पाकिस्तानमा प्रहरीद्वारा १४ आतङ्कवादी पक्राउ

पाकिस्तानको पूर्वी पञ्जाब प्रान्तमा प्रहरीले गरेको छुट्टाछुट्टै कारबाहीका क्रममा उच्च प्रोफाइलसहित १४ आतङ्ककारीलाई पक्राउ गरेको प्रहरीको आतङ्कवाद विरोधी विभाग (सिटिडी) ले जनाएको छ।

आतङ्ककारीहरू उपस्थित रहेको जासुसी सूचनाका आधारमा प्रान्तका आठ सहरमा गरिएको कारबाहीका क्रममा उनीहरूलाई पक्राउ गरिएको सिटिडीले शनिबार एक विज्ञप्तिमा जनाएको छ। 

विभागले मुलुकभमा पाँच सय ८८ कारबाही सुरु गरेको र यस क्रममा २५ हजार मानिससँग सोधपुछ गरेको विज्ञप्तिमा उल्लेख छ।

पक्राउ परेका आतङ्ककारीमा प्रतिबन्धित सङ्गठन तहरिक–ए–तालिबान पाकिस्तान (टिटिपी) का कमान्डर पनि रहेका छन्। उनलाई अनुसन्धानका लागि अज्ञात स्थानमा लगिएको छ। 

प्रहरीले पक्राउ परेका आतङ्ककारीबाट विस्फोटक सामग्री, हतियार, गोलाबारुद र हाते ग्रिनेड बरामद गरेको छ। सिटिडीका अनुसार टिटिपीका उच्च प्रोफाइल लक्ष्यहरूले प्रान्तीय राजधानी लाहोरमा संवेदनशील प्रतिष्ठानहरूमा आक्रमण गर्ने योजना बनाइरहेका थिए।

प्रकाशित मिति: : 2023-12-04 06:54:00

प्रतिकृया दिनुहोस्