उपराष्ट्रपति यादव र सार्क महासचिव सरवरबिच शिष्टाचार भेटघाट

उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) का नवनियुक्त महासचिव मोहम्मद गुलाम सरवरले आज लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेटघाट गरेका छन्। 

भेटघाटका क्रममा उपराष्ट्रपति यादव र महासचिव सरवरले बधाई तथा शुभकामना आदानप्रदानपछि सार्क सदस्य राष्ट्रहरुको आपसी सहयोग र समझदारीबाट सङ्गठनले गतिशीलता प्राप्त गर्ने विश्वास व्यक्त गरेको उपराष्ट्रपतिको कार्यालयले जनाएको छ।   

उपराष्ट्रपति यादवले नेपाल सार्क वडापत्रका अन्तरनिहित सिद्धान्त र लक्ष्यप्रति सदैव प्रतिबद्ध रहँदै आएको बताउँदै दक्षिण एसियाली क्षेत्रको आर्थिक वृद्धि, सामाजिक प्रगति एवं सांस्कृतिक विकासलाई तीव्रता दिन सार्क प्रभावकारी माध्यम बन्न सक्ने बताए। 'दक्षिण एसियाली क्षेत्रका जनताको आशा यस क्षेत्रीय सङ्गठनको प्रभावकारितामा रहेको छ', उनले भने, 'तसर्थ, सदस्य राष्ट्रहरुले यस क्षेत्रीय सङ्गठनलाई गतिशील र परिणाममुखी बनाउन प्रयत्न गर्नु पर्दछ।'

उपराष्ट्रपति यादवले १९औँ सार्क शिखर सम्मेलन आयोजना गर्नमा भएको ढिलाइ र अन्य महत्त्वपूर्ण बैठकसमेत हुन नसकेको अवस्थाले सार्कको कार्यमा असर परेकोमा चिन्ता व्यक्त गरे। उनले सार्क सदस्य राष्ट्रहरुले अवरुद्ध शिखर सम्मेलन आयोजना गर्न छिट्टै सहमति जुटाउने विश्वास पनि व्यक्त गरे। 'सार्कको संस्थापक सदस्य तथा वर्तमान अध्यक्षको हैसियतमा नेपाल सदस्य राष्ट्रहरूबिच एकता र ऐक्यबद्धताको भावनामा सार्क प्रक्रियालाई अगाडि बढाउन पूर्ण रुपमा प्रतिबद्ध छ', उनले भने, 'सदस्य राष्ट्रहरुले सहयोग र समझदारीको माध्यमबाट सार्कलाई गति दिनेमा म आशावादी छु।'

उपराष्ट्रपति यादवले सार्क प्रक्रियालाई अगाडि बढाउने सम्बन्धमा महासचिवको विचार र योजनाप्रति धन्यवाद दिँदै महासचिवले आफ्नो सक्षम नेतृत्वबाट सार्क प्रक्रियालाई थप सक्रिय बनाउन र यस क्षेत्रले भोगिरहेका चुनौतीको सामना गर्न महत्त्वपूर्ण भूमिका खेल्न सक्ने विश्वास पनि व्यक्त गरे। 

भेटघाटमा सार्कका नवनियुक्त महासचिव सरवरले सदस्य राष्ट्रहरुको संयुक्त पहलमै सार्क अगाडि बढ्ने बताए। 'म सबै सदस्य राष्ट्रको भ्रमण गरी सार्कलाई अगाडि बढाउन सक्दो प्रयत्न गर्नेछु', उनले भने, 'सार्कलाई अगाडि बढाउन नेपाल र नेपाली जनताको प्रतिबद्धताप्रति म आभार प्रकट गर्दछु।'

प्रकाशित मिति: : 2023-12-07 20:59:00

प्रतिकृया दिनुहोस्