सोती घटनाः पीडितको पक्षकातर्फबाट नौ जना वकिलले बहस गरे, कहिले आउला फैसला?

रुकुम पश्चिमको सोतीमा ६ जनाको निर्ममतापुर्वक हत्या गरिएको मुद्दामा आइतबारदेखि सुरू भएको सुनुवाइमा पीडितका पक्षबाट ९ जना वकिलले बहस गरेका छन्। 

रुकुम जिल्ला अदालत (रुकुम पश्चिम)का न्यायाधीश डा. खड्कबहादुर केसीको इजलासमा अन्तिम फैसलाका लागि भइरहेको सुनुवाइमा ९ जना वकिलले बहस गरेका हुन्। 

दुई जना सरकारी वकिल र ७ जना वरिष्ठ अधिवक्ताले बहस गरेको जिल्ला अदालतका सूचना अधिकारी गोविन्दप्रसाद कोइरालाले बताए। उनका अनुसार सरकारी वकील चन्द्रबहादुर सिंजाली र सहायक सरकारी वकिल राजेन्द्र रेग्मीले बहस गरेका छन् भने निजी वकिलमध्ये वरिष्ठ अधिवक्ता हरिप्रसाद सुवेदी, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी समेत ७ जनाले बहस गरे।

‘यस मुद्दामा २४ जना वकिलले बहस गर्ने भएका छन्। प्रतिवादीका वकिलहरूको बहस सुरू भएको छैन,’ कोइरालले भने, ‘आजसम्मको सूचीमा २४ जना वकिलहरूको नाम छ, बाँकी भोलिदेखि थपिँदै जाने पनि हुन सक्छ।’

२४ जनामध्ये वादी पक्षका १७ जना वकिल छन्। वादीतर्फका बहस गर्न बाँकी ८ जनाले सोमबार बहस गर्ने छन्। प्रतिवादीतर्फ बहस गर्न सात जना वकिल रहेको अधिकारीले बताए। बहस गर्ने वकिलहरूको संख्या थपिन सक्ने भएकाले अन्तिम फैसला आउन समय लाग्ने देखिन्छ।

साढे तीन वर्षअघि २०७८ जेठ १० गते अन्तरजातीय विवाहको विषय बनाएर जाजरकोटका नवराज विकसहित ६ जनाको हत्या भएको थियो। उक्त दिन भेरी नगरपालिकास्थित रानागाउँका २१ वर्षीय नवराज आफ्ना साथीहरूसहित रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोती गाउँकी मल्ल थरकी प्रेमिकासँग विवाहको कुरा गर्न पुगेका थिए।

दलितले ठकुरीकी छोरीसँग विवाह गर्न लागेको भन्दै युवतीका परिवार र सोतीका स्थानीयले नवराजसहित उनका साथीहरूलाई लेखेटेर हत्या गरेका थिए। घटनामा १२ जना घाइते भएका थिए। मृतकहरूको शव भेरी नदीमा भेटिएको थियो।

घटनाको केही दिनपछि माओवादी केन्द्रका तत्कालीन सांसद देवेन्द्र पौडेलको संयोजकत्वमा बनेको घटना छानबिन समितिले उक्त घटना नियोजित रूपमा भएको निष्कर्षसहित प्रतिवेदन बुझाएको थियो। 

घटनाको अनुसन्धानका क्रममा सोती गाउँका ३४ जनालाई प्रतिवादी बनाएर प्रहरीले रुकुम पश्चिम जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो। प्रतिवादीहरूविरूद्ध कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र जातीय छुवाछुतको कसुरमा सजाय मागदाबी गरिएको छ।

यो घटनाका अभियुक्तमध्ये २३ जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको थियो। २ जना बालकसहित ११ जनालाई तारेखमा छोडिएको थियो।

प्रकाशित मिति: : 2023-12-03 17:41:00

प्रतिकृया दिनुहोस्