नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणकाे अनुसन्धान सरकारबाटै राेकिएकाे आराेप लगाएकाे छ।
प्रतिनिधिसभाको मंगलबारको बैठकको आकस्मिक समयमा बोल्दै कांग्रेसका सांसद रामकृष्ण यादवले सहकारी ठगीमा मुछिएका रवि लामिछाने गृहमन्त्री बनेपछि छानबिन राेकिएकाे बताए।
‘जब सहकारीको पैसा अपचलनमा माननीय रवि लामिछानेको नाम जोडिएर आयो, तब तत्कालीन गृहमन्त्री नारायणकाजी श्रेष्ठले संसदमै आएर अनुसन्धान गर्ने आश्वासन दिनुभएकाे थियाे। प्रहरीले पनि अनुसन्धान भइरहेकाे बताएकाे थियाे। गृहमन्त्री र प्रहरीले अनुसन्धान हुँदैछ भनेपछि संसदीय छानबिन समिति आवश्यक थिएन’, उनले भने, ‘तर जब प्रश्न उठाउने ठाउँबाट रवि लामिछाने गृहमन्त्री बन्नुभएकाे छ, छानबिन प्रक्रिया राेकिएकाे छ। प्रहरी र प्रधानमन्त्रीले गृहमन्त्रीले गल्ती नगरेकाे भन्नुहुन्छ। यसले त अनुसन्धान प्रभावित भयाे। सरकारबाटै अनुसन्धान राेकिएकाले विश्वासकाे संकट उत्पन्न भयाे।’
गृहमन्त्री लामिछानेका नाम सहकारी ठगीमा जोडिएकाले निष्पक्ष छानबिनका लागि संसदीय समिति बनाउनुपर्ने र सो समितिलाई सहकारीको रकम ठगीका सम्बन्धमा विभिन्न विषय अनुसन्धान गरी सत्यतथ्य बाहिर ल्याउने अख्तियारी दिनुपर्ने यादवले बताए।
उनले लामिछाने सञ्चारकर्मीका रुपमा आवद्ध हुँदाका बखत गोर्खा मिडिया प्रालिमा हुँदा सहकारीबाट रु ८० करोड ऋण लिएको र नतिरिएको विषयमा नैतिकताका आधारमा गृहमन्त्रीले पदबाट राजीनामा दिनुपर्ने माग गरे।
सांसद यादवले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डिपी अर्याल पनि सहकारी विवादमा मुछिएकाले छानबिन हुनुपर्ने माग गरे।