नेकपा एसको राजनीतिक प्रतिवेदनः काँग्रेस–रास्वपा पूँजीवादी, एमाले दक्षिणपन्थी र माओवादी सिद्धान्तविहीन

Breaknlinks
Breaknlinks

नेकपा (एकीकृत समाजवादी)ले काँग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई पूँजीवादी पार्टीको संज्ञा दिएको छ भने नेकपा एमालेलाई दक्षिणपन्थी र माओवादी केन्द्रलाई सिद्धान्तविहीन पार्टी भनेको छ।

मंगलबार केन्द्रीय समितिकाे आठौँ बैठकमा प्रस्तुत गरिएको राजनीतिक प्रतिवेदनमा अन्य पार्टीलाई विभिन्न दोष देखाउँदा एकीकृत समाजवादीलाई भने नेपाली श्रमजीवी वर्गको सच्चा क्रान्तिकारी पार्टी भनिएको छ।

‘हाम्रो पार्टी नेकपा (एकीकृत समाजवादी) २००६ वैशाख १० मा स्थापित नेपाल कम्युनिष्ट पार्टीको वर्तमान रूप हो। हाल प्रतिनिधिसभामा १० र राष्ट्रियसभामा ८ सिटका साथ रहेको यो पार्टी नेपाली श्रमजीवी वर्गको सच्चा क्रान्तिकारी प्रतिनिधि हो’, प्रतिवेदनमा भनिएको छ।

नेकपा एसको नजरमा कुन पार्टी कस्तो?

नेपाली काँग्रेस: अहिले प्रतिनिधिसभामा ८८ सिटसहित सबैभन्दा ठुलो दलका रूपमा रहेको नेपाली काँग्रेस पूँजीवादी चरित्रको पार्टी हो। नवउदारवादको पक्षपोषण गर्ने यस पार्टीले दलाल–नोकरशाही पूँजीपति वर्गको समेत हित प्रतिनिधित्व गर्दछ। प्रजातान्त्रिक समाजवादको वकालत गर्ने र लोकतन्त्र एवं गणतन्त्र प्राप्तिको संघर्षमा सकारात्मक भूमिका निर्वाह गरेको यो पार्टी याथास्थितिमा रमाउने गरेको छ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले): प्रतिनिधिसभामा ७८ सिट भएको नेकपा (एमाले) दक्षिणपन्थी अवसरवादी प्रवृत्ति बोकेको कम्युनिष्ट पार्टी हो। मुलुकमा जनवादी क्रान्ति सम्पन्न भइसकेको अवस्थतमा समाजवादी कार्यक्रम र कार्यदिशा अँगाल्नु पर्नेमा त्यसो गर्न नसकेको हुनाले यस पार्टीको विचार र व्यवहार दुवै दक्षिणपन्थी भएको स्पष्ट हुन्छ। संविधानको मूल मर्म र भावनामाथि प्रहार गर्न पछि नपरेको यो पार्टी नीति प्रधान नभएर नेता प्रधान हुँदै गएको छ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) : प्रतिनिधिसभामा ३२ सिटसहित रहेको नेकपा (माओवादी केन्द्र) सशस्त्र द्वन्द्वको सञ्चालनदेखि शान्तिप्रक्रिया हुँदै आहिलेसम्म आउँदा रूपान्तरणको प्रक्रियाबाट गुज्रिएकोछ। नेकपाको विभाजनपछि फेरि माओवाद अँगालेको हुँदा यो पार्टी स्वयं सैद्धान्तिक अन्यौलमा फसेको छ। जनवादी क्रान्तिका उपलब्धिहरूको रक्षा गर्न प्रतिवद्ध देखिन्छ। समाजवादी मोर्चामा हामी सँगै छौँ।

राष्ट्रिय स्वतन्त्र पार्टी: प्रतिनिधिसभामा २१ सिटका साथ रहेको राष्ट्रिय स्वतन्त्र पार्टी पूँजीवादी चरित्रको पार्टी हो। यसको दर्शन, सिद्धान्त, विचार र कार्यदिशा केही पनि स्पष्ट छैन। संविधान, गणतन्त्र र संघीयताप्रति यसको दृष्टिकोण के हो भन्ने पनि स्पष्ट छैन। नवउदारवादको वकालत गर्ने यस पार्टीले आफूलाई मध्य दक्षिणपन्थीको रूपमा प्रस्तुत गर्ने गरेको छ। त्यसैबाट स्पष्ट हुन्छ कि यस पार्टीले दक्षिणपन्थी दृष्टिकोण राख्दछ। यसले दलाल पूँजीपति वर्गको समेत हितप्रतिनिधित्व गर्दछ।

यो पार्टी प्रतिनिधिसभाको विघटन र नेकपाको विभाजनले उत्पन्न गरेको राजनीतिक अन्योल र सामाजिक निराशाको परिस्थितिमा सस्तो लोकप्रिय नारा दिएर उदाएको पार्टी हो। सस्तो लोकप्रियतावादले सर्वसाधारण जनतामा भ्रम दिएर प्रतिक्रियावादको सेवा गर्ने गर्दछ। यस पार्टीले पनि त्यही भूमिका निर्वाह गर्दै आएको छ।

राष्ट्रिय प्रजातन्त्र पार्टी : प्रतिनिधिसभामा १४ सिटका साथ रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी सामन्ती तथा दलाल–नोकरशाही पूँजीवादी चरित्रको पार्टी हो। यस पार्टीले समाजमा अवशेषको रूपमा रहेको सामन्ती पछौटे एवम् पश्चगमनकारी चिन्तनको प्रतिनिधित्व गर्दछ। यो पार्टी संविधान, गणतन्त्र र संघीयता विरोधी पार्टी हो। यसले जनताको क्रान्तिकारी आन्दोलनले उखेलेर फ्याँकेको सामन्ती राजतन्त्रलाई पुनःस्थापना गर्न चाहन्छ र राज्यलाई धर्मसँग जोडेर मुलुकलाई हिन्दू राष्ट्रमा परिणत गर्न चाहन्छ।

जनता समाजवादी पार्टी: प्रतिनिधिसभामा १२ सिटका साथ रहेको जनता समाजवादी पार्टीसमाजवादी कार्यदिशा अँगालेको पार्टी हो। मुख्यतः मधेस प्रदेशमा प्रभाव राख्ने यस पार्टीले मधेसको मध्यम वर्गीय तप्काको प्रतिनिधित्व गर्दछ र कैयन प्रगतिशील एजेण्डाप्रति सकारात्मक धारणा राख्दछ। गणतन्त्र र संघीयताप्रति प्रतिवद्ध देखिने यो पार्टी हामीसहितको समाजवादी मोर्चामा सामेल छ।

जनमत पार्टी :  प्रतिनिधिसभामा ६ सिटका साथ रहेको जनमत पार्टी विगतमा मधेसलाई नेपाली आन्तरिक उपनिवेशबाट मुक्त गरी स्वतन्त्र राज्य बनाउनुपर्दछ भन्ने पृथकतावादी सोच अँगालेर आफ्नो राजनीतिक यात्रा प्रारम्भ गरेको पार्टी हो। अहिले संविधान मान्ने र त्यसअन्तर्गत रहेर राजनीति गर्ने गरी अगाडि बढेको छ। यो पार्टी गणतन्त्र र संघीयताप्रति प्रतिबद्ध देखिन्छ। यस पार्टीमा अझै पनि विगतको उपलब्धि झल्किन्छ।

लोकतान्त्रिक समाजवादी पार्टी: प्रतिनिधिसभामा ४ सिटका साथ रहेको लोकतान्त्रिक समाजवादी पार्टी पूँजीवादी चरित्रको पार्टी हो। मुख्य गरी मधेस प्रदेशमा केन्द्रित रहेको र मधेसका मुद्दामा नै बढी चासो राख्ने यो पार्टीले पनि मधेसको मध्यम वर्गीय तप्काको प्रतिनिधित्व गर्दछ। यो पार्टी गणतन्त्र र संघीयताप्रति प्रतिवद्ध देखिन्छ।

नागरिक उन्मुक्ति पार्टी : प्रतिनिधिसभामा ४ सिटका साथ रहेको नागरिक उन्मुक्ति पार्टी जातीय पहिचान र अधिकारमा जोड दिने पार्टी हो। यो पार्टी थारु जातिको पहिचान र अधिकारलाई मुख्य विषय बनाएर संगठित एवं क्रियाशील छ। यसको वर्ग चरित्र स्पष्ट छैन। गणतन्त्र र  संघीयताप्रति भने प्रतिबद्ध नै देखिन्छ।

नेपाल मजदुर किसान पार्टी : प्रतिनिधिसभामा १ सिटका साथ रहेको नेपाल मजदुर किसान पार्टी जड सूत्रवादी एवम् संकीर्ण चरित्रको कम्युनिष्ट पार्टी हो। यो पार्टी मूलतः श्रमजीवी वर्गको पक्षमा उभिन्छ तर नेतृत्वमा रहेको निम्न मध्यम वर्गीय चरित्र, सैद्धान्तिक जडता र संकीर्णताले गर्दा निरन्तर खुम्चिँदै गएको छ। भक्तपुर जिल्लामा सीमित यो पार्टी संविधान र गणतन्त्रप्रति प्रतिबद्ध नै देखिन्छ।

राष्ट्रिय जनमोर्चा : प्रतिनिधिसभामा १ सिटका साथ रहेको राष्ट्रिय जनमोर्चा नेकपा (मसाल) को खुला राजनीतिक संगठन हो। वामपन्थी चरित्रको यो पार्टी संविधान र गणतन्त्रप्रति प्रतिबद्ध तर संघीयताप्रति भने नकारात्मक धारणा राख्दछ।

नेपाल कम्युनिष्ट पार्टी : यो नेकपा (माओवादी) बाट विभाजित भएर बनेको पार्टी हो। वर्तमान संविधान अस्वीकार गरी विद्रोहको नीति लिएको र चुनाव बहिष्कार गरेको यो पार्टी अहिले संविधान मानेर शान्तिपूर्ण राजनीति गर्ने बाटोमा आएको छ र हाम्रो पार्टीसमेत सामेल रहेको समाजवादी मोर्चामा पनि रहेको छ। यो पार्टी गणतन्त्र, संघीयता र समाजवादप्रति प्रतिबद्ध रहेको छ।

अन्य पार्टीहरू : माथि चर्चा गरिएकाबाहेक नेपाल क्रान्तिकारी कम्युनिष्ट पार्टी, नेपाल कम्युनिष्ट पार्टी (माले), नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियान, नेपाल कम्युनिष्ट पार्टी (संयुक्त), नेपाल कम्युनिष्ट पार्टी (माक्र्सवादी), नेपाल समाजवादी पार्टी, आम जनता पार्टी, विवेकशील साझा पार्टीलगायतका साना पार्टीहरू पनि केही गतिविधिका साथ अस्तित्वमा छन्।

उपर्युक्त सबै पार्टीहरूसँग हाम्रो सम्बन्ध वित्तीय तथा दलाल–नोकरशाही पुँजीवादबारे उनीहरूको दृष्टिकोणमा भरपर्छ। कतिपयले मुलुकको समाजवादी रूपान्तरणको कुरा गर्छन् तर जनक्रान्तिका उपलब्धिको रक्षा र विकासप्रति उनीहरूको दृष्टिकोण गलत छ भने कतिपयले संविधानको रक्षा र विकासको पक्षमा आफूलाई उभ्याएका त छन् तर मुलुकको समाजवादी रूपान्तरणप्रति नकारात्मक दृष्टिकोण राख्दछन्।

त्यसैगरी कतिपय ती दुवै विषयमा नकारात्मक वा अस्पष्ट छन्। नेकपा (एकीकृत समाजवादी) ले जनक्रान्तिका उपलब्धिको रक्षा र विकास तथा समाजवादी रूपान्तरणका मुद्दाहरूमा ती राजनीतिक दलहरूको दृष्टिकोण र व्यवहारअनुसार उनीहरूसँग मित्रवत् वा सहकार्य र संघर्षको सम्बन्ध राख्दछ।

प्रकाशित मिति: : 2024-05-14 14:09:00

प्रतिकृया दिनुहोस्