प्रतिनिधिसभाको आजको बैठकले राष्ट्रपति रामचन्द्र पौडेलद्वारा यही जेठ १ गते सङ्घीय संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत भएकामा उनीप्रति धन्यवाद ज्ञापन गरेको छ।
बैठकमा सभामुख देवराज घिमिरेले प्रस्तुत गरेको धन्यवादको प्रस्ताव सर्वसम्मतिबाट पारित भएको हो।
प्रस्तावमा ‘राष्ट्रपतिबाट नेपालको संविधानको धारा, ९५ बमोजिम सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई २०८१ जेठ १ गते मङ्गलबारका दिन गरेको सम्बोधनका लागि प्रतिनिधिसभाको यो बैठक राष्ट्रपतिमा धन्यवाद ज्ञापन गर्दछ’ भनिएको छ।
राष्ट्रपतिको सम्बोधनपछि प्रतिनिधिसभाबाट धन्यवाद ज्ञापनसम्बन्धी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची भए पनि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अवरोधका कारण निरन्तर प्रभावित भएको थियो।
त्यसअघि बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपतिले गरेको सम्बोधनको प्रति टेबुल गरेका थिए। प्रतिपक्षी दल कांग्रेसको वेल घेराउ र नाराबाजीका बीच उक्त प्रस्ताव पारित भएको हो।