अशोक राई नेतृत्वकाे नयाँ दललाई निर्वाचन आयोगले दियाे मान्यता

निर्वाचन आयोगले अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीलाई मान्यता दिएकाे छ।

जनता समाजवादी पार्टी (जसपा) नेपालबाट विभाजन भएर बनेको राई नेतृत्वको नयाँ दल दर्ता गर्ने निर्णय गरेको आयोगले जनाएकाे छ।

राईसहित जसपाका ७ जना सांसदले दल दर्ताका लागि आइतबार आयोगमा निवेदन दिएका थिए। आयोगले साेमबार आयोगले दल दर्ता गर्ने निर्णय हाे।

आयोगका अनुसार राजनीतिक दलसम्बन्धी ऐन २०७३, राजनीतिक दलसम्बन्धी नियमावली २०७४ र प्रचलित संघीय कानुन बमोजिमका कानुनी प्रावधानभित्र रहनेगरी दल दर्ता भएको हाे।

त्यसैगरी ‘राजनीतिक दलसम्बन्धी ऐनको दफा ३३ र नियमावलीको नियम ५ बमोजिम जनता समाजवादी पार्टी नामकाे राजनीतिक दल दर्ता भएको आयोगले जनाएको छ।

नियमावलीअनुसार संघीय संसदमा रहेका दलका सांसदको २० प्रतिशत र केन्द्रीय समितिको २० प्रतिशतले हस्ताक्षर गरेर दल विभाजन तथा दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएमा दल दर्ता गर्न सकिने व्यवस्था रहेको छ।

प्रकाशित मिति: : 2024-05-06 21:50:00

प्रतिकृया दिनुहोस्