कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी परेको छ। सर्लाहीका इन्द्रजितप्रसाद महतोले दोहोरो नागरिकता लिएको भन्दै सोमबार प्रहरीमा उजुरी दिएका हुन्।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक रञ्जन अवाले उजुरी दर्ता भइसकेकाे र अनुसन्धान प्रक्रिया थालिएकाे जानकारी दिएका छन्।
सिरोहियाले दुईवटा फरक नम्बरको नागरिकता प्रयोग गर्ने गरेको उजुरमा उल्लेख छ।
‘दुईवटा नागरिकता प्रयोग गरेको भन्दै उजुरी परेको छ। हिजो (साेमबार) उजुरी परेको हो। उजुरीमाथि हामीले अनुसन्धान थालिसकेका छौँ’, प्रवक्ता अवाले बिएल नेपाली सेवासँग भने।
सिराेहियाविरुद्ध उजुरी परेपछि गृहमन्त्रालयबाटै छिटाे छानबिन गर्न दबाब दिइएको छ। गृहमन्त्री रवि लामिछानेले नै धनुषा प्रहरी प्रमुखलाई अनुसन्धानका लागि दबाब दिएकाे स्रोतले बताएकाे छ।
सहकारी ठगी प्रकरणमा गृहमन्त्री लामिछाने जोडिएपछि कान्तिपुरले बारम्बार समाचार लेखेकाे थियो। आफूमाथि कान्तिपुर लागेपछि लामिछानेले नै रास्वपाका कार्यक्रतालाई उक्त उजुरी हाल्न लगाएको स्रोतकाे दाबी छ।