मोदीले दिए राजीनामा, फेरि शपथ लिन पाउलान्?

Break n Links
Break n Links

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राजीनामा दिएका छन्। लोकसभा चुनाव नतिजा घोषणा भएसँगै उनले राष्ट्रपति द्रौपदी मुर्मूलाई उनले बुधबार राजीनामा बुझाएका हुन्। आगामी जुन ८ मा प्रधानमन्त्रीको शपथ ग्रहण समारोह हुने तयारी छ।

मंगलबार राति चुनाव आयोगले लोकसभा चुनावको अन्तिम नतिजा घोषणा गरेको थियो। यो नतिजअनुसार ‘चार सय पार’को लक्ष्य लिएर मैदानमा ओर्लिएको मोदीको पार्टी भाजपा एक्लैले देशभरि २४० सिट जितेको छ।

उसको नेतृत्वमा रहेको गठबन्धन ‘एनडिए’का अरू दलका मिलाउँदा भने करिब २९२ सिट हुन्छ। सरकार बनाउनका लागि चाहिने २७२ सिटभन्दा गठबन्धनले ल्याएको यो सबै सिट बढी नै हुन्छ। भारतीय लोकसभामा जम्मा ५४३ सिट हुन्छ।

अब मोदीलाई प्रधानमन्त्री बन्नका लागि नितिश कुमार र चन्द्रबाबु नायडुको सहायता अनिवार्य छ। तर अहिले नितिश कुमारलाई नै प्रधानमन्त्रीका लागि अघि सारिएका समाचारहरू पनि भारतीय सञ्चारमाध्यमहरूमा आइरहेका छन्।

नितिश जनता दल यूनाइटेट(जेडियू)का अध्यक्ष हुन् र अहिले बिहारका मुख्यमन्त्री पनि हुन्। चुनावअघि उनी भाजपासँग मिलेका थिए। सन् २००५ देखि नै बिहारको सत्तामा रहेका नितिश कुमारले अहिलेसम्म २५ पटक आफ्ना साझेदार फेरिसकेका छन्।

बिहारमा उनको दलले १२ सिट ल्याएको छ। आन्द्र प्रदेशका पूर्वमुख्यमन्त्री नायडुको तेलगु देशम पार्टीले १६ सिट ल्याएको छ।

यसपालि मोदीलाई चुनौती दिनका लागि भारतीय राष्ट्रिय कंग्रेसले पनि करिब २ दर्जन दलहरूलाई मिलाएर ‘इन्डिया’ गठबन्धन बनाएको थियो। यो गठबन्धनले २३४ सिट पाएको छ। यसमा कंग्रेस एक्लैको ९९ सिट छ।

एक्लै चुनाव लडेको तृणमूल कंग्रेसले २९ सिट ल्याएको छ भने अरु दल र स्वतन्त्रसहित ७० सिट छ।

यसपालि पनि साझेदारहरूलाई मिलाएर मोदी नै प्रधानमन्त्री बन्ने चर्चा छ। तर अरु दलहरूले अझै निर्णय दिइसकेका छैनन्।

‘चार सय पार’को नारा लिएर चुनावी मैदानमा उत्रिएको भारतीय जनता पार्टी सरकार बनाउन चाहिने पूर्ण बहुमतबाट धेरै पछि परेको छ। भारतमा भएको १८औँ लोकसभा चुनावबाट करिब एक दशक सत्तामा रहेको भाजपाले यसपालि भने एक्लै बहुमत पुर्‍याउन सकेन।

प्रकाशित मिति: : 2024-06-05 15:11:00

प्रतिकृया दिनुहोस्