वैदेशिक रोजगारको ठगी धन्दामा नेताहरुकै संलग्नत छ: प्रभु साह

आम जनता पार्टी (आजपा)का अध्यक्ष एवम् पूर्वमन्त्री प्रभु साहले विदेश श्रमका लागि गएका श्रमिकको कुनै कारण हत्या भएको त्यसको जिम्मेवारी राज्यले लिनुपर्ने बताएका छन्।

रोजगारीका लागि नेपालबाट युवाहरु विभिन्न देशमा पुगिरहेको र कतिपयको त्यहाँ हत्या हुने गरेको बताउँदै उनले त्यसको जिम्मेवारी सरकारले लिनुपर्ने बताए।

आजपा निकटको आइटी आर्मीको आज काठमाडौंमा बसेको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष साहले नेपालमा युवाहरु स्वास्थ्य परीक्षण गरी रोजगारका लागि विदेश गइरहेको तर कतिपयको हत्या हुने गरेको बताए।

‘हामी देखिरहेका छौँ, दिनहुँ विदेशबाट युवाहरुको लाश बाकसमा आइरहेको छ। नेपालबाट जानुअघि ती युवाहरुले स्वास्थ्य परीक्षण गरी कुनै रोग नलागेको प्रमाणित भएपछि मात्रै विदेश जान्छ। निरोगिताको प्रमाणित भएपछि विदेश पुगेका युवाहरुको लाश किन आइरहेको छ त्यसको जवाफ यो सरकारले दिनुपर्छ। त्यसको जिम्मेवारी यो सरकारले लिनुपर्छ’, साहले भने, ‘एउटा निरोगी युवाको विदेशमा मृत्यु किन भयो? त्यसको मृत्यु होइन हत्या भएको हो।’

योग्यता, क्षमता अनुसारको रोजागर र पारिश्रमिक सरकारले उपलब्ध गराउन नसक्दा बाध्य भएर युवाहरु रोजगारको खोजी गर्दै खाडी मुलुक पुगिरहेको साहले बताए। तर, यहाँका केही नेताहरुका कारण वैदेशिक रोजगारीमै ठगी भइरहेको छ। नेताहरुकै संलग्नतामा वैदेशिक रोजगारीमा ठगी धन्दा चलिरहेको बताउँदै उनले त्यसको पर्दाफास आइटी आर्मीले गर्नुपर्ने दिर्नेशन दिए।

‘वैदेशिक रोजगारीको ठगी धन्दामा केही चोर नेताहरुको संलग्नता छ। देश र जनताका लागि राजनीतिक गरिरहेको नाटक गरिरहेका र राज्यसत्ताको दुरुपयोग गर्दै ती चोर नेताहरु मोटाउने र सोझासाझा, निमुखा, गरिब मजदुर र युवाहरु मर्ने दिनको अन्त्य हुनुपर्छ। आइटी आर्मीले त्यस्ता चोर, फटाहा, राज्यसत्ताको दुरुपयोग गर्नेलाई जहाँको त्यही जनकारवाही गर्नुपर्छ’, अध्यक्ष साहले भने।

नेपालमा भ्रष्टाचार, अनियमितता र लुटेर राखिएको कालोधनलाई रेमिटेन्ससँग साटेर विदेश लाने काम भइरहेको बताउँदै उनले यसबाट राज्यलाई अर्बौ रकमको नोक्सानी भइरहेको बताए। तर, पनि सरकार यस्तो कालोधनलाई रेमिटेन्ससँग साटेर विदेश पठाउने हुन्डीकारोवारीलाई कारवाही गर्न सकिरहेको छैन्। हुन्डीकारोबारबाट नेपालमा रहेको कालोधनलाई रेमिटेन्ससँग साटेर विदेश गइरहेको आजपा अध्यक्ष साहले बताएका छन्।

‘नेपालमा भ्रष्टाचार गरी, अनियमितता गरेर, लुटेर राखिएको कालोधन रेमिटेन्ससँग साटेर विदेश गइरहेको छ। हुन्डीकारोवारीमार्फत यस्तो काम भइरहेको सूचना सरकारमा बसेकाहरुसँग पनि छ। तर, ती हुन्डी कारोबारीलाई किन कारवाही हुन सक्दैन्, म सरकारसँग सोध्न चाहन्छु’, आजपा अध्यक्ष साहले भने, ‘रेमिटेन्स रकमलाई भ्रष्ट नेताहरुले आफ्नो कालोधन साट्ने अस्त्र बनाएका छन्। त्यही भएर यहाँ हुन्डीकारोबार फटाएको छ, भ्रष्टहरु मोटाउँदै छन्। त्यस्ता देशद्रोहीलाई अब आइटी आर्मीले ठाउँका ठाउँ जनकारवाही गर्नतर्फ लाग्नुपर्छ।’

आइटी आर्मीका अध्यक्ष चन्द्रभुषण साहको अध्यक्षतामा बसेको बैठकमा पार्टीका वरिष्ठ उपाध्यक्ष एवम् संविधानसभा सदस्य तिलक थापामगर, उपाध्यक्ष ज्ञानेन्द्र तामाङलगायतको सहभागिता रहेको आइटी आर्मीकी उपाध्यक्ष सुमन यादवले जनाएकी छन्।

आइटी आर्मीले विभिन्न माग गर्दै आउँदो २ असारदेखि काठमाडौंस्थित वैदेशिक रोजगार विभाग घेराउ तथा धर्ना दिँदैछ। त्यसैको तयारी स्वरुपमा आइटी आर्मीको बैठक काठमाडौँमा बोलाइएको हो।

आइटी आर्मीले विदेश जाने कामदारसँग अवैध ढंगले लिएको रकम फिर्ता गर्नुपर्ने, ठग मेनपावर र ऐण्डटलाई कारवाही गर्नुपर्ने, बेरोजगार युवाहरुलाई स्वदेश/नेपालमै रोजगारी दिनुपर्ने, वैदेशिक रोजगार पीडितहरूलाई न्याय दिनुपर्ने, विदेशमा अल्पत्र परेकाहरुको उद्दार गर्नुपर्ने, असुरक्षित रोजगारीमा पठाउने अधिकारीलाई कारवाही गर्नुपर्ने, फ्री– भिसा फ्री– टिकट व्यवहारतः लागू गर्नुपर्ने, नीजी मेनपावरहरु खारेज गरी विदेशमा कामदार पठाउने जिम्मा राज्यले लिनुपर्ने लगायतका माग गरेको छ।

‘हामीले हाम्रो मागको बारेमा सरकारलाई ध्यानाकर्षण गराइसकेका छौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई मागको बारेमा ध्यानाकर्षणपत्र बझुाइसकेका छौं तर विडम्बना यस्तो विषम समस्याको ठोस एवम् दीर्घकालिक समाधान गर्नुकोसट्टा सरकार कानमा तेल हालेर कुम्भकर्ण निन्द्रामा सुतिरहेकाले हामी बाध्यभएर आन्दोलनमा उत्रिनु परेको छ’, आईटी आर्मीकी उपाध्यक्ष सुमन यादवले भनिन्।

प्रकाशित मिति: : 2024-06-08 20:42:00

प्रतिकृया दिनुहोस्