भन्सार कानुनमा रहेको व्यवस्थाविरुद्धमा आजपाद्वारा भन्सार विभाग अगाडि नाराबाजी

आम जनता पार्टी (आजपा) निकटको आम सम्पर्क मञ्चले सोमबार पनि काठमाडौँको त्रिपुरेश्वरस्थित भन्सार विभाग घेराउ तथा धर्ना दिएको छ।

भन्सार कानुनमा रहेको लुटकारी व्यवस्थाको विरुद्धमा आजपाले चौथो चरणअन्तर्गतको कार्यक्रमअनुसार भन्सार विभाग घेराउ तथा धर्ना दिएको हो।

आम सम्पर्क मञ्चले भन्सार नियन्त्रणको नाममा तराई/मधेस क्षेत्रको जनताको निजी सम्पत्ति लुट्ने काम तुरुन्त बन्द गर्न तथा भन्सार कानुनमा रहेका सम्पूर्ण विभेदकारी एवं लुटकारी प्रावधान हटाउन भन्सार विभागमार्फत सरकारसँग माग गरेको छ।

आजपानिकटको भन्सार कानुन सुधार संघर्ष समितिकी संयोजक रञ्जु साहले भन्सार नियमावलीमा रहेको परिच्छेद–१० को पुरस्कार सम्बन्धि सम्पूर्ण प्रावधान हटाउनुपर्ने, कर कानुन, राजस्व कानुन र भन्सार कानुनमा एकरुपता ल्याउन भन्सार नियमावलीबाट अनावश्यक प्रावधान हटाउनुपर्ने बताइन्।

यस्तै भन्सार महशुल नबुझाएकै कारण निजी सम्पत्ति जफत गर्ने व्यवस्थाको सट्टा भन्सार नबुझाएमा उचित दण्डको व्यवस्था गर्नुपर्ने, प्रत्येक व्यापारिक नाकाहरुमा भन्सार कार्यालय स्थापना तथा स्तरवृद्धि गर्नुपर्ने, घरायसी प्रयोजन र व्यापारिक प्रयोजनका वस्तुहरुको पहिचानको स्पष्ट व्यवस्था गरी घरायसी प्रयोजनको लागि ल्याइने उपयोग्य वस्तुहरुमा कुनै भन्सार कर नलाग्ने व्यवस्था गर्नुपर्ने माग आजपाले गर्दै आएको छ।

भन्सारबाट उठेको राजस्व रकमको २५ प्रतिशत सम्बन्धित प्रदेशलाई र २५ प्रतिशत सिमा संग जोडिएका पालिकाहरुलाई दिने व्यवस्था गर्नुपर्ने लगायतका माग आजपाको छ। आजपा अध्यक्ष एवं सांसद प्रभु साहले मुलुक सञ्चालनको प्रमुख आम्दानीको स्रोत भन्सार राजस्व देशको समृद्धिका लागि सदुपयोग होस् भनी पार्टीले निरन्तर खबरदारी गर्दैआएको बताए।

उनले सरकारी खर्च पारदर्शी हुनुपर्ने, भन्सार छलीका सामान जफत गर्ने कर्मचारीको नाम सार्वजनिक गर्नुपर्ने, राजस्वबाट व्यक्ति मोटाउने र राज्य दुब्लाउने प्रवृत्ति बढेकामा चिन्ता व्यक्त गर्दै देश विकासका निम्ति त्यस्तो प्रवृत्ति अन्त्य हुनुपर्ने माग गरे।

उनले नेपाल–भारत खुला सिमानाका कारण हुनसक्ने अवैध ओपासपोसार रोक्न र भन्सार राजस्व वृद्धि गर्न अन्य स्थानमा पनि भन्सार कार्यालय खोल्न र भन्सार व्यवस्थापनलाई चुस्त तुल्याउनुपर्नेमा जोड दिए।

भन्सार नियन्त्रणको नाममा तराई क्षेत्रको जनताको निजी सम्पत्ति लुट्ने काम तुरुन्त बन्द गर्नुपर्ने, भन्सार कानुनमा रहेको कथित ४५ प्रतिशत पुरस्कारको लुटकारी प्रावधान हटाउन झण्डै ६ महिनादेखि आजपाले निरन्तर संघर्ष गर्दै आएको छ।

प्रकाशित मिति: : 2024-05-06 19:06:00

प्रतिकृया दिनुहोस्