लोकतन्त्रका अधिनायक पंख काटिएको चुनाव

जीवन डाँगी

काठमाडाैं
Break n Links
Break n Links

अठारौं शताब्दीको अन्तिम दशकतिर ब्रिटेन (बेलायत)को सत्ता सम्हालेका तत्कालीन प्रधानमन्त्री बेन्जामिन डिजरायलीले भन्ने गर्थे ‘बलियो विपक्षीबिना कुनै पनि सरकार लामो समयसम्म चल्न सक्दैन…।’

कन्जरभेटिभ पार्टीका संस्थापक नेता पनि मानिने बेन्जामिन एक लेखक पनि हुन्। त्यो बेला ब्रिटिसले विश्वभरि आफ्ना साम्राज्यका पखेटाहरू फिँजाउँदै थियो र भारत पनि त्यो पखेटाले छोपिइसकेको थियो।

जब सन् १९४७ मा भारत ब्रिटिस साम्राज्यबाट मुक्त भयो अनि सत्तामा उदायो गान्धी परिवार अर्थात् भारतीय नेशनल कंग्रेस।

त्यसपछि भारतीय राजनीतिको शीर्षासनमै रहेको कंग्रेस सन् २०१४ देखि ओरालो लाग्यो। धार्मिक मुद्दालाई राजनीतिको मुख्य दर्शन बनाएको भारतीय जनता पार्टी अहिले भारतको एकछत्र शासनमा छ।

विश्वको सबैभन्दा ठूलो ‘प्रजातन्त्रिक अभ्यास’को न्यारेटिभ बनाएको भारतको १८औं लोकसभाको निर्वाचनले त्यही कंग्रेस र उसको गठबन्धनलाई अहिले दिएको एउटा सन्देश उनै बेन्जामिनले भनेजस्तै ‘बलियो प्रतिपक्ष’ हो।

र, अहिले भारतीय कंग्रेसले जे पायो त्यो भनेको राहुल गान्धीले नापेका हजारौं किलोमिटरको पैदल दूरी हो–जसमा राहुल आफूले आफैलाई ‘भारत जोडो यात्रा’को एउटा कठीन बाटोमा हिँडाए।

अनि अर्को भनेको राहुललाई साथ दिएका अखिलेश यादवसँग जमेको गठजोड पनि हो। भारतीय राजनीतिको ‘गेमचेन्जर’ मानिने उत्तर प्रदेसमा एक खुङ्खार राजनीतिज्ञ हुन् अखिलेश। जसले समाजवादी पार्टीको नेतृत्व गरिरहेका छन्।

उत्तर प्रदेसका ८० सिटहरू भारतको केन्द्रीय राजनीतिका लागि ‘गेम चेन्जर’ बनिदिन्छन्। मोदीकै पार्टी बिजेपीका यो आदित्यनाथले शासन गरिरहेको यो प्रदेसमा बिजेपीले ३३ सिटमात्रै जित्नसक्यो। अखिलेस र राहुलको यही गठजोठले ४३ सिट ल्यायो।

यही प्रदेसको रायवरेलीबाट चुनाव लडेका राहुल गान्धीका आफ्ना निकटतम प्रतिद्वन्द्वी भाजपाका दिनेशप्रताप सिंहलाई करिब ३ लाख ९० हजारभन्दा बढी भोटको अन्तरमा पराजित गरे।

यही क्षेत्रमा राहुलकै आमा सोनिया गान्धीले सन् २०१९ को चुनावमा भारी मतान्तरले जितेकी थिइन्। यो पटक भने उनले आफ्नो छोरालाई ‘उत्तर प्रदेस’लाई सुम्पेको भन्दै मत मागेकी थिइन्। राहुल लडेको केरलको वायनडाबाट पनि उनले उत्तिकै भारी मतान्तरले जितेका छन्। 

मोदी उदाएको बाटो

रेल स्टेशसनमा चिया बेचेको बालापन, किशोरावस्थाको धार्मिक स्वंयसेवा अनि राजनीतिको मध्यबाटोमा गुजरातका एक डायनामिक मुख्यमन्त्री र राजनीतिक जीवनको अन्तिम इनिङमा नरेन्द्र दामोदरदास मोदीले बनाएको एउटा पहिचान हो- साधक।

चुनावजस्ता हरेक त्यस्ता राष्ट्रिय पर्वहरूमा मोदी ‘गुफा’ पस्छन् अनि गहिरो ध्यानमा लीन हुन्छन्। धर्म अनि आध्यात्मका धागोहरूमा मोदीले आफ्नो राजनीतिको जाल यसरी बिछ्याएका छन् कि बितेका १५ वर्षदेखि सिंगो ‘हिन्दूस्तान’को राजनीति एउटा नाममा फनफनी घुमिरहेको छ- मोदीजी।

‘चार सय पार’को नारा लगाएको भारतीय जनता पार्टी र उसको गठबन्धन (एनडिए)लाई यो चुनावमा तीन सय कटाउनै कठीन संघर्ष गर्नुपर्‍यो। भारतमा अहिले एउटा ट्रोल बनिरहेको छ-  वस् नैया पार…।

गत फेब्रुअरी ५ मा भारतीय संसदमा मोदीले राष्ट्रपतिलाई धन्यवाद प्रस्ताव पेस गर्दै थिए। त्यो बेला उनले आफ्नो सम्बोधनमा भनेका थिए ‘म आंकडामा जाँदैन। मैले यो देश अनि आम जनताको भाव देखिरहेको छु। यसपालि एनडिएले चार सय पार गरिछोड्नेछ र भाजपा एक्लैले ३७० सिट जित्नेछ…।’

त्यसको करिब ४ महिनापछि चुनावी नतिजाले देखाइरहेको छ, मोदीले अघिल्लो चुनावको जति पनि मत पाएनन्। एक्लो बहुमत बनाउनबाट उनि कम्तीमा २२ सिट दूर रहे।

धर्मको अहंकारमा लोकतन्त्रका निरंकुश पखेटाहरू फिंजाइरहेका मोदी शासनलाई भारतीयले यसपालि एउटा सबक सिकाएका छन्। अनि जनताबाट अलि टाढा भएको कंग्रेसलाई बलियो विपक्षी बनिरहन भारतीय मतदाताले अभिभारा दिएका छन् मतमार्फत्। ‘चार सय पार’ हुन नदिएको कंग्रेस अनि उसले बनाएको गठबन्धनका लागि यही नै एउटा जितको आभाष हो, जसलाई उनीहरूले पनि यही रुपमा स्वीकार गरेका छन्।

यद्यपि यो चुनावी परिणामलाई कंग्रेसले ‘तन्त्रमाथि लोकको जित’ भनेको छ। अनि मोदीले यसलाई ‘भारतको इतिहासमा अभूतपूर्व पल’ भनेका छन्।

दश वर्षदेखि सत्ता नेतृत्वमा रहेको बिजेपी र प्रधानमन्त्री नरेन्द्र मोदीलाई अहिले विपक्षीहरू ‘तानासाह’का रुपमा चित्रित गर्छन्। दश वर्षको यो शासनकालमा मोदी सरकारले लोकतन्त्रका आधारभूत आत्मालाई नियन्त्रणका हदैसम्मका हत्कण्डा गर्‍यो।

बिजेपीलाई यो चुनावी मैदानमा चुनौती दिनका लागि भारतीय राष्ट्रिय कंग्रेससहित करिब दुई दर्जन राजनीतिक दलहरूले ‘इन्डिया’ गठबन्धन बनाएका थिए।

विभिन्न राज्यमा आफ्नो किल्ला बनाएका क्षेत्रीय दलहरू एकवद्ध भएको यो गठबन्धन विशुद्ध मोदीको ‘नूर’ गिराउन केन्द्रित थियो। जसका लागि कंग्रेसले देशैभरका आधाभन्दा धेरै सिट छोड्यो र जुन क्षेत्रमा जुन दलका उम्मेदवार बिजेपी वा एनडिएका गठबन्धनलाई हराउने ताकत राख्थे उनीहरूलाई मैदानमा उतार्‍यो।

‘इन्डिया’ गठबन्धनको यही एउटा रणनीति थियो जसले बिजेपीलाई ‘चार सय’को घेराभित्र छिर्न दिएन। सन् २०१४ देखि सत्तामा उदाएको बिजेपीसँग त्यो बेला पनि ‘मोदी’ थिए। अहिले पनि चुनावी मैदानमा उसले फ्याँकेको एउटामात्रै पत्ता थियो- मोदी अनि ‘मोदीको ग्यारेन्टी।

करिब १० वर्ष भारतको सत्ता केन्द्रमा रहेका मोदी यो चुनावबाट पनि फेरि प्रधानमन्त्री हुने दौड पूरा भएको छ। तर यो दौडमा उनी एक्ला हुनेछैनन्। उनलाई अरु पनि दलको सहयोग चाहिन्छ, जसका महत्वकांक्षाहरूले मोदीको यो ‘रेस’लाई बल्झाउनसक्ने चुनौतीहरू पनि उस्तै छन्।

सात चरणमा करिब डेढ महिनासम्म चलेको यो चुनावी अभियान अनि मोदीको भारतीय राजनीतिक समाज हेर्दा यस्तो लाग्थ्यो मोदीको जित घोषणा हुनमात्रै बाँकी थियो। अरु त सब सेट थियो।

भारतीय राजनीतिमा मोदी राजको उदय

नरेन्द्र दामोदरदास मोदी। सन् २०१४ सम्म उनको परिचय गुजरात राज्यको एक मुख्यमन्त्रीका रुपमा मात्रै थियो। त्यसअघिसम्म राष्ट्रिय स्वंयसेवक संघ (आरएसएस) र भारतीय जनता पार्टीका ‘होलटाइमर’ कार्यकर्ता।

किशोरकालदेखि आफ्नो उर्जाशील जीवन उनले आरएसएसमा बिताए। त्यसपछि भाजपाको होलटाइमर हुँदै उनी पार्टीको सचिवसम्म भए।

राजनीतिमा आउनुअघि उनी आफ्ना बुवासँग रेल स्टेशनहरूमा चिया बेच्थे। पछि उनले आफ्नै चिया स्टल पनि खोले। अहिले पनि उनलाई भन्नेहरू ‘चायवाला’ प्रधानमन्त्रीका रुपमा ब्यंग्य गर्छन्। 

आरएसएसको अभियानकै बेला देशयात्रामा निस्किएका मोदी एक ‘साधक’ पनि हुन्। अहिले त उनी आफूलाई भगवानको एक सच्चा ‘भक्त’ ठान्छन्, अनि त्यो भगवान पनि आफैलाई मान्छन्। जस्तो उनले आफ्नो शासनमा देखाइरहेका छन्।

महाराष्ट्रको एक सामान्य परिवारमा जन्मिएका मोदी भारतीय संरचनाअनुसार एक ‘पिछडा वर्ग’मा सूचीकृत समुदायका हुन्। उनका बुवा आमाले जन्माएका छ जना छोराहरूमध्ये नरेन्द्र मोदी तेस्रो सन्तान हुन्।

भारतीय राजनीतिको एउटा विरासत छ, जहाँ खानदानी राजनीतिले स्थान पाउँछ अर्थात् राजनीतिमा पनि वंशवाद छ।

मोदी एक त्यस्तो राजनीतिज्ञ हुन् जो आफ्नै बलबुतामा एउटा शक्तिशाली राष्ट्रको शक्तिशाली प्रधानमन्त्री बने। बनिरहेका छन् र फेरि पनि बन्नेवाला छन्। उनका पितापूर्खा कोही पनि राजनीतिमा थिएनन्। 

खासगरी हिन्दु धर्मको एउटा प्रमुख धार्मिक संस्थानजस्तै बनेर राजनीतिमा उदाएको भारतीय जनता पार्टीभित्र मोदी यसरी चम्किए कि अहिले भारतीय लोकतन्त्रलाई उनको त्यही चमक भतभती पोल्ने राप बनेको छ।

चुनावी वर्षकै सुरुवातमा मोदी आफैले ‘प्राण प्रतिष्ठा’ गरेको ‘राम मन्दिर’ त्यसकै एउटा उदाहरण हो जसलाई भारतीयले एउटा उत्सवमात्रै होइन ‘महान पर्व’जसरी मनाए।

बन्दाबन्दै उद्घाटन गरेको भनेर कतिपय धार्मिक गुरुहरूलेसमेत आलोचना गरेको मोदीको यो हर्कतलाई कतिपय विपक्षीहरूले ‘चुनावी चटक’को संज्ञा दिए। हुन पनि यही क्षेत्रमा उनको त्यो ‘रामवाण’ चल्न सकेन।

मोदी आफै चुनाव लडेको वाराणसीमा पनि सुरुवातका चरणमा उनलाई अप्ठारो परेको थियो। जित्न त उनले आफ्ना प्रतिद्वन्द्वीलाई झन्डै साढे चार लाख मतको अन्तरले हराएका छन्।

तर मतगणनाको तीनघण्टासम्म उनी पछि परेका थिए। बहालवाला प्रधानमन्त्री त्यो पनि मोदी! तीनघण्टासम्म प्रतिद्वन्द्वीलाई पछ्याउनु परेको भन्दै आलोचना पनि भयो।

गुजरातको मुख्यमन्त्री छँदा नै उनको शासन एक ‘कठोर’ सत्ताका रुपमा परिचित थियो। जबदेखि भारतीय जनता पार्टी अनि भारतीय राजनीति मोदीमय हुन थाल्यो उनको छबि पनि झन कठोर अनि क्रुर ‘प्रजातन्त्रिक’का रुपमा छिप्पिँदै जान थालेको छ। तर अनेक आलोचना, विवाद र तमाम प्रपञ्चका बीच पनि मोदी अझै उस्तै अनि उही राजनीतिक चमक लिएर छाइरहेका छन्।

गुजरातका मुख्यमन्त्री हुँदा उनले गराएको दंगामा करिब १२ सयभन्दा धेरै मानिस मारिएका थिए। तीमध्ये धेरैजसो मुस्लिम समुदायका थिए। यो दंगाका लागि मोदीलाई नै जिम्मेवार ठहर्‍याइएको थियो। त्यसबारे कैयौं भिडियो ‘डकुमेन्ट्री’हरू बनेका थिए।

त्यो हिंसाका बारेमा अघिल्लो वर्ष बिबिसीले बनाएको एउटा भिडियो डक्युमेन्ट्री भारतमा नचल्ने बनाइएको थियो। त्यतिमात्रै होइन मोदी सरकारले ‘राजश्व विभाग’ लगाएर बिबिसीको भारतस्थित कार्यालयमा छापा पनि मारेको थियो।

अहिले पनि भारतीय जनताले मोदीको आलोचना सुन्न, पढ्न र हेर्न लगभग पाउँदैनन्। सामाजिक सञ्जालहरूमा त्यस्ता ‘कन्टेन्ट’हरू बिल्कुल निषेध गरिएको छ। अनि भारतका लगभग धेरैजसो मिडियाहरूमा त उनकै सिधा ‘कन्ट्रोल’ छ।

उनको आलोचना गर्ने धेरै चर्चित पत्रकारहरूले अहिले ‘युट्युब’मार्फत आफ्ना ‘कन्टेन्ट’ बेचिरहेका छन्। कतिपय आलोचक र पत्रकारहरूलाई त मोदी सरकारले जेलको हावा पनि खुवाइसकेको छ।  

तर यो चुनावमा यही सामाजिक सञ्जाल भारतीय मतदाता र त्यहाँका नागरिकमा स्थापित ‘मोदी न्यारेटिभ’ बदल्न सफल भयो। त्यसको मुख्य श्रेष अहिले सारा भारतीयले एक युवा ध्रुब राठीलाई दिइरहेका छन्। उनी एक प्रविधि बैज्ञानिक हुन्। 

हरियाणाको ‘जाट’ समुदायका उनी अहिले जर्मनीमा बस्छन् र त्यहीँ नै उनको प्रविधिसम्बन्धि व्यवसाय गर्छन्। उनी एक चर्चित युट्युबर पनि हुन् जसले युट्यूबका माध्यमबाट ‘सचेतना’का पाठ पस्किन्छन्।

यो चुनावी अभियानभरि उनले मोदीका त्यस्ता लुप्त फाइलहरू खोलिदिए जसले छोपिएको मोदीको अनुहार आम मतदातामाझ उदाङ्गै खोलिदिए।

चुनावकै मुखमा पनि मोदी सरकारले इडी (डिरेक्टोरेट अफ इन्फोर्समेन्ट) लगाएर विपक्षीहरू खुब तर्साइरह्यो। चुनावी तयारीमा लागेका आम आदमी पार्टीका नेता तथा दिल्ली राज्यका मुख्यमन्त्री अरविन्द केजरीवाल त्यसकै एक ताजा शिकार भए।

अहिले पनि उनी जेलमै छन्। बहालवाला मुख्यमन्त्रीलाई पक्राउ गरेर जेल कोचिएको भारतीय राजनीतिमा यो बिरलै घटनाका रुपमा दर्ज भएको छ।

भारतीय राजनीतिमा सिला खोज्नुपर्ने अवस्थामा पुगिसकेको राष्ट्रिय कंग्रेस सारा क्षेत्रीय दलहरूलाई एककट्ठा गरीवरि मोदीको शक्तिलाई चुनौती दिनसक्ने गरि उभरियो। 

यो त्यही पार्टी हो जसले भारतीय राजनीतिमा ‘गान्धी’ परिवारको विरासत बोकेको छ। नाती पुस्तासम्म आइसकेको यो पार्टीलाई अहिले लामो समय विदेशमा बसेर फर्किएका राहुल गान्धी, उनकी दिदी प्रियंका गान्धीले धानिरहेका छन्। जसलाई उनकी आमा सोनिया गान्धीले ‘संरक्षण’ गरिरहेकी छिन्। 

सन् २०१९ को चुनावमा पनि नमीठो पराजयपछि राहुले पार्टी अध्यक्षको जिम्मेवारी छोडेका थिए। त्यसपछि उनी देश यात्रामा लागे। भारतमा फैलिरहेको धार्मिक हिंसाका कारण उनले ‘भारत जोडो यात्रा’ थाले र ‘करुणा अनि प्रेम’को नारा लगाए। त्यही यात्रा अहिले राहुलको राजनीतिक जीवनमा एउटा कोशेढुङ्गा बन्यो। 

भारतीय समुदायमा धार्मिक दंगा (खासगरी मुस्लिम र हिन्दू) सदियौं पुरानो हो तथापि त्यसका बाछिटाहरूले अहिले पनि भारतका कतिपय ठाउँहरू जलिरहेका छन् त्यसको ताजा उदाहरण मणिपुर हो। 

जब भारतीय राजनीतिमा भाजपा अनि ‘मोदी युग’ सुरु भयो यो धार्मिक सद्भाव झन यसरी खलबलिएको छ कि अहिले एउटा समुदायले अर्को समुदायलाई देखि सहन नसक्ने स्थिति छ। झन् चुनावको बेला त्यसको रुप अझ प्रस्ट हुन्छ। 

मोदीलाई टक्कर दिनका लागि कंग्रेससहितका केही दलहरूले एउटा गठबन्धन बनाएका थिए– ‘इन्डियन नेशनल डेभलपमेन्ट इन्क्लुसिभ अलायन्स’ अर्थात् ‘इन्डिया’ गठबन्धन। 

दुई दर्जन साना ठूला राजनीतिक दलहरू मिलेर बनाएको यो गठबन्धनको नेतृत्व भारतका पुराना राजनीतिक खेलाडी मानिने मल्लिकार्जुन खर्गेले गरेका छन्। तर त्यहाँ पनि गान्धी परिवारकै निर्देशन चल्छ। 

मोदीहरूले सामान्यरुपमा हेरेपनि अहिलेका चुनावी प्रक्षेपणहरूले थुप्रै ठाउँमा यो गठबन्धनले भाजपा नेतृत्वको ‘नेशनल डेमोक्र्याटिक अलायन्स’ अर्थात् ‘एनडिए’लाई चुनौती दिनसक्ने संकेतहरू देखाएका थिए। तर धेरै प्रक्षेपणहरू चुनावी नतिजाभन्दा निकै ‘उलटफेर’ भइदिए। 

सन् २०१९ मा एडिएले ३५२ सिट जितेको थियो तीमध्ये ३०३ सिट त भाजपको मात्रै थियो। यसपालि भाजपाले ‘चार सय पार’को नारा लगाउँदै ‘फेरि मोदी सरकार’को प्रोजेक्सन गरिसकेको थियो।

सन् २०१४ मा पनि भाजपाले चुनावअघि नै मोदीलाई प्रधानमन्त्रीका रुपमा प्रस्ताव गरेर भोट मागेको थियो। तर परिणामसम्म आइपुग्दा चार सय पारको नारा लगाएको बिजेपी एक्लैले बहुमत नपुर्‍याउने अवस्था आयो।

एक दशक भारतीय सत्तामा एकल राज गर्दै आएका मोदीलाई लगातारका यी जितेहरूले यति शक्तिशाली बनाइदिएको छ कि अब पनि मोदी सत्तामै रहिरहने हो भने भारतीय लोकतन्त्र साँच्चिकै ‘मर्ने’ चिन्ता विश्लेषकहरूले गरिरहेका छन्। र, पनि भारतीय समुदायमात्रै होइन सारा विश्वभरि नै मोदीको ‘जयजयकार’ उत्तिकै छ।

‘मोदी शासन’को निरंकुश चरित्रले भारतीय लोकतन्त्रको विस्तारै हत्या हुँदै गरेको भन्दै यसपालि उनलाई चुनौती दिनका लागि ‘इन्डिया’ गठबन्धन पनि आक्रामकरुपमै चुनावी मैदानमा आएको थियो।

यो गठबन्धनले चुनावी घोषणापत्रमा अल्पसंख्यक समुदायको मन जित्न देशलाई ‘निरंकुशता’बाट बचाउनका लागि आफूहरूलाई भोटको अपिल गरेको थियो।

विभेद र कैयौ बाहानामा आक्रमण सहेर बाँचिरहेको भारतीय अल्पसंख्यक समुदायले आफूलाई मोदी सरकारले ‘दोस्रो दर्जा’को नागरिक बन्न बाध्य भएको बताउँछन्। 
भारतीय ‘लोकसभा’मा ५४३ जना सांसद चुनिएर आउँछन्। सरकार बनाउनका लागि लगभग २७२ जना सांसदको मतैक्य हुनुपर्छ।

अप्रिल १९ बाट भारतमा लोकसभा सुरु भएको थियो। विभिन्न सात चरणमा लगभग ढेड महिनाबीचमा भएको यो चुनावमा करिब ९७ करोडभन्दा बढी मतदाता थिए।

याे पनि...

प्रकाशित मिति: : 2024-06-05 10:11:00

प्रतिकृया दिनुहोस्