प्रतिनिधिसभा बैठक: नीति तथा कार्यक्रममाथि छलफल हुने

Breaknlinks
Breaknlinks

प्रतिनिधिसभाकाे बैठक आज (शुक्रबार) बस्दैछ। बैठक नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बिहान ११ बजे बस्दैछ।

बैठकमा जेठ १ मा राष्ट्रपति रामचन्द्र पाैडेलद्वारा प्रस्तुत नेपाल सरकारकाे आर्थिक वर्ष २०८१/८१ काे नीति तथा कार्यक्रममाथि छलफल गर्ने र त्यसमाथि उठेका प्रश्नकाे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जवाफ दिने कार्यसूची रहेकाे संसद सचिवालयले जनाएकाे छ।

सचिवालयकाअनुसार प्रधानमन्त्री प्रचण्डले ‘सम्माननीय राष्ट्रपतिले २०८१ जेठ १ गते मंगलबार संघीय संसदकाे दुवै सदनकाे संयुक्त बैठकमा गर्नुभएकाे सम्बाेधनमा उल्लेखित आ.व. २०८१/८२काे नेपाल सरकारकाे वार्षिक नीति तथा कार्यक्रममाथिकाे छलफल प्रारम्भ गरियाेस्’ भनी प्रस्ताव प्रस्तुत गर्नेछन्।

त्यसपछि प्रतिनिधिसभा सदस्यहरुबाट प्राप्त संशाेधनहरु प्रस्तुत हुने र सम्बाेधनमाथि छलफल गरिनेछ।

छलफलपछि सभामुख देबराज घिमिरेले प्राप्त संशाेधनहरु र राष्ट्रपतिले गरेकाे सम्बाेधनमा उल्लेखित आ.व. २०८१/८२काे नेपाल सरकारकाे वार्षिक नीति तथा कार्यक्रमलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेकाे छ।

त्यसअघि सभामुख घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्काे कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रकाे ब्यहाेरा पढेर सुनाउने र प्रतिनिधिसभा नियमावली, २०७९काे नियम १० बमाेजिम बैठककाे अध्यक्षता गर्न सदस्यहरु मनाेनयन गर्ने कार्यसूची रहेकाे महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए।

त्यसैगरी उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले ‘लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१लाई स्वीकृत गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले ‘संघीय निजामति सेवा विधयेक, २०८०लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री भण्डारीले राष्ट्रियसभामा उत्पत्ति भएको ‘विद्युतीय व्यापार विधेयक, २०८०लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेकाे छ।

यद्यपि, सहकारी ठगी प्रकरणकाे छानबिनका लागि कार्यादेश बनाउने विषयमा सहमति जुट्न नसक्दा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले निरन्तर संसद अवराेध गर्दैआइरहेकाे छ। उसले संसदीय छानबिनकाे विषय स्पष्ट नभएसम्म बैठक चल्न नदिने अडान लिएकाे छ।

यस विषयमा सहमति गर्नका लागि संसद बैठक बस्नुअघि कार्यदल बैठक बस्दैछ।

प्रकाशित मिति: : 2024-05-24 06:22:00

प्रतिकृया दिनुहोस्