिएँ, केन्द्रीय समितिको बैठकमा केही कुरा पेलेरै लागू गरिदिएँ। पेल्ने मान्छे म थिएँ वा म केवल एक पात्रको रूपमा थिएँ र त्यसको पछाडि अरू कोही थियो, त्यो आजको बैठकले छर्लङ्ग भएको छ।

प्रचण्डसँग सहमति गरेर आइसकेपछि, मलाई सरकारमा जाने भन्नु भयो। मैले उहाँको आदेशअनुसार प्रस्तुति दिएँ, मैले सोचेँ, मेरो कर्तव्य हो र यो मान्छेले देश बनाउँछ साथ दिनपर्छ। तर, सरकारमा पुगेपछिका कुराहरूका कारण, मलाई शङ्का लाग्यो- यो मान्छेले देश बनाउँछ वा बनाउँदैन।

जनताले जे भने, त्यही बोलिदिए। सोचे, कुर्सीको न्यानोले छोपेको, गाडीको कालो सिसाहरूले घेरिएको हुनुहुन्छ, सचेत गराउनपर्छ। मैले सोचे, नेता होइन, राजनेता बनाउनपर्छ, नेता मात्र त चङ्गुलमा फँसे। विगत लामो समयदेखी परिचित भएकाले, मलाई महामन्त्रीबाट हटाउँछन् भन्ने लागेकै थियो।

पद गौण हो, जनताका कुरा बोलिदिँदा कारबाही भएपनि बोल्नपर्छ लाग्यो र बोले। सरकारमा हुँदा प्रतिवेदनहरू कसरी लुकाइए देखेको मैले, मिडियाबाजी गर्न बाध्य भए। मलाई शङ्का लाग्यो, प्रतिवेदनलाई फास्स फुस्स गर्छन्, पार्टी बिग्रिसक्यो, सुधार्दैनन्। जनताको कुरा जस्ताको तस्तै बोलिदिएकोमा आज मलाई कारबाही भएको छ। बालहठ जस्तो होस्, अस्वभाविक लागोस् वा अव्यवहारिक जनताले जसरी बताए त्यसरी नै बताइदिएँ।

प्रतिवेदन सार्वजनिक भएपछि पढेर विचार गर्नुहोला नै। जनताको आवाज बोल्दा यो पटक रवि लामिछानेको विरूद्ध बोलेको हुन्थ्यो, उहाँ पनि जनताकै पक्षमा होला सोचेर, बोलिदिए। जनताको पक्षमा बोल्नपर्छ, सत्य त्यहि हो बुझेकाले सत्यको पक्षमा बोलिदिएँ। बोलेकै आधारमा आज मलाई पार्टीले निलम्बन पत्र थमाएको छ।

अरू पनि भनिदिऔँ, अरू के के गर्नुहुन्छ अब भनेर। अब उहाँको एउटा फेसबुक स्ट्याटस आउन सक्छ। केहि परिचालित व्यक्तिहरू छन्, पक्षमा स्ट्याटसहरू लेख्न लगाउन सक्नुहुन्छ। एकस्टेप अघि बढेर मिडियामा ‘प्रमाण सहित’ यो , त्यो भनेर मेरो चरित्र हत्या हुने गरी केहि हल्ला फैलाउने प्रयास गर्नुहुन्छ। आज बैठकमै भनिसक्नु भयो, मिडिया क्षेत्रको हेडमास्टर हो म।

सबै प्रकारका प्रश्नहरूको जवाफ, आरोपहरूको जवाफ दिन सक्छु। पर्यो भने ‘लाई डिटेक्सन टेस्ट’ दिन पनि तयार छु। पदीय मर्यादामा रहँदा केही राजनीतिक व्यक्तिको नाताले गरेको छु, त्यो पनि आदेशले, हल्ला फैलाउने हो भने डिफेन्सका लागी म तयार छु।

त्यसपछि, पत्रकारहरूको प्रश्नमा उहाँले जवाफ दिनुहुन्छ, कहाँ मैले कारबाही गरेको, सम्पूर्ण केन्द्रीय समिति सदस्यको मतले कारबाही गरेको। मैले लोकतन्त्र मान्नपर्छ, पार्टीको विधि, पद्धति मान्न पर्छ। फेरि विधान उहाँ महामन्त्री आफैँले लेखेको।’

प्रकाशित मिति: : 2024-07-04 06:56:00

प्रतिकृया दिनुहोस्