प्रधानमन्त्री प्रचण्ड र कतारी राजाबीच द्विपक्षीय वार्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानीबीच द्विपक्षीय भेटवार्ता सुरू भएको छ।

मङ्गलबार नेपाल आइपुगेका कतारका राजा थानी र प्रधानमन्त्री प्रचण्डबीच होटल सोल्टीमा द्विपक्षीय भेटवार्ता सुरु भएको हो। यसअघि प्रधानमन्त्री प्रचण्ड र कतारी अमिर थानीबीच वान टू वान भेटवार्ता भएको थियो।

भेटवार्तापछि द्विपक्षीय सम्झौता र समझदारी पत्रमा हस्ताक्षर हुने कार्यक्रम छ।

परराष्ट्र मन्त्रालयका अनुसार कतारसँग विभिन्न ६ एमओयुमा हस्ताक्षर हुनेछन्। नेपाल र कतारको सरकारी समाचार एजेन्सी, महान्याधिवक्ताको कार्यालय र इन्स्टिच्युट अफ फरेन अफेयर्ससँग सम्बन्धित विषयमा तालिम र सहयोग आदान प्रदान सम्बन्धी हस्ताक्षर हुने कार्यक्रम रहेको छ। यसैगरी शिक्षा र संस्कृति आदान प्रदानसँग सम्बन्धित विषयमा पनि हस्ताक्षर गर्ने कार्यक्रम पनि रहेको छ।

प्रधानमन्त्रीसँगको भेटपछि प्रधानमन्त्री प्रचण्डले राजा थानीका लागि होटल द्वारिकामा दिवा भोजको आयोजना गरेका छन्। उनको आजै स्वदेश फर्किने कार्यक्रम रहेको छ।

प्रकाशित मिति: : 2024-04-24 11:23:00

प्रतिकृया दिनुहोस्