‘काँग्रेस–एमाले मिलेर माओवादी द्वन्द्वपछि प्राप्त उपलब्धि नामेट पार्ने चलखेल हुँदैछ’

File Photo
File Photo

नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले नेपाली काँग्रेस र एमाले मिलेर माओवादी द्वन्द्वपछि प्राप्त भएका उपलब्धि नामेट पार्ने चलखेल भइरहेकाे बताएका छन्।

बुधबार काठमाडौँमा भएको पत्रकारसँगको साक्षात्कारमा उनले दुई दलबीच संविधान संशोधन गर्ने सहमति भएको भन्दै उक्त सहमतिलाई उनले माओवादी द्वन्द्वपछि प्राप्त भएका उपलब्ध नामेट पार्ने चलखेल भएको बताएका हुन्।

‘अहिले संविधान संशोधन गर्ने कुरा उठेको छ। जुन पक्षगमन र प्रतिगमनको बाटो हो’, उनले भने, ‘यो संविधान जग भनेको वृहत शान्ति सम्झौताको जग हो। संविधान संशोधन गरेर दुई दलले शान्ति प्रक्रियापछि भएका उपलब्धिलाई उल्ट्याउने प्रयास भइरेको देखिन्छ।’

गुरुङले यो संविधानमा थुप्रै कमजोरी भए पनि अहिले नै संविधान संशोधन गर्ने अवस्था नरहेको बताए। विश्व राजनीति द्वन्द्वमा फसिरहेको बताउँदै विश्व भू–राजनीति तेस्रो विश्व युद्ध हुने अवस्थामा संविधान संशोधन देश खतरामा फसाउने खेल भएको उनको भनाइ छ।

उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजीनामा नदिने पनि बताए। संसद फेस गर्ने भन्दै उनले कानुनी रुपमा गएमा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्ने अवस्था नरहेको पनि बताए।

संविधानको धारा ७६ को उपधारा २ बमोजिम बनेको सरकारले विश्वासको मत नपाएमा ठुलो दलका नेता प्रधानमन्त्री बन्ने संवैधानिक व्यवस्था रहेको भन्दै उनले संविधानअनुसार प्रचण्डले विश्वासको मत नपाएमा काँग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने पनि बताए।

सोमबार मध्यरातमा संसदका दुई ठुला दल काँग्रेस र एमाले मिलेर सरकार बनाउने सहमतिपछि माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डको सरकार ढल्न अवस्थामा पुगेको छ।

मंगलबार एमालेले प्रचण्डलाई मार्ग प्रशस्त गर्ने भनिसकेको छ भने बुधबार काँग्रेस पनि उनलाई मार्ग प्रशस्त गर्न भनेको छ।

प्रकाशित मिति: : 2024-07-03 14:56:00

प्रतिकृया दिनुहोस्