भारतमा आम निर्वाचन सुरु, सत्तामै रहलान् मोदी? 

तस्बिर: एपी
तस्बिर: एपी

छिमेकी भारतमा आज (शुक्रबार)देखि आम निर्वाचन सुरु भएको छ। बिहान ७ बजेदेखि मतदानमा सुरु भएकाे छ। पहिलो चरणमा १०२ सिटमा मतदान हुनेछ। 

भारतका झन्डै एक अर्ब मतदाताहरूले देशभरिबाट ५४३ जना सांदसहरू छान्नेछन्। र यिनै सांसदहरूले नै बहुमत पुग्ने व्यक्ति वा दल मिलेर प्रधानमन्त्री चुन्नेछन्। 

यो संसदीय निर्वाचनमा विश्वकै सबैभन्दा ठुलो प्रजातान्त्रिक अभ्यासका रुपमा लिइन्छ। 

भारतीय ‘लोकसभा’मा ५४३ जना सांसद चुनिएर आउँछन्। सरकार बनाउनका लागि लगभग २७२ जना सांसदको मतैक्य हुनुपर्छ। र, चुनावी प्रक्षेपणहरूले यसपालि पनि भाजपाले सजिलै यो बहुमत पाउने र मोदी नै प्रधानमन्त्री बन्ने संकेतहरू देखाइरहेका छन्। 

अप्रिल १९बाट सुरु हुने यो चुनाव लगभग ढेड महिना लामो हुनेछ। करिब ९७ करोडभन्दा बढी मतदाताले भाग लिँदै गरेको यो निर्वाचनका लागि लाखौं विद्युतीय उपकरणहरू प्रयोग हुनेछ।

भारतीय ‘लोकतन्त्र’को एउटा सौन्दर्य के छ भने मतदाताहरूले ‘कसैलाई मत दिन्नँ’ भन्न पनि पाउँछन् र भोटिङ मेसिनमा त्यो अभिव्यक्ति दर्ज गर्न पनि पाउँछन्। ‘मत दिन्नँ’ भन्ने विकल्प सहितका विद्युतीय मतदान मेसिनहरू तयार गरिएका छन्। 

सन् २०१४ देखि निरन्तर सत्तामा रहेका भारतीय जनता पार्टीका नरेन्द्र मोदी यसपालि पनि प्रधानमन्त्री हुने दौडमा छन्। सन् २०१९को निर्वाचनमा बिजेपीसहितको गठबन्धन एनडिएले बहुमत ल्याएको थियो। त्यसमा ३०३ सिट बिजेपी एक्लैको थियो। 

यसपालि मोदीलाई चुनौती दिन कंग्रेससहितका दुई दर्जन दलहरू मिलेर ‘इन्डिया’ गठबन्धन बनाएका छन्। स्वतन्त्रतापछिका करिब करिब ६ दशक भारतीय सत्ता राजनीतिमा एकलौटी गरिरहेको भारतीय राष्ट्रिय कंग्रेस सन् २०१४देखि ओरालो लागेको हो।

त्यसपछि सत्ता राजनीतिमा उदाएको बिजेपीले अहिले भारतीय ‘लोकतन्त्र मास्न’ थालेको भन्दै विश्वव्यापी चिन्ता व्यक्त भएका छन्।

तथापि बिजेपी र उसका प्रधानमन्त्री नरेन्द्र मोदी उत्तिकै लोकप्रिय र चर्चित छ। अघिल्लोपटक ३०३ सिट जितेको बिजेपीले यसपालि ‘४ सय पार’को नारा लगाइरहेको छ। 

आगामी जुन ४ मा यो निर्वाचनको मत परिणाम घोषणा हुनेछ। दशौं लाख भोटिङ मेसिनबाट अर्बौ मतदाताले छानेका सांसदहरूले त्यसपछि भारतमा नयाँ सरकार बनाउनेछन्।

 

प्रकाशित मिति: : 2024-04-19 09:50:00

प्रतिकृया दिनुहोस्