अयोध्या भारतमात्रै होइन, विश्वका सारा हिन्दुको एउटा आस्था गाँसिएको धार्मिक केन्द्र हो। तर, हिन्दुत्वको ‘आत्मा’ बोकेको ठान्ने भारतीय जनता पार्टी (भाजपा) र उसका नेता प्रधानमन्त्री नरेन्द्र मोदीले त्यसलाई राजनीतिको एउटा गोटी बनाएका थिए।
चुनावी वर्षको सुरुवातमै आधा बन्दै गरेको भव्य राम मन्दिर उद्घाटन गरेका प्रधानमन्त्री मोदीले सोचेका थिएनन्, अयोध्याले उनलाई एउटा यस्तो जवाफ दिनेछ, जसले मोदीले आफैँलाई प्रश्न गर्नेछन् ‘के मलाई भगवानले पठाएका हुन्?’ चुनावअघिका हरेक अन्तर्वार्तामा उनले धर्म, आध्यात्म र आस्थाका कुरा गर्दै आफूलाई ‘भगवानको प्रतिनिधि’का विम्बित गर्दथे।
अयोध्यामा यसपालि चुनावमा भने मोदीले चलाएको ‘राम गोटी’ चल्न सकेन।
यही क्षेत्रको फैजावादबाट बिजेपीका उम्मेदवारलाई पराजित गरेर लोकसभाको यात्रा तय गरेका एकजना ७९ वर्षीय दलित नेता अवधेश प्रसादको चर्चा भने मोदीको भन्दा कम छैन। उसै पनि भारतमा हिन्दुहरूले नै दलितहरूलाई ‘दोस्रो दर्जाको नागरिक’का रुपमा व्यवहार गर्ने गरेको आरोप छ। त्यसमाथि भाजपा र मोदी शासनमा उनीहरूमाथि भएको थिचोमिचोको जवाफ यो निर्वाचनले दिएको सामाजिक अभियान्ताहरूको विश्लेषण छ।
मोदीको धार्मिक अहंकार अनि अवधेश प्रसादको राजनीतिलाई नजिकबाट नियाल्नेहरूलाई लागिसकेको थियो कि यो चुनावमा अयोध्याले निकै ‘उलटफेर’ गरिदिनेछ।
बिजेपीका प्रत्याशी लल्लु सिंहको उदासिनता अनि स्थानीय मुद्दामा जसरी बिजेपीले आँखा चिम्लयो त्यो नै यो पराजयको एक कारण हो।
यस्तो पनि चर्चा छ कि यहाँ बिजेपीले हारेको होइन बरु अवधेश प्रसादको धरातलको राजनीतिले जितेको हो।
को हुन् अवधेश?
८०को दशक उक्लिरहेका अवधेशलाई झट्ट हेर्दा यस्तो उनको यो उमेरलाई अन्दाजै लाउन सकिन्न। उनका अघिपछि भर्खरका जवान युवाहरूले घेरिएका हुन्छन्। उनका सहयोगीदेखि चुनावी अभियानसम्म यिनै युवाहरूले नेतृत्व गरेका थिए।
शीरमा रातो टोपी, गलामा रातै गम्छा अनि सेता कुर्तामा ठाँटिएर हिँड्ने होचो कदका अवधेशप्रसादलाई टाढाबाट हेर्दा मुलायम सिंहको झल्को मेटिन्छ।
नौ पटकसम्म सांसद अनि छ पटक राज्य सरकारमा मन्त्री भइसकेका अवधेश प्रसादले राजनीतिमा अग्लाएको यो कद भने अचानक आएको होइन। उनको राजनीतिक यात्राका अघि र पछि जिन्दगीको एउटा लामो कथा छ।
अवधेश त्यो बेला कक्षा दशमा पढ्थे। घरको आर्थिक अवस्था त्यस्तै थियो। उनले आफूले पढ्ने स्कुलमा ‘फी’ शुल्क तिर्न सकिरहेका थिएनन्। कसैले उनलाई सल्लाह दियो फलानो नेतालाई भने तिम्रो स्कुलको शुक्ल मिनाहा गरिदिन्छन्।
‘एउटा सिफारिसपत्र लिएर म आफ्नो क्षेत्रका हाम्रै मातापिताले भोट हालेर जिताएका एकजना सांसदकहाँ पुगें’, त्यो दिन सम्झिँदै उनी भन्छन्, ‘तर मलाई उनले धेरै नै अपमान गरे। मलाई त्यो क्षण सहन निकै गाह्रो भयो।’
त्यहीँ बसेर उनले एउटा कागजमा आफ्नो नामसँगै लेखे ‘अवधेश प्रसाद- एलएलबी, एड्भोकेट, विधायक, सांसद, गृहमन्त्री…’
‘त्यो किशोरावस्थामा म थिएँ। मैले त्यो अपमान सहन सकिनँ’ अवधेश भन्छन्, ‘मैले त्यही बेला संकल्प लिइसकेको थिएँ कि मलाई ती सब बन्नुछ जसमा ती सांसदको अहंकार छ।’
उनले कागजमै लेखेर जे जे प्रतीज्ञा गरेका थिए ती सब भए। नेता भए। सांसद भए। विधायक भए। मन्त्री पनि भए। पढ्दै गए, एलएलबि गरे। वकिल पनि भए।
हाँस्दै अवधेश भन्छन्, ‘अब एउटै बाँकी छ…’
अब अवधेशले त्यो कागजमा लेखेको एउटामात्रै बन्न बाँकी छ उनी आफू- गृहमन्त्री।
सन् १९४५को जुलाई ३१ मा सुरवारी गाउँको एउटा साधारण किसान परिवारमा अवधेशको जन्म भएको थियो। उनले लखनऊ युनिभर्सिटीमा एलएलबीसम्म पढेका थिए र कानपुरको डिएभी कलेजबाट डिग्री हासिल गरेका छन्।
अवधेश राजनीतिमा त आउनै चाहन्थे। विद्यार्थी कालमै उनले त्यसको बाटो समाइसकेका थिए। १९६८देखि उनले वकालत पनि सुरु गरे राजनीतिमा पनि सक्रिय नै थिए। १९७४ सालमा उनी पहिलोपटक चुनाव लडेका थिए, त्यो बेला उनी ३२४ मतले पराजित भए। त्यसको केही वर्षमा भारतमा सकंटकाल लागु भयो।
त्यसविरुद्ध ‘लोक नायक’ जय प्रकाशले आन्दोलन सुरु गरेका थिए, अवधेश त्यो आन्दोलनका सक्रिय कर्ता थिए। अरु नेताहरूसँगै उनी पनि गिरफ्तारीमा परे। संकटकालपछि कैयौँ नेताहरूको गिरफ्तारी भइरहेको थियो। जेलमै रहेका बेला उनकी आमाको निधन भएको थियो।
१९७७मा फेरि चुनाव लडेर विधायक बनेका अवधेशप्रसाद त्यसपछि पछाडि फर्किनुपरेन। लगातार उनी नौ पटक विधायक बने।
अहिले लोकसभामा अयोध्याबाट जितेपछि उनको राजनीतिक कद झन बढेको छ।
चुनावअघि एक दिन अखिलेश यादवले भनेका थिए कि ‘तपाईंलाई हामीले ठुलो मान्छे बनाउँदैछौं। हेर्दै जानुहोला बिबिसी लन्डनबाटै तपाईंको अन्तर्वार्ता लिन आउनेछ।’
तर, अखिलेशले यो भनेका थिएनन् कि- अवधेशलाई अयोध्याबाट टिकट दिँदैछौं।
‘यो मेरो होइन अयोध्याका जनताको जित हो। अहिले त मलाई यस्तो लाग्दैछ कि प्रधानमन्त्री नरेन्द्र मोदी यहाँबाट लडेको भए पनि उनले हार्ने थिए’, अवधेश भन्छन्, ‘जनताले यसपालि ठानिसकेका थिए कि अहंकारको राजनीतिले हार्नैपर्छ। र उनीहरूलाई हराउनैपर्छ।’
उनकाअनुसार सुरुमा त त्यो क्षेत्रबाट प्रधानमन्त्री मोदी आफैँ लड्न खोजेका थिए त्यसका लागि उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले पटक-पटक ‘साइट भिजिट’ पनि गरेका थिए। प्रधानमन्त्री मोदीको रोड शो पनि भएको थियो। तर, उनले हिम्मत गरेनन् र बिजेपीले अर्कै उम्मेदवार खटायो।
‘राजनीतिक जीवनमा मैले ११ वटा चुनाव लडिसकें। तर, यो मेरो जीवनको एउटा यस्तो चुनाव भइदियो जहाँ म अवधेश प्रसाद होइन जनता नै चुनाव लडे’, उनले भनेका छन्।
अयोध्या, राम मन्दिरको इतिहास र मोदीको राजनीति
अयोध्याको राम मन्दिरको इतिहास पछ्याउँदै जाँदा लगभग साढे पाँच सय वर्षअघिको ऐतिहासिक पानाहरूमा पुग्नुपर्छ। यी पनि त्यति प्रस्ट छैनन्।
तर, मुगल शासकहरूबारे लेखिएका कतिपय दस्तावेजहरूले त्यहाँ ‘मन्दिर-मस्जिद’को विवाद र त्यसले निम्त्याएको रक्तपातहरू पनि विम्बित गरेका छन्।
लिखित र अलिखित इतिहास अनि इतिहासकारहरूकाअनुसार सन् १५२८तिर अयोध्यामा हिन्दु समुदायहरूले भगवान रामको जन्म भएको भनिरहेको स्थानमा मस्जिद बनाइएको थियो।
त्योबेला भारतमा मुगल शासन थियो। त्यसको लगभग ३२० वर्षपछि त्यहाँ धार्मिक विवादहरू उत्पन्न हुन थालेका थिए। मुगल शासक बाबरको आदेशमा त्यहाँको राम मन्दिर भत्काएर ‘बाबरी मस्जिद’ बनाइएको कथन र ऐतिहासिक दस्तावेजहरूले केही हदसम्म प्रस्ट पारेका छन्।
सन् १८५३तिर त्यहाँ धेरै धार्मिक हिंसाहरू भएको र कैयौँ मानिस मारिएका घटनाहरू इतिहासकारहरूले उल्लेख गरेका छन्।
ब्रिटिस साम्राज्य विस्तार हुँदै गर्दा १९औँ शताब्दीको मध्यतिरमात्रै मुगल शासनको अन्त्य भएको थियो। तर, त्यसअघि ब्रिटिस शासकहरूले नै सन् १८५९तिर त्यो क्षेत्रलाई तारबार गरेका थिए। त्योबेला भित्रतिर मुस्लिमहरूले ‘प्रार्थना’ गर्थे र बाहिरतिर हिन्दुहरूलाई पूजा गर्ने अनुमति दिइएको थियो।
१९औँ शताब्दीको आधातिर आइपुग्दा बाबरी मस्जिदभरि भगवान रामका केही मूर्ति र तिनका अवशेषहरू फेला परेको इतिहास छ। मुस्लिम समुदायले त्यहाँ रामका कुनै अवशेषहरू नभएको तर हिन्दु समुदायले जानजान त्यहाँ लगेर ती अवेशेषहरू राखेको आरोप लगाएका थिए।
यो विवाद चर्किँदै गर्दा सन् १९४९तिर दुवै समुदायले स्थानीय अदालतमा मुद्दा हालेका थिए। विवाद सुल्झिन नसकेपछि त्यसबेला सरकारले नै त्यो पूरै क्षेत्र घेरिएको मुख्यद्वार बन्द गरिदिएको थियो।
त्यसको करिब ४ दशकपछि हिन्दु समुदायले रामभूमिलाई ‘मुक्ति’ गर्न भन्दै एउटा स्वतन्त्र समिति बनाएका थिए। विश्वहिन्दु परिषद्को पहलमा बनेको त्यो समितिको नेतृत्व भारतीय जनता पार्टीका तत्कालीन नेता लालकृष्ण आडवाणीले गरेका थिए।
ढोका लगाएको पाँच दशकपछि सन् १९८६तिर जिल्ला अदालतले विवादित मस्जिदको ढोका खोलेर हिन्दु समुदायलाई पूजा गर्ने अनुमति दिएसँग फेरि धार्मिक दंगाहरू फैलिन थाले। संघर्षका लागि मुस्लिम समुदायले पनि समूहहरू बनाएको थियो।
कट्टर हिन्दुवादी समूहले मस्जिदसँगैको जमिनमा ‘राम मन्दिर’ बनाउने भन्दै त्यसको जग खन्नसमेत सुरु गरिसकेको थियो। त्यो बेला पनि हिंसा भड्कियो।
१९औं शताब्दीको अन्त्यतिर अर्थात् ९०को दशकको सुरुवातमा भारतका धेरै ठाउँमा धार्मिक दंगाहरू फैलिए त्यसमा कम्तीमा पनि २ हजारभन्दा धेरै मानिस मारिएका थिए।
खासगरी सन् १९९२मा हिन्दु समुदायका एउटा ठुलो समूहले त्यहाँ रहेको मस्जिदहरू ‘ध्वस्त’ पारेको बनाइदिएको थियो।
त्यसको करिब ६ वर्षपछि भारतीय जनता पार्टीले अलट बिहारी वाजपेयीको नेतृत्वमा गठबन्धन सरकार बनाएपछि राजनीतिसँगै भारतमा धार्मिक दंगा र हिंसाले पनि झन उग्र रुपमा लियो।
हिन्दु समुदायले जसरी पनि मन्दिर बनाएरै छोड्ने भनेर अभियान चलाउन थालेपछि त्यहाँ दुवै समुदायका मानिस ठूलो संख्यामा जम्ममा भएका थिए।
सन् २००२को फेब्रुअरीमा अयोध्याबाट फर्किरहेका हिन्दु समुदायका मानिस चढेको रेलमा मुस्लिम समुदायले आगो लगाइदिएका थिए। त्योबेला कम्तीमा ५८ जना मानिस मारिएका थिए।
त्यो रेलकाण्डपछि भारतभरि धार्मिक दंगा थामिनसक्नुभएको थियो। हजारौँ मानिस मारिएको यो दंगा नियन्त्रणका लागि अनेकन राजनीतिक र धार्मिक प्रयासहरू भए पनि विवाद साम्य भएको थिएन।
सन् २००२को अप्रिलतिर भारतीय उच्च अदालतका तीनजना न्यायाधीशले त्यसको स्वामित्वका बारेमा फैसला सुनाउन फेरि सुनुवाइ गर्ने घोषणा गरेका थिए। त्यसपछि विवाद अलि साम्य भयो। र, दुवै समुदाय अदालती फैसलाको पर्खाइमा रहे।
करिब १७ वर्षपछि २०१९को नोभेम्बरमा भारतको सर्वोच्च अदालतले विवादित त्यो भूमिमा राम मन्दिर बनाउने बाटो खुला गरिदियो। र, २०२० को अगस्ट ५ मा तोकिएकै स्थानमा भगवान रामको ‘भव्य’ मन्दिर बनाउनका लागि ‘आधारशीला’ राखियो।
यसको मुख्य ‘कर्ता’ पनि प्रधानमन्त्री नरेन्द्र मोदी नै थिए, जसले आफ्नो दोस्रो कार्यकालको अझ भव्य सुरुवात गर्दै थिए।
चार वर्षपछि त्यो ‘भव्य’ मन्दिरमा भगवान रामको ‘प्राण प्रतिष्ठा’ गर्दा पनि मोदीले पूरै भारतलाई ‘राममय’ बनाइदिए र तेस्रोपटक प्रधानमन्त्री बन्ने दौडमा लागे।
अयोध्यामा कसरी हार्यो बिजेपीले?
राममन्दिर नजिकै रहेको लता मङ्गेशकर चोकमा मानिसहरू चिया गफमा भुलिरहेका देखिन्छन्। त्यो चिया गफमा अहिले पनि त्यही राजनीति छ। यही चुनाव छ अनि बिजेपीका हारमा तर्कवितर्कहरू छन्।
‘अयोध्याका गरिबलाई बेवास्ता गर्नुको परिणाम बिजेपीले भोग्नुपरेको हो’, एउटा पसलमा चियाको चुस्की लिइरहेका सत्यम त्रिपाठी भन्छन्, ‘गरिबका झोपडीहरू तोडिएका छन्। पसलहरू तोडिएका छन्। मानिसहरूको उठिबास भएको छ। गरिबलाई रुवाएर के धर्म हुन्छ र?’
समाजवादी पार्टीका अवधेश प्रसादले भाजपाका लल्लु सिंहलाई करिब ४० हजार मतले पराजित गरेका छन्। अवधेशको यो पहिलो लोकसभा यात्रा हो यसअघि उनी विधानसभामै थिए। लल्लुले यो क्षेत्रलाई २०१४ देखि आफ्नो किल्ला बनाउँदै आएका थिए।
अयोध्याका पाँचवटै सिटमा भाजपाको नमीठो हार भएको छ।
यसपालिको चुनावमा भाजपाले ‘चार सय पार’को नारा लगाइरहेको थियो। सन् २०१९मा भाजपा एक्लैले ३०३ सिट ल्याएको थियो भने एनडिएका मिलाएर पूर्ण बहुमत पुगेको थियो। यसपालि आफू एक्लैले ३७० कटाउने र एनडिएसहित ४ सयभन्दा माथि सिट जित्ने भन्दै भाजपाले चुनावलाई आक्रामक गराएको थियो।
तर, आफूमाथि निरन्त भइरहेको अत्याचारका कारण यहाँका पिछडिएका अनि दलित र सिमान्तकृत समुदाय भने त्यो नाराबाट निकै शसंकित थिए। उनीहरूलाई लाग्थ्यो ‘चार कट्यो भने मोदी सरकार झन मनोमानी हुनेछ। अनि आफूहरूमाथि थप अत्याचार हुनेछ।’
धन्न यसपालि बिजेपीले निकै कठिन संघर्ष गर्दा पनि ३ सय सिट पुर्याउन सकेन। त्यसको एउटा मुख्य ‘फ्याक्टर’ भनेको उत्तर प्रदेश हो भने त्यसमा पनि अयोध्या।
भाजपाका लागि अयोध्या यसपालि निकै महत्वपूर्ण चुनावी कार्ड थियो। धार्मिक कट्टरतासँगै लोकतन्त्र र संवैधानिक कानुनका आडमा निरंकुश अनि तानाशाह बनिरहेको मोदीभित्र हिन्दुत्वको त्यो अहंकार यसरी विराट हुँदै थियो कि उनी आफूले आफैलाई ‘भगवान’का प्रतिनिधि भन्न थालिसकेका थिए।
तेस्रो कार्यकालका लागि पनि प्रधानमन्त्री हुन मोदीले यही धर्मको राजनीतिमा अयोध्या अनि राम मन्दिरलाई आफ्नो सबैभन्दा ठुलो ‘चुनावी परियोजना’ बनाए।
उनी एक प्रधानमन्त्री थिए। तर, उनले आफूलाई हिन्दु धर्मको ‘सम्राट’ ठाने अनि राम मन्दिरको ‘प्रणप्रतिष्ठा’मा आफैँलाई मुख्य ‘कर्ता’ बनाए। यसबाट धार्मिक गुरुहरू सन्तुष्ट थिएनन्।
यो अलि परको कुरा भयो।
खास कुरो त उनका लागि त्यो भव्य राममन्दिर नै सबथोक थियो- तर जसका कारण भुँइमान्छेहरूको उठिबास लाग्यो उनले त्यसलाई सधै नजरअन्दाज गरिरहे। वास्तविकता त यो थियो कि मोदी अनि उनको पार्टीका उम्मेदवारहरूलाई भोट दिने तिनै भुँइमान्छेहरू थिए, मन्दिरका ‘राम’ थिएनन्।
- एजेन्सीहरूको सहयोगमा