म्याग्दीमा असिनापानीले हिउँदे बालीमा क्षति

फाइल तस्बिर
फाइल तस्बिर

म्याग्दीमा आज साँझ परेको भीषण असिना पानीले हिउँदे बालीलाई क्षति पुर्‍याएको छ। लामो खडेरीपछि परेको असिना पानीले जिल्लाको रघुगङ्गा गाउँपालिका र बेनीनगरपालिका क्षेत्रका हिउँदे खेतीबालीमा क्षति पुर्‍याएको हो।

रघुगङ्गामा दिउँसो करिब २ बजेदेखि सुरु भएको असिना करिब तीन घण्टासम्म परेको थियो भने बेनी नगरपालिका क्षेत्रमा साँझ ५ बजेपछि असिना परेको थियो। असिनाले खेतवारीमा भित्र्याउने अवस्थामा पुगेको गहुँ, जौ, केराउलगायतका खाद्यबाली सबै नष्ट गरेको छ। त्यसैगरि खेतमा भर्खर उम्रिएका मकै बालीसमेत असिनाले पूर्ण रूपमा क्षतविक्षत बनाएको कृषकले बताएका छन्।

असिनाले सुन्तला, कागतीलगायतका फलफूलमा लागेको फूल झारेको छ। 

रघुगङ्गा गाउँपालिकाको पिप्ले, भगवती, कलेजाबाङ, मौवाफाँट, बेग, दग्नाम, झिँ, पाखापानी, बेनीनगरपालिकाको पात्लेखेत, घतान, पुलौचार, अर्थुङ्गे, बगरफाँट, बेनीबजार लगायतका स्थानमा भारी असिना पानी भएको थियो। 

असिनाले गौ, जौ, तोरी लगायतका खाद्यवालीसँगै तरकारी खेतीमा ठुलो क्षति पुर्‍याएको बेनी नगरपालिका–९ तोरीपानीका कृषक भद्रबहादुर बानियाँले जानकारी दिए। 'हिउँदभर सिँचाइ गर्न पानी आएन, अहिले एकैपटक असिना पानी खस्यो, भित्र्याउने तयारी गरेको हिउँदेबाली सबै पूर्ण रूपमा नष्ट गरेको छ', कृषक बानियाँले भने। 

असिना पानीले हिउँदे बालीमा क्षति पुर्‍याएपछि स्थानीय तह र कृषि ज्ञान केन्द्रले क्षतिको विवरण सङ्कलन गर्ने काम सुरु गरेको जनाएका छन्। असिना पानीले पुर्‍याएको क्षतिको वडास्तरबाट विवरण सङ्कलन गर्न थालिएको रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले बताए। 

प्रकाशित मिति: : 2024-03-25 21:34:00

प्रतिकृया दिनुहोस्